ललितपुर - अबैध रुपमा चलेको विदेशी पाठ्यक्रम इण्टरनेशनल ब्याकलरियट (आईबी) लाई बैध बनाउन ललितपुर महानगरपालिकाले सिफारिस दिएको छ । विद्यालय तहमा विदेशी कार्यक्रम सञ्चालनमा कानूनले रोक लगाए पनि नगर प्रमुख चिरीबाबु महर्जनलाई राजनीतिक प्रभावमा पारेर खुमलटारको प्रिमियर ईण्टरनेशनल स्कुल सञ्चालक सिफारिस गराउन सफल भएका हुन् । सत्तारुढ दलको उच्च तहका नेताहरुलाई समेत प्रभावमा पारेर बर्षौदेखि अबैध रुपमा चलेको विदेशी कार्यक्रम सञ्चालनको लागि मन्त्रालयमा सिफारिस गर्न उक्त स्कुल सफल भएको हो । महानगरले विद्यालयले माग गरेको अनुमतिको सक्कलै फाइल मन्त्रालयमा पठाउने गरी सिफारिस दिएको स्रोतले जनाएको छ ।
विदेशी कोर्षको नाममा मासिक ६० हजार रुपैंया शुल्क असुल्ने उक्त स्कुलले शिक्षा मन्त्रालयको अनुमति बिना नै कक्षा एक देखि १० सम्म अबैध रुपमा आईबी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही स्कुललाई मंगलबार सिफारिस दिएको महानगर श्रोतले जनाएको छ ।
संसदमा छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा नयाँ संस्थालाई सम्बन्धन नदिने र सञ्चालनमा रहेकाको हकमा कानुन अनुसार नियमन गर्ने प्रावधान राखेसंगै उक्त स्कुलका सञ्चालकले सत्तारुढ दलका नेताहरु मार्फत् लविङ् गरेका थिए । उक्त लविङ्को प्रभावमा परेर नगर प्रमुख महर्जनले स्थानीय सरकारको अधिकार क्षेत्र बाहिर गएर सिफारिस दिन दवाव दिएका थिए । उक्त दवाव पछि प्रमुख कार्यकारी अधिकृत रेखा दास श्रेष्ठले शिक्षा शाखालाई तोक लगाएकी थिईन् ।
मन्त्रालयले यस अघि पनि यही विद्यालयलाई कानुन मिचेर ११ र १२ मा आईबी कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको थियो । नेपालका विद्यालयमा पठनपाठन नहुने नवीनतम प्रविधिको कुनै खास विषयमा विदेशी बोर्ड वा शिक्षण संस्थासँग सम्बन्धन लिई निजी लगानीको विद्यालय स्थापना गर्न कूटनीतिक नियोगको सिफारिस सहित निवेदन दिएमा शर्त तोकेर विद्यालय खोल्न अनुमति दिन सक्ने प्रावधान छ । तर यसलाई वेवास्ता गर्दै अनुमति दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरेको थियो । उक्त छानविन अझै सकिएको छैन । तत्कालिन महाशाखा प्रमुखहरुले विद्यालय तहमा आईबीको कक्षा अनुमति दिनु कानुन विपरीत हुने राय दिएको भए पनि तत्कालिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सचिव र रामप्रसाद थपलियाको मिलोमतोमा अनुमति दिइएको थियो ।
पढ्नुहोस् : कानुनको अपव्याख्या गरेर प्रिमियरलाई आईबीको सम्बन्धन
नेपालमा अबैध रुपमा स्वीट्जरल्याण्डको आईबी कार्यक्रम सञ्चालन गरिरहेको बारेमा एडुखबरले २०८० साल चैत मै एक्सक्लुसिभ समाचार प्रकाशन गरेको थियो ।
पढ्नुहोस् : एक्सक्लुसिभ : अवैध आईबी
र यो पनि पढ्नुहोस् : अबैध आईबीलाई बैध बनाउन अग्रसर चिरीबाबु
प्रतिक्रिया