काठमाडौं - सरकारले शिक्षा सचिव परिवर्तन गरेको छ । सोमबार राती अबेर सम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव चुडामणि पौडेल*लाई शिक्षा मन्त्रालय सरुवा गरेको हो । शिक्षा ऐन निर्माणको अन्तिम 'रस्साकस्सि' जारी रहेका बेला भएको शिक्षा सचिवको परिवर्तनलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।
अहिलेका सचिव, शिक्षाका 'क्याडर' डा. दिपक काफ्लेका ठाउँमा शिक्षाकै 'क्याडर' पौडेलको 'ईन्ट्रि' भएको छ । उनका अघिल्तिर दैनिक प्रशासन सञ्चालन मात्रै हैन ज्यादै पेचिलो ठाउँमा पुगेको शिक्षा ऐन निर्माणलाई टुङ्गोमा पुर्याउन पर्ने जिम्मेवारी पनि छ ।
शिक्षा सेवाबाटै निजामती प्रवेश गरेर सचिव भएका काफ्ले २०८१ बैशाख २१ गते शिक्षा सचिव भएका थिए । तत्कालिन सचिव सुरेश अधिकारीको अवकास भएको चार दिन पछि सरकारले उनलाई शिक्षा सचिव बनाएको थियो । उनी मन्त्रालयको नेतृत्वमा आएपछि मन्त्रालयको काम चुस्त हुने अपेक्षा गरिएको थियो । पछिल्लो समय मन्त्रालयको मुख्य काम भनेको शिक्षा ऐन निर्माण भए पनि विधेयक माथि हुने संसदीय समितिका छलफलमा काफ्लेको उपस्थिति प्रभावकारी नभएको सत्ताधारी दलकै सांसदहरुको बुझाई छ ।
गत चैतमा भएको नेपाल शिक्षक महासंघको सडक प्रदर्शनका कारण अनिश्चित बनेको कक्षा १२ को परीक्षा कर्मचारी खटाएर भए पनि गर्ने विवादीत निर्णय काफ्लेकै जोडबलमा भएको थियो । एक दिन पनि टिक्न नसक्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी ओली समेत काफ्लेको कार्यशैली प्रति असन्तुष्ट हुँदै आएको प्रधानमन्त्री कार्यालय श्रोत बताउँछ ।
'मन्त्रालयको प्रशासनिक नेतृत्वले मन्त्रालयका उच्च कर्मचारीहरुसँग समन्वय गर्दै मन्त्री र प्रदर्शनरत शिक्षक नेताहरुसँग सम्वाद गर्नु पर्नेमा उहाँ बालुवाटार ताकेर बस्नुहुन्थ्यो' उक्त श्रोतले 'भन्यो सरकारको उपस्थिती देखाउन पनि कक्षा १२ को परीक्षा जसरी पनि गर्नै पर्छ भन्ने प्रधानमन्त्री निकट व्यक्तिहरुको पछि लागेर पुरा हुन नसक्ने निर्णय गर्नु उहाँका लागि प्रत्युत्पादक भयो ।'
तत्कालिन शिक्षा मन्त्री विद्या भट्टराईको राजिनामामा पनि काफ्लेको भूमिका शन्देहपूर्ण रहेको मन्त्रालय उच्च श्रोतको दावी छ । आन्तरिक लविङ् एवं शिक्षक र मन्त्रीका बिचमा गराउनु पर्ने सम्वादका सवालमा काफ्लेले प्रभावकारी काम गर्न नसक्दा मन्त्रीको राजिनामाको वातावरण बनेको उक्त श्रोतको दावी छ ।
'प्रधानमन्त्रीसँग त मन्त्रीको खटपट थियो नै, त्यसमाथि सचिव पनि खाली बालुवाटार ताक्ने, प्रधानमन्त्रीले यस्तो बताउनु भएको छ, उस्तो बताउनु भएको छ भन्दै मन्त्रालयलाई नै प्रधानमन्त्री कार्यालयको शाखा जस्तो बनाउने उहाँको शैलीले अन्ततः उहाँलाई नै असफल बनायो' उक्त श्रोतले भन्यो 'मन्त्री भन्दा प्रधानमन्त्रीको निकट हुने उहाँको चाहनाले उहाँलाई शिक्षाका बिर्सन लायक सचिवका रुपमा स्थापित गरायो ।'
*मन्त्रीपरिषद् बैठकको निर्णयका बारेमा एक जना मन्त्रीले एडुखबरलाई दिएको जानकारी अनुसार यस अघि लेखिएको समाचारमा नाम गलत पर्न गएकाले सच्याईएको - सं.
प्रतिक्रिया