ललितपुर - आगामी शैक्षिक सत्रदेखि कक्षा ५ को अन्तिम परीक्षा पनि पालिका स्तरमा सञ्चालन गर्ने ललितपुर महानगरपालिकाले घोषणा गरेको छ । शुक्रबार महानगरको सातौं नगर सभामा नगर प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त विषय समेटिएको हो । संविधानले विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत गरे पनि अहिले सम्म कक्षा आठको अन्तिम परीक्षा मात्रै पालिकाहरुले लिदैं आएका छन् ।
नीति तथा कार्यक्रमको बुँदा नम्बर ठ को १७५ मा आधारभूत तह उत्तीर्ण परीक्षालाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाइने उल्लेख गर्दै आगामी शैक्षिक सत्रदेखि कक्षा ५ को अन्तिम मूल्याङ्कन पनि महानगरपालिकाबाटै गर्ने व्यवस्था मिलाईने उल्लेख छ । यस्तै विद्यार्थीको सिकाइ सुधारका लागि अभिभावक शिक्षा कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरको नीतिमा समेटिएका शिक्षाका बुँदा यस प्रकार छन् :
– विद्यार्थीको सिकाइमा अभिभावकहरूको प्रत्य संलग्नता रहने हुँदा अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै महानगरमा अभियानका रुपमा सञ्चालन गरिनेछ ।
– शैक्षिक सत्र २०८२ लाई शैक्षिक उन्नयन वर्षको रुपमा मनाइने छ । विद्यालय तहका २०८१ को परीक्षाको नतिजालाई आधार वर्ष मानी लक्ष्यमा आधारित रही साविकको नतिजामा कम्तीमा ५ प्रतिशत थप सिकाइ सुधार गर्दै जाने नीति अवलम्वन गरिनेछ ।
– महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा २०८२ को शैक्षिक तथ्याङ्कका आधारमा विद्यार्थी र शिक्षकको अनुपातलाई दृष्टिगत गरी आवश्कयता र औचित्यताको आधारमा शिक्षक दरबन्दी मिलान गर्ने, विषयगत दरबन्दी मिलान गर्ने, तह घटाउने तथा विद्यालय एकीकरण गर्ने नीति अवलम्बन गरिनेछ । दरवन्दी मिलान पश्चात विद्यालयमा आवश्यक हुने विषयगत दरवन्दीमा महानगरपालिकाद्वारा स्वयंसेवक शिक्षकको रुपमा (शिक्षक बैंक) थप शिक्षकको व्यवस्थापन गरिनेछ । महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत कुनै शिक्षक तथा कर्मचारीका सम्बन्धमा विद्यालय व्यवस्थापन समिति, सम्वन्धित वडा कार्यालय, तथा अन्य निकायबाट गुनासो तथा उजुरी प्राप्त हुन आई सो उपर छानविन गर्दा दोषी देखिएमा त्यस्ता शिक्लक तथा कर्मचारीलाई अन्य विद्यालयमा व्यवस्थापन गरिनेछ ।
– महानगरपालिका क्षेत्रभित्र सञ्चालित बालविकास केन्द्रहरुको नक्साङ्कन गरी बालविकास केन्द्रलाई एकीकरण तया सुदृढीकरण गरिनेछ । महानगरभित्र सञ्चालित कम्तीमा ५ वटा शिशु स्याहार केन्द्रहरुलाई नमुनाका रुपमा सञ्चालन गरिनेछ । वालविकास केन्द्र र शिशु स्याहार केन्द्रका लागि आवश्यक थप सामग्री व्यवस्थापनका लागि अनुदानको व्यवस्था मिलाइनेछ ।
– महानगर भित्र सञ्चालित विद्यालयहरुमा हरित विद्यालय तथा विद्यालय बँगैचा कार्यक्रमलाई निरन्तरता दिइनेछ । विद्यालयहरुमा सञ्चालित हरित विद्यालय कार्यक्रमलाई प्रतिस्पर्धी बनाई उत्कृष्ट रुपमा सञ्चालन गर्ने ३ वटा विद्यालयहरुलाई महानगर स्थापना दिवसका अवसरमा नगद तथा प्रमाण पत्र सहित पुरस्कृत गर्ने व्यवस्था मिलाइने छ ।
– विद्यालयहरुमा प्रत्येक शुक्रवारका दिन सञ्चालन गर्ने अतिरिक्त क्रियाकलाप तथा सहक्रियाकलापलाई योजनावद्धरुपमा सञ्चालन गर्दै महानगरस्तरीय प्रतिस्पर्धा गराई प्रतिष्पर्धा विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी र विद्यालयलाई पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
–विद्यालय स्तरमा हुने खेलकुद प्रतियोगिता एवं स्काउटका साथै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सञ्चालन हुँदै आएका कार्यक्रमहरुलाई प्रोत्साहन गर्दै लगिनेछ । रनिङ
शिल्ड प्रतियोगितालाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ । यस किसिमका क्रियाकलापमा खेलकुद, सङ्गीत, नृत्य सम्बन्धी प्रशिक्षणको लागि स्वयंसेवक शिक्षकको समेत व्यवस्था गरिनेछ ।
– विद्यालय र विद्यार्थीको सम्पदा संरक्षाणमा प्रत्यक्ष भूमिका रहने गरी एक विद्यालय एक सम्पदा संरक्षाण कार्यक्रम सञ्चालन गरिनेछ । सम्पदा संरक्काणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने विद्यालयलाई पुरस्कृत गरिनेछ ।
– महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको नियमित अनुगमन तथा निरीक्षण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रविधिमा आधारित डिजिटल अनुगमन प्रणालीको विकास गरिनेछ ।
– सामुदायिक विद्यालय तथा समुदायमा आधारित वालविकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुलाई महानगरपालिकाद्वारा थप गरिएको पारिश्रमिकलाई निरन्तरता दिइनेछ ।
– सामुदायिक तथा संस्थागत विद्यालयहरुको कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी योजनावद्ध वृत्ति विकासका लागि विद्यालयहरुमा वृत्ति मार्गनिर्देशन कार्यक्रम सञ्चालन गरिनेछ ।
– परम्परागत, ऐतिहासिक, सम्पदा, संस्कृति तथा रहन सहनलाई समावेश गरी अगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम (नेपाल भाषा) मा अध्ययन गर्ने व्यवस्था मिलाइनेछ । यसका लागि नेपाल भाषा शिक्षणका लागि छनौट भई विद्यालयहरुमा कार्यरत जनशक्तिहरुलाई निरन्तरता दिइनेछ । महानगरपालिकाद्वारा प्रकाशित सडक सुरक्षा शिक्षा पुस्तकलाई सन्दर्भ सामग्रीका रुपमा प्रयोग गरिनेछ ।
– नागरिकलाई नैतिकवान, स्वावलम्वी वनाउन एवं असल समाज र चरित्र निर्माण गर्न महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा संस्कृत भाषा, परियत्ति शिक्षा, नैतिक तथा संस्कारयुक्त शिक्षाको पठनपाठन गरी कला, संस्कृति र सम्पदाको संरक्षणमा विशेष जोड दिइनेछ ।
– हाल सञ्चालनमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुलाई वडा कार्यालयहरुसँग आवद्ध गरी कार्यक्षेत्र विस्तार गरिनेछ ।
– २०८५ साल भित्र प्रत्येक नागरिकले आधारभूत तहको शिक्षा पुरा गर्ने व्यवस्था मिलाउन यसवर्ष सामुदायिक सिकाइ केन्द्र मार्फत तथ्याङ्क सङ्कलन गरिनेछ । साक्षरताको सर्वेक्षण लगायत अनौपचारिक तथा निरन्तर शिक्षाका कार्यक्रमहरु आवश्कताका आधारमा सञ्चालन गरिनेछ । साथै सामुदायिक अध्ययन केन्द्रहरूको संस्थागत सुदृढीकरण गर्दै लगिनेछ ।
– नेपाल सरकारद्वारा सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि दैनिक उपस्थितिका आधारमा प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रममा (कक्षा १-५) मा थप गरिएको रकमलाई निरन्तरता दिइनेछ ।
– महानगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयहरू मध्ये क श्रणीका विशेष सुविधायुक्त विद्यालयहरुले प्रदान गर्ने सामाजिक उत्तरदायित्व सम्वन्धी योगदानलाई कार्यविधि वनाई व्यवस्थित गरिनेछ । साथै संस्थागत विद्यालयहरुको स्तरीकरण गरी शुल्क निर्धारणलाई व्यवस्थित गरिनेछ ।
– महानगरभित्र सञ्चालित सामुदायिक कलेजलाई प्रदान गरिदैं आएको एकमुष्ट रकम अनुदानलाई निरन्तरता दिइनेछ । कक्षा ११ - १२ सञ्चालित साविकको उच्च माध्यमिक दरवन्दी नभएका सामुदायिक विद्यालयहरुलाई कम्तीमा १ शिक्षक दरबन्दी बरावरको रकम अनुदानको रुपमा उपलब्ध गराईनेछ । सामुदायिक विद्यालयका शिक्षकहरुको क्षमता विकास गरी शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिइनेछ। साथै स्टिेम, कोडिङ लगायत अन्य शिक्षक तालिम कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिनेछ ।
– संस्थागत तथा सामुदायिक विद्यालयहरुको शैक्षणिक पद्धति र गुणस्तर समेतलाई एक आपसमा अनुभव आदान प्रदान गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ । साथै खेलकुद संरचनाहरुलाई पनि एक आपसमा उपयोग गर्ने नीति लिईनेछ ।
– विपद् तथा भूकम्पीय जोखिमलाई न्युनीकरण गर्न महानगर अन्तर्गतका विद्यालयहरुमा सचेतना मूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
– विद्यालयमा कार्यरत महिला शिक्षक तथा कर्मचारीहरु प्रसुति भएको अवस्थामा पठन पाठन र प्रशासनिक कार्यमा सहजताका लागि नियमानुसार प्रसुति विदामा रहेको समयमा सट्टा शिक्षक तथा कर्मचारीको व्यवस्था गरिनेछ ।
– संस्थागत विद्यालयहरुले प्रदान गर्ने छात्रवृत्तिलाई विश्वसनीय, पारदर्शी एवं अनुमानयोग्य हुनेगरी व्यवस्थित गरिनेछ ।
– डिजिटल लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचर मार्फत माध्यमिक तहको शैक्षिक गुणस्तर अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिनेछ । साथै एसईई र एसएलसी परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि विदाको समयमा समेत अतिरिक्त कक्षा सञ्चालनको प्रवन्ध गरिनेछ ।
– महानगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षालाई मर्यादित व्यवस्थित र प्रभावकारी वनाइनेछ । साथै आगामी शैक्षिक सत्रदेखि कक्षा ५ को अन्तिम मूल्याङ्कन महानगरपालिकावाट गर्ने व्यवस्था मिलाइने छ।
– महानगरपालिका भित्र सञ्चालित माध्यमिक विद्यालयहरुमा प्रत्येक महिनाको अन्तिम शुक्रवार स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य निकायहरुले जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा विभिन्न सेवा आयोगमा प्रवेश गर्ने विधि प्रक्रियाका बारेमा सुसूचित गर्ने उद्देश्यले विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने व्यवस्था गरिनेछ ।
– महानगरपालिका भित्र रहेका वेरोजगार युवाहरुलाई प्राविधिक तथा व्यवसायिक सीप प्रदान गरी बजारको माग अनुसार रोजगारीमा जोड्न र आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को पाठ्यक्रममा आधारित छोटो अवधिको तालिमहरु क्रमशः सञ्चालन गर्दै लगिनेछ ।
– सामुदायिक विद्यालहरुमा पढ्दै, रमाउँदै, कमाउँदै कार्यक्रम सञ्चालन गरिनेछ ।
– शिक्षक, अभिभावक र वडाविचको समझदारीमा स्थानीय विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आवद्धता हुने गरी कार्यकम ल्याईने छ ।
प्रतिक्रिया