Edukhabar
आइतबार, ०४ जेठ २०८२
गतिविधि

शिक्षासँगै सीप अभियान

स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट निर्माणमा रहेका यो बेलामा शिक्षालाई सीपसँग जोड्ने कार्यक्रमलाई नीति तथा कार्यक्रम र बजेटमै सम्बोधन गर्नुपर्छ भनेर पालिकाहरु समक्ष लिखित प्रस्ताव पेश

आइतबार, ०४ जेठ २०८२

भक्तपुर - शिक्षाले ज्ञानमात्र दियो, सिप दिएन, बेरोजगारमात्र बनायो, जागिरेमात्र बनायो, आत्मनिर्भर बनाएन ! 

नेपालको शिक्षा प्रणालीका बारेमा सुनिने यो चर्चा सिंहदरबार देखि चियाचौतारी र सडकदेखि सदनसम्म जारी छ ।

अहिलेको शिक्षाप्रति बढ्दो यो गुनासोलाई सम्बोधन गर्न भक्तपुरमा शिक्षासँगै सीप अभियान सुरु भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले भक्तपुरका चारवटै नगरपालिकामा यो अभियान सुरु गरेको हो ।

इकाई प्रमुख कमला ज्ञवालीले शिक्षालयहरु बेरोजगार उत्पादन केन्द्रमा बदलिएको परिचय र गुनासोलाई मेट्नका लागि शिक्षासँगै सीप अभियानको थालनी गरेको जानकारी दिइन् ।

‘शिक्षामा सीप अभियान भनेको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग, उत्पादनलाई बजारसँग र बजारलाई रोजगारीसँग जोड्ने अभियान हो ।’ उनले भनिन् । 

उक्त अभियान अन्तर्गत इकाईले भक्तपुरका चार स्थानीय तहहरु भक्तपुर, मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकासँग समन्वय गरी कार्य गरेको उनले बताइन् ।

kamala_gyawali

‘अहिले स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट निर्माणमा रहेका छन्, यो बेलामा शिक्षालाई सीपसँग जोड्ने कार्यक्रमलाई नीति तथा कार्यक्रम र बजेटमै सम्बोधन गर्नुपर्छ भनेर इकाईले पालिकाहरुमा लिखित प्रस्ताव गरेको छ’ उनले भनिन्, ‘यसमा पालिका प्रमुखहरु सकारात्मक हुनुहुन्छ ।’

भक्तपुर जिल्लाको समन्वय इकाई प्रमुख भएपछि ‘संस्कार र सीपमूलक शिक्षा : हामी सबैको इच्छा’ नारा तय गरी अघि बढेकी इकाई प्रमुख ज्ञवाली विद्यालय–विद्यालय पुगेर सीप, संस्कार योगाभ्यासको कुरा गर्छिन् । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई शिक्षासँगै सीप जोड्न उत्साहित गर्छिन् । यसैको फलस्वरुप भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयले यस वर्षदेखि शिक्षामा सीप अभियान अन्तर्गत कपाल काट्ने तालिम सञ्चालन गर्न लागेको छ । त्यसको आवश्यक तयारी विद्यालयले थालेको छ ।

इकाईले विद्यालयले ल्याएका अवधारणालाई पालिकाहरुसँग, संघीय मन्त्रालयसँग र प्रदेश सरकारसँग समन्वय गरी बजेटका लागि सहजीकरण गर्ने गरेको छ । 

‘एक विद्यालय : एक उद्यम कार्यक्रम’ प्रति उत्साहित गर्ने काम गरिरहेको बताउँदै उनले यस अन्तर्गत यो वर्ष महेन्द्रग्राम माविमा कपाल काट्ने तालिम सुरु हुन लागेको बताइन् ।

उनले भक्तपुरका विद्यालयहरुमा सजिलै लागू गर्न सकिने तालिमको रुपमा कपाल काट्ने तालिम उपयुक्त भएको बताइन् । 

‘भक्तपुरमा अहिले धेरै जग्गा जमिनको अभाव छ, कृषि खेती गर्नका लागि जग्गा छैन, यहाँ जनसंख्या बढ्दो छ । यो बेलामा स्कुलबाटै कपाल काट्ने सीप प्रदान गर्न सक्यौं भने, त्यो सीपले बच्चालाई आत्मनिर्भर बनाउँछ’ उनको भनाइ छ ।

सो अन्तर्गत आठ कक्षा पास गरेका कम्तिमा २० जना बच्चाहरुलाई तीन सय ९० घण्टाको सिटिइभिटीको तालिम कोर्समा आधारित तालिम दिने र विद्यालयमा एउटा ल्याब अर्थात् कपाल काट्ने सैलुन स्थापना गर्ने उनको भनाइ छ ।

‘यो तालिम दिएपछि त्यही स्कुलका विद्यार्थीले, त्यही स्कुलका विद्यार्थी कै कपाल काटेर पनि आम्दानी गर्न सक्छ । विद्यालयमा एकपटकको एकसय रुपैयाँमा कपाल काट्यौं भने, त्यो एकसय रुपैयाँमध्ये ५० विद्यालयले राख्ने र ५० विद्यार्थीलाई दिने हो भने आम्दानी गर्न थाल्छन् । त्यो सीप बाहिर पनि प्रयोग हुन्छ । यसले न्यूनतम लगानीमा अधिकतम आम्दानी गर्न सक्छ ।’ उनको भनाइ छ ।

त्यसका लागि कम्तिमा पनि ८ लाख रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको छ ।

यसले विद्यालयलाई रोजगार केन्द्र बनाउँदै विद्यार्थीमा श्रमप्रति सम्मान गर्ने भावनाको विकास हुन्छ । कम्तिमा पनि १० कक्षाको सर्टिफिकेटसँगै एउटा सीप पनि लिएर निस्कियो भने युवाहरु बेरोजगार हुनुपर्दैन, कामका लागि विदेश जानुपर्र्दैन उनले भनिन् । विद्यालयले कुनै निश्चित दिन तोकेर विद्यालयका विद्यार्थी, शिक्षकहरु र अभिभावक समेतले विद्यालयमै कपाल काट्ने प्रबन्ध गर्न सक्यौं भने मात्र पनि यसले सफलता पाउँछ । सेतो कापीमा कालो अक्षरले लेखेको भरमा जीवन चल्दैन, जीवनका लागि सीपको आवश्यकता छ । 

शिक्षाले संस्कार संगै सीप दिनुपर्ने बताउँदै उनले त्यो काम विद्यालय र घरले सिकाउनुपर्ने बताईन् । आयआर्जन गर्न सक्ने संस्कारको विकास स्कुल तहबाटै गर्नुपर्छ । स्थानीय सरकार, सबैभन्दा नजिकको सरकार, कार्यान्वयन गर्न सक्ने सरकार, बजेट बन्दोबस्त गर्न सक्ने सरकार, स्थानीय सरकार मार्फत नै एक विद्यालय एक उद्यम कार्यक्रम गर्नुपर्छ उनले भनिन् । 

भक्तपुरको सूर्यविनायकमा २९, चाँगुनारायण नगरपालिकामा ३५, भक्तपुर नगरपालिकामा ३६ र मध्यपुरथिमि नगरपालिकामा १८ सामुदायिक विद्यालय छन् ।

प्रतिक्रिया