काठमाडौं - प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भाग लिन विहान आठ बजे देखि भेला भएका सांसदहरु कुरेको कुर्यै भएका छन् । विद्यालय शिक्षा विधेयक माथि छलफल गर्न सोमबार विहान साढे ८ बजेका लागि बैठक बोलाईएको थियो । नेपाल शिक्षक महासंघले आफ्ना माग मुद्दाका बारेमा समितिमा भईरहेको छलफल 'पोजेटिभ' नभएको भन्दै सांसदहरुलाई दवाव दिए पछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षक नेताहरुसँग छलफल गर्ने भन्दै बैठक दुई बजेका लागि सारिएको थियो ।
साढे १२ देखि झण्डै डेढ घण्टा शिक्षक नेताहरुसँग शिक्षा मन्त्रालयमा भएको छलफलमा कुनै निष्कर्श ननिस्केपछि समिति बैठक अन्योलमा परेको हो । खुल्लामा २५ र आन्तरिकमा ७५ प्रतिशत हुनु पर्ने आफूहरुको अडान कायमै रहेको बताए पछि बैठकमा सहमती जुट्न नसकेको महासंघका महासचिव तुलाबहादुर थापाले बताए । मन्त्री पन्तले सहमतीमा आउन शिक्षक नेताहरुलाई 'हातै जोडेका' श्रोतले जनायो ।
'विधेयकको छलफल अन्तिममा पुगेको छ सहमतीमा सहयोग गर्नु होस् भनेर मन्त्रीले भन्दा पनि शिक्षक नेताहरु टसमस नभए पछि बैठक त्यसै सकियो' मन्त्री निकट श्रोतले भन्यो ।
आफूहरुले महासंघसँग भएको सहमती ख्याल गर्न भनेको तर शिक्षा मन्त्रालय त्यसमा राजि नभए पछि समस्या भएको बैठक पछि थापाले बताए ।
'हामीले सरकारले भनेको ६० / ४० को अवधारणा मानेनौं' उनले भने 'ईसिडीका सहजकर्तालाई शिक्षक भन्नु पर्ने हाम्रो मागमा शिक्षा मन्त्री पोजेटिभ नभए पछि हामी उठ्यौं ।'
यस्तै प्रारम्भिक बाल विकासका सहजकर्तालाई शिक्षक नभन्ने समितिको निश्कर्ष प्रति पनि शिक्षक महासंघका नेताहरु असहमत छन् । उनीहरुले सहजकर्तालाई पनि शिक्षक नै भन्नु पर्ने माग गरेका छन् । तर, शिक्षक हुनका लागि निश्चित मापदण्ड पुरा भएको हुनु पर्ने मन्त्रालयका अधिकारीहरुको तर्क छ ।
शिक्षक भनेको आयोगको परीक्षा पास गरेर आएको व्यक्ति हो, अहिले सहजकर्ता मध्ये अधिकाँश राजनीतिक नियुक्तिका छन्, कतिपयको योग्यता नै कम भएकोले शिक्षक भन्न नसकिने मन्त्रालयको अडान छ ।
बैठकबाट उठेपछि शिक्षामन्त्री पन्त विभिन्न दलका नेताहरुसँग भेटघाटमा जुटेका छन् । सबै भन्दा पहिला उनी सत्ताधारी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पार्टि कार्यालय सानेपा पुगेका छन् ।
शिक्षक नेताहरु आआफ्ना दलका नेताहरुको भेटघाटमा जुटेका छन् ।
समिति सभापति अम्मरबहादुर थापाले मन्त्री आए बैठक बस्ने नआए अनिश्चितकालका लागि स्थगित गर्ने बताएका छन् ।
प्रतिक्रिया