Edukhabar
शुक्रबार, २८ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयको 'मिलेमतो'मा नेपालमा विदेशी कार्यक्रम

मापदण्ड पुरा नभएका विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्न अनुमति र हरेक वर्ष शिक्षा मन्त्रालयले नविकरण गरेको देख्दा आफु अचम्ममा परेको कार्यदलका संयोजक अर्याल बताउँछन् ।

सोमबार, ०३ मंसिर २०८१

काठमाडौं - शिक्षा मन्त्रालयको 'मिलेमतो'मा मापदण्ड नै पुरा नभएका २६ वटा कलेजले विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।  विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा  सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ मा विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्व वरियतामा एक हजार भित्र र गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) हुनुपर्छ । तर, नेपालमा उच्च शिक्षा अध्ययन गराउने ५९ वटा कलेज मध्ये २६ वटाले क्यूएए र विश्व वरियताको एक हजार भित्र नभएको विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गरेको फेला परेको छ । 

नेपालमा पढाई हुने विदेशी ३६ वटा विश्वविद्यालय मध्ये १४ वटा विश्वविद्यालय विश्व वरियताको एक हजार भित्र नभएको र क्यूएए पनि नभएको पाइएको हो । 

‘विदेशका केही विश्वविद्यालयलाई फोन गर्दा त नेपालमा पनि हाम्रो कार्यक्रम चलेको छ र ? भनेर उल्टै हामीलाई पो सोधे ।’

बागबजारमा सञ्चालनमा रहेको एमआइटी कलेजले अमेरिकाको इण्टरनेशनल अमेरिकन युनिभर्सिटीको चार बर्षे बीबीए, दुई वर्षे एमबीबए अफ इण्फरटेक्नोली कार्यक्रम अध्ययन गराउँदै आएको छ । यो कलेजले अनुमति लिएको विश्वविद्यालय क्यूएए र एक हजार वरियतामा छैन । यसरी मापदण्ड पुरा नहुनेमा मलेसियाको लिङकोन विश्वविद्यालय अफ कलेजको कार्यक्रम नेपालमा ११ वटाले सञ्चालन गरिरहेका छन् । त्यस्तै बेलायतको युनिभर्सिटी अफ सुण्डरल्याण्डको पाँच वटा कलेज छन् । मलेसियाको लिङकोनको बीबीए, एमबीए, बीआइटी, बीसीएस, बीएचएम, एमसीएस, एमबीए इन ह्युमन रिसोर्स म्यानेजमेण्ट, एमबीबए इन हस्पिटालिटी जस्ता कार्यक्रम यी कलेजहरुमा सञ्चालन भइरहेको छ तर, विश्वविद्यालय भने न वरियता भित्र परेको छ न त क्यूएए नै छ । यो विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्ने चाबहिलको टेक्सास कलेज अफ म्यानेजमेण्ट एण्ड आइटी,  पोखरा लिङकोन इण्टरनेशनल कलेज पोखरा, फोनिस्क कलेज अफ म्यानेजमेण्ट मैतीदेवि काठमाडौं, नेपाल विजनेश कलेज विराटनगर,  नेशनल कलेज अफ म्यानेजमेण्ट एण्ड टेक्निकल साइन्स सामाखुसी काठमाडौं, लिङकोन इण्टरनेशल कलेज अफ म्यानेजमेण्ट एण्ड आइटी नेटवर्क पुतलीसडक काठमाडौं, केएफए बिजनेश स्कुल एण्ड आइटी मध्य बानेश्वर काठमाडौं छन् । 

त्यस्तै ग्रिन पिस लिङकोन कलेज इटहरी सुनसरी, सेण्टर फर लिडरसिप एण्ड इण्टरप्रेनरसिप लगनखेल ललितपुर, बाल्मिकी लिङकोन कलेज विर्तामोड झापामा मलेसियाको लिङकोन युनिभर्सिटी कलेजको कार्यक्रम सञ्चालन भइरहेको छ । मलेसियाकै विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्ने काठमाडौं मण्डिखाटारको आइ. ई.सी कलेज अफ आर्ट एण्ड फेसनले पनि छन् ।   

त्यस्तै पूर्व सांसद गिता राणाले काठमाडौं ज्ञानेश्वरमा सञ्चालन गरेको मिड भ्याली इण्टरनेशनल कलेजले मलेसियाको हेल्प विश्वविद्यालयको कार्यक्रम सञ्चालन गरेको छ । उसले ब्याचलर अफ बिजनेश हस्पिटालिटी म्यानेजमेण्ट, फाइनान्स, मार्केटिङ, आइटी कार्यक्रम सञ्चालन गरेको छ । तर, उक्त विश्वविद्यालय विश्व वरियताको एक हजार भित्र पनि छैन भने क्यूएए पनि छैन । ललितपुरको कुमारी पाटीमा सञ्चालनमा रहेको भिरिञ्ची कलेज इण्टरनेशलले मलेसियाकै एसिया युनिभर्सिटीको कार्यक्रम सञ्चालन गरेको छ । यसको पनि विश्व वरियता र क्यूएए छैन ।

त्यस्तै स्वीटजरल्याण्डको बीआइएचएमबाट अध्ययन अनुमति लिएको ग्लोबल एकाडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन मण्टिखाटार, भारतको इन्दिरा गान्धि नेशनल ओपन विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्ने काठमाडौं सिनामंगलको इण्टरनेशनल सेण्टर फर एकाडेमिक्स पनि मापदण्ड पुरा गरेको छैन । काठमाडौं कमलपोखरीको हिमालयन कलेज अफ म्यानेजमेण्टको विश्वविद्यालय पनि विश्व वरियतामा छैन । 

विश्व वरियताको विश्वविद्यालय र क्यूएए नभएको कार्यक्रम सञ्चालन गर्नेमा सिल्भर माउण्टेन स्कूल अफ होटल म्यानेजमेण्ट लैनचौर काठमाडौं, कस्यप इन्ष्टिच्यूट अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी जनकपुर, फोब्स कलेज चितवन, एसियन इन्ष्टिच्यूट अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्ट खुमलटार ललितपुर, काठमाडौं फरेष्ट्री कलेज काटेश्वर काठमाडौ छन् । युनिभर्सिटी अफ सुण्टरल्याण्ड बेलायतको कार्यक्रम सञ्चालन गर्ने काठमाडौं तीनकुने, पोखरा, विराटनगर, बुटबल र चितवनमा इण्टरनेशल स्कूल अफ म्यानेजमेण्ट एण्ड टेक्नोलोजी (आइएसएमटी) को नामले कलेज सञ्चालन गरेको छ । यी कलेजहरुले आइटी, बीबीए, बीएचएम, एमबीए पढाउने गरेको छ । 

त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका डीन प्रा.डा. बिनिल अर्यालको संयोजकत्वमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने एक तिहाई कलेज मापदण्ड विपरीत सञ्चालनमा रहेको ठहर गरेको छ । मापदण्ड पुरा नभएका विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्न अनुमति र हरेक वर्ष मन्त्रालयले नविकरण गरेको देख्दा आफु अचम्ममा परेको अर्यालले बताए । 

‘निर्देशिका बनाउने, पालना नभएको देखियो । हामीलाई अचम्म नै लाग्यो’ संयोजक अर्यालले भने ‘मन्त्रालयले जथाभावी अनुमति दिएर नियमन गरेको पायौँ ।’ 

नेपालमा सञ्चालन भएका कलेजको विश्वविद्यालयमा सम्पर्क गर्दा कतिपयले अनविज्ञता देखाएको उनले बताए । 

‘विदेशका केही विश्वविद्यालयलाई फोन गर्दा त नेपालमा पनि हाम्रो कार्यक्रम चलेको छ र ? भनेर उल्टै हामीलाई पो सोधे’ उनले भने ।

मापदण्डमा नपरेका तर कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरु :

प्रतिक्रिया