Edukhabar
शनिबार, ०३ साउन २०८२
गतिविधि

प्रकृतीमा आधारित सिकाइका लागि शिक्षक तालिम तर्जुमा गर्न ध्यानाकर्षण

बुधबार, २७ चैत्र २०८१

काठमाडौं - प्रारम्भिक बाल्य अवस्था लक्षित नीति निर्माण गर्दा प्रकृतीमा आधारित सिकाइ पाठ्यक्रम र शिक्षक तालिमको तर्जुमा गर्न युवाहरुले राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका छन् । बालबालिकालाई वातावरणीय असर र यसको समाधानका बारेमा नीतिगत रुपमै गर्नु पर्ने कार्यहरुबारे छलफल गर्न बुधबार आयोजित कार्यक्रममा बालबालिकाका लागि नीति बनाउँदा प्रकृतीमा आधारित शिक्षण सिकाइ र जलवायु परिवर्तन सम्बन्धि शिक्षा पाठ्यक्रममा समावेश गरी प्रभावकारी कार्यान्वयन गर्न शिक्षकलाई तालिम दिन आग्रह गरिएको हो । यस विषयमा अभिभावकलाई समेत संवेदनशील बनाउने नीतिगत तर्जुमाका लागि पनि ध्यानाकर्षण गरिएको छ । 

दुई बर्ष अघि देखि विभिन्न जिल्लामा जलवायु परिवर्तनका मुद्दामा पैरवी गरिरहेका सञ्जालहरुको सहभागितामा गरिएको कार्यक्रमबाट छानिएका १३ देखि २७ बर्ष उमेर समूहका २४ जना युवाहरुले आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीलाई उक्त ध्यानाकर्षण लिखित रुपमै बुझाएका हुन् ।

यो सहित विभिन्न ९ बुँदामा गरिएको ध्यानाकर्षणमा जलवायु र प्रारम्भिक बालविकासका लागि बजेट पुनः संरचना गर्न र जलवायु परिवर्तनका प्रभावका प्रमाण संकलन गर्दै यसले गर्भावस्था देखि ८ बर्ष उमेर समूहका बालबालिकामा पार्ने प्रभावबारे अध्ययन अनुसन्धानमा प्राथमिकता दिन आग्रह गरिएको छ । यसैगरी साना बालबालिकाको रगतमा रहेको सिसा परीक्षण गर्न, नेपालका बालबालिका सिसाको सम्पर्कमा छन् छैनन् र छन् भने यसको असर र प्रभावका बारेमा अध्ययन एवं जनचेतना अभियान सञ्चालन गर्न पनि ध्यानाकर्षण गरिएको छ । यसैगरी प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित बालमैत्री जलवायु जोखिम मूल्याँकनलाई अनिवार्य बनाउन, जलवायु संवेदनशील बालमैत्री खुला स्थानहरु पहिचान, संरक्षण र विकास गर्न एवं जलवायुका असरबाट पर्ने प्रभाव तथा जोखिमका बारेमा अभिभावक शिक्षा र सहयोग कार्यक्रम निर्माण गर्न आयोगको ध्यानाकर्षण गरिएको छ ।  

राष्ट्रिय योजना आयोगसँगको संयुक्त आयोजनामा एशिया प्रशान्त क्षेत्रीय बालविकास सञ्जाल, जनस्वास्थ्यका क्षेत्रका कार्यरत संस्था भाईटल स्ट्राटेजिक र यूनिसेफले गरेको कार्यक्रममा बालबालिकाका क्षेत्रमा कृयाशिल विभिन्न संस्थाका प्रतिनिधि, विज्ञ सहित सरोकारवालाहरुको  उपस्थिती थियो । 

प्रतिक्रिया