ललितपुर - बालबालिकाको पठन संस्कृती निर्माणमा शिक्षकको भूमिका नै महत्वपूर्ण रहेको भन्दै सरोकारवालाहरुले शिक्षकलाई जिम्मेवार हुन आग्रह गरेका छन् । दुई दिने प्रथम पठन सम्मेलनको पहिलो दिन शनिबार आयोजित 'प्यानल' छलफलका सहभागीहरुले, बालबालिकाको सिकाइका लागि जस्तै पठन संस्कृतीका लागि पनि शिक्षक नै महत्वपूर्ण भएको बताए ।
छलफलमा सहभागी शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थीमा पठन संस्कृती निर्माण गर्ने सम्पूर्ण अधिकार विद्यालयमा निहीत रहेको बताउँदै यसका लागि शिक्षकको पेशागत तालिम, शिक्षक विकासको प्रकृयामा पठन संस्कृतीको विषयलाई प्रवेश गराउन आवश्यक कार्य गर्ने प्रतिवद्धता जनाए । पठन संस्कृती विकास गर्न कतै भौतिक प्रवन्ध भएन भने त्यो गर्न सक्ने शिक्षक मात्रै भएको उनले बताए ।
'सरकारका तर्फबाट गर्ने भनेको यो विषयलाई शिक्षक तालिममा समावेश गर्ने कुरा हो, पठन संस्कृती विकासमा नीति तर्जुमा गर्ने विषय नीति निर्माण गर्दा ध्यान दिन प्रतिवद्धता जनाउँछु' शिक्षक तर्फ लक्षित गर्दै उनले भने 'पाठ्यक्रम, पाठ्यपुस्तकका कानून, योजना, शिक्षा ऐन नियमावलीले यो सबै काम गर्ने अधिकार विद्यालयलाई दिएको छ त्यो काम कसले गर्नु पर्छ भन्ने कुरा मैले भनिन ।'
पठनका नाममा अनावश्यक र बोझिला एवं राज्यका निकायबाट स्विकृत नभएका सामग्रीको प्रवर्द्धन गर्न भने नसकिने उनको भनाई छ । सिकाइको विषय सीमा विहीन हुन्छ भन्ने भ्रम नफैलाउन आग्रह गर्दै उनले सिकाइका अभियानहरुले विद्यार्थीको सिकाइलाई पठन संस्कृती र सिकाइ बानीलाई अनुगमनको ढाँचाभन्दा बाहिर परिकल्पना नगर्न पनि सचेत गराए ।
'सिकाइलाई प्रोत्साहन गर्ने हो, तर त्यस्तो सिकाइले नतिजामा सुधार हुनु पर्यो । अन्तिममा विद्यार्थीको सिकाइ नतिजामा प्रतिविम्बित हुनै पर्छ । विद्यार्थीको जुनसुकै ज्ञानको श्रोत विकासका लागि विद्यालयमा हुने पठन एवं सिकाइलाई प्रणालीगत रुपमा प्रभावकारी अनुगमन गर्नै पर्छ' उनले भने 'पठनको विषय सीमा विहीन विषय हैन । विद्यार्थीले कक्षा १२ उत्तीर्ण गर्दा उसले जान्न पर्ने विषय जानेकै हुनु पर्छ ।'
यसैगरी सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था प्रधानाध्यापक संघ नेपालका अध्यक्ष एवं शान्ति शिक्षा मन्दिर, काठमाडौंका प्रधानाध्यापक सुदाम गौतमले शिक्षकले पढ्न थाले पछि विद्यार्थीले सिक्न थाल्ने बताउँदै यही बिन्दुबाट पठन संस्कृतीको विकास हुने बताए । पठन संस्कृतीको अन्तर्यमा पढ्ने विद्यालय, सिक्ने विद्यार्थी र बढ्ने नेपाल रहेको बताउँदै उनले पढ्ने विद्यालय बनाउन नसकेको स्विकार पनि गरे । पढ्ने बुझ्ने हैन पास गर्ने विद्यार्थी बनाउने कुरालाई महत्व दिने परिपाठि नबदल्दा सम्म पठन संस्कृती विकास नहुने उनको भनाई छ ।
'विद्यार्थीले पाठ्यपुस्तक भन्दा बाहिर गएर पढ्ने बानी नै विकास गराउन सकेनौं किन भने नतिजाको कुरा गर्छौ' उनले भने 'अबको च्यालेञ्ज पढ्ने शिक्षक बनाउनु हो, प्रधानाध्यापकले नेतृत्व गर्दा विद्यालय उज्यालो हुन्छ । सबै मिलेर पठन संस्कृतीलाई अभियानका रुपमा अघि बढाउँ ।'
आफ्नो संगठनको नेटवर्कमा १७ हजार जति प्रधानाध्यापक सहभागी भएको बताउँदै उनले पठन संस्कारलाई राष्ट्रिय अभियानका रुपमा लैजान संगठनमा छलफल जारी रहेको पनि बताए ।
दलगत आवद्धता नभएका, नाफामूलक अवधारणा नभएको केवल पेशागत कुरा मात्रै गर्ने समूह भएकोले 'एउटा हेडसरले अर्को हेडसरलाई सिकाउने शैली अपनाएका छौं' उनले भने ।
यूलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछानेले पठन संस्कृती विकासका लागि हरेक विद्यालयमा पुस्तकालय बनाउन जरुरी रहेको बताए । पुस्तकालय बनाउन आवश्यक श्रोत नभएको बहाना बनाउने शिक्षकहरु तर्फ संकेत गर्दै उनले ईच्छा हुने हो भने श्रोत जुटाउन कठिन नहुने दावि गरे । मुख्य कुरा त्यसका लागि कति मेहनत गरियो भन्ने बताउँदै उनले शिक्षक र विद्यालयले चाहे कसैले रोक्न नसक्ने बताए ।
'हामीले चाहे हरेक कक्षा कोठामा सिसि टिभि राख्न सक्छौ एउटा लाईब्रेरीका लागि किताब किन सक्दैनौं ?' प्रश्न गर्दै उनले भने 'तर ईच्छा हुनु पर्यो । कसैले किताब किनेर म लाईब्रेरी बनाउँछु भन्दा पालिका लगायत सबै निकायहरुले सहयोग गर्नु हुन्छ ।'
विद्यालयहरुमा पुस्तकालय निर्माणमा सघाउँदै आएको संस्था रुम टु रिडको साक्षरता कार्यक्रमका निर्देशक नेत्र दाहालले पठन संस्कृती विकासका लागि पुस्तकालय महत्वपूर्ण भएको र यसका लागि शिक्षक र विद्यालयले सोच बनाउँदा कसैले रोक्न नसक्ने बताए ।
'विद्यालयमा पुस्तकालय बनाउँछु भन्दा, राज्यले कानूनमा कतै पनि रोकेको छैन । किताब किनेर पुस्तकालय निर्माण गर्न कहाँनेर कसले रोकेको छ ?' प्रश्न गर्दै उनले भने 'सोच बनाउने हो भने कसैले पनि रोक्ने अवस्था छैन ।'
उक्त 'प्यानल' छलफलको सहजीकरण लेखक आन्विका गिरीले गरेकी थिईन् ।
यस अघि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शिक्षा मन्त्री रघुजी पन्तले पनि पढ्ने र पढाउने काम भनेको मान्छेलाई रुपान्तरण गर्ने काम भएकोले यसमा शिक्षककै भूमिका महत्वपूर्ण हुने बताए ।
'यस विषयमा शिक्षकहरुको भूमिका कमजोर छ भन्ने नठान्नुस् । शिक्षकले नजानिदों ढंगले बदलिरहेका हुन्छन् । कुनै पनि बालबालिकाको रुपान्तरणको भूमिकामा हामीलाई थाह हुँदैन तर उनीहरुको निर्णयक भूमिका हुन्छ' उनले भने 'शिक्षकले सम्पत्ती कमाउँदैन तर शिक्षकले आफ्ना शिष्यहरुबाट जुन सम्मान पाउँदछ त्यो दुर्लभ कुरा हो । त्यो महत्वपूर्ण कुरा हो ।'
मन्त्री पन्त अघि बोलेका सम्मेलनका मुख्य वक्ता समाजशास्त्री प्रा.डा. चैतन्य मिश्रले व्यक्ति र समाजको रूपान्तरणमा पठन संस्कृतीको भूमिका बारे लामो प्रवचन दिएका थिए । पढाईलाई जीवनसँग कम र परीक्षासँग ज्यादा जोड्ने शैलीले पठन संस्कृती बढ्न नसकेको बताए ।
'पढ्ने भनेको कुरा आफ्नो जीवनसँग जोडेर पढ्नु पर्छ' उनले भने 'पढाई, जीवन र समाज बाट्दै बाट्दै जानु पर्छ ।'
राज्यले नै शिक्षालाई कम प्राथमिकतामा राख्दा पठन संस्कृती पनि ओझेलमा परेको उनको तर्क छ ।
'राज्यले राष्ट्रिय गौरवका योजनामा विजुली सडक जस्ता भौतिक कुरा मात्रै समावेश गर्छ तर शिक्षा किन राष्ट्रिय गौरवका योजना हुन सक्दैन ?' मन्त्री पन्तको ध्यानाकर्षण गराउँदै उनले भने 'नेपाल बनाउने मुख्य साधन शिक्षालाई राष्ट्रिय गौरवका योजनाबाट बाहिर राखेर देश कसरी बन्ला ?'
आफ्नो बोल्ने पालोमा पन्तले मिश्रको उक्त प्रश्नलाई वास्ता नगरी आफ्ना बाल्यकालका वैयक्तिक भोगाइको फेरहिस्त प्रस्तुत गरे ।
सम्मेलनको पहिलो दिन प्रा.डा. बालचन्द्र लुईंटेलले पढ्ने अभ्यासको ऐतिहासिक पृष्ठभूमि सहित यसले समाज र शिक्षामा पारेको प्रभाव एवं डिजिटल युगमा बदलिएको पढाइको स्वरूप बारेमा चर्चा गरेका थिए । किताबको पठनले मस्तिष्कमा पर्ने प्रभावहरूबारे वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाले चर्चा गरेका थिए । यस्तै प्रारम्भिक वर्षमा पठन विषयक सत्रलाई बालविकास विद् डा. मीनाक्षी दाहालले, साहित्य मार्फत् बालबालिकालाई पढ्न लगाव सृजना गर्ने र निरन्तर पढिरहने बनाउने उपाय सहितको प्रस्तुती शिक्षक रोजिना पौडेलले र ‘माइन्डफुल रिडिङ’ का बारेमा ध्यान र साधनामा सकृय छत्र कार्कीले सम्मेलनका सहभागीहरुलाई प्रस्तुती दिएका थिए ।
बालबालिकामा ग्याजेटको बढ्दो प्रयोगका कारण ह्रास भईरहेको पठन संस्कृती विस्तार एवं प्रवर्द्धनका लागि सम्मेलन आयोजना गरिएको आयोजक संस्था मध्ये एक सिकाइ फाउण्डेशनका सुदर्शन घिमिरेले बताए ।
सिकाइ र यूलेन्स फाउण्डेशनले सम्मेलन आयोजना गरेको हो । काठमाडौं विश्वविद्यालय, निजी विद्यालय सञ्चालकहरुको संस्था प्याव्सन, यूनेस्को काठमाडौं र सिकाइ समूहको समेत साझेदारीमा सम्मेलन भएको हो ।
सम्मेलनमा विभिन्न जिल्लाका सामुदायिक एवं निजी विद्यालयका शिक्षक, शिक्षा क्षेत्रमा संलग्न संस्थाका प्रतिनिधि, शिक्षा अनुसन्धाता एवं बालबालिका लक्षित पुस्तक प्रकाशकहरुको सहभागिता छ । सम्मेलनमा झण्डै दुई सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । सम्मेलनमा भाग लिन प्रति व्यक्ति पाँच हजार छ सय ५० रुपैंया शुल्क तोकिएको थियो ।
प्रतिक्रिया