दलको कार्यकर्ता हैन शिक्षक मात्रै हुँदा !


- बन्द र हड्तालका कारण पढाई अवरुद्ध भएको खबर सुन्दा लमजुङ बाग्लुङपानीका अभिभावकलाई आश्चर्य लाग्छ । यति मात्रै हैन, उनीहरु सवै भन्दा धेरै आश्चर्यमा त त्यतिखेर पर्छन् जतिखेर कक्षामा पढाउनु पर्ने शिक्षककै आन्दोलनका कारण विद्यार्थीको पढाई रोकियोस् ! शिक्षक, कुनै दल विशेष र तिनका भातृ संगठनका कृयाकलापका कारण विद्यालयमा पठन पाठन बन्द भएको कुरा उनीहरुले रेडियो, टिभी र पत्रपत्रिकाबाट मात्रै थाह पाउँछन् ।

सार्वजनिक विदाको दिन बाहेक आफ्नो गाउँको जनज्योती माध्यामिक विद्यालय कहिल्यै विदा भएको थाह छैन – बाग्लुङपानीका गाउँलेलाई । विद्यालयमा बन्द र हड्तालको प्रभाव कस्तो पर्छ भन्ने बुझ्न दश बर्षे द्धन्द्धका बेला समेत निर्वाध भएको पठन पाठन सम्झे पुग्छ ।

पहिलो पटक विद्यालय पुग्ने बाहिरका मान्छेलाई नाकैमा ठोकिएला झैँ लाग्ने मनास्लु हिमालले मात्रै हैन चिरिच्याँटट् सफा विद्यालयको प्राङ्गणले पनि उसै गरी लोभ्याउँछ । वरिपरी वस्तिको बिचमा रहेको विद्यालयमा छिर्ना साथ थाह हुन्छ – यसको पहिचान विशिष्ठ छ !

सामुदायिक विद्यालयमा पढाईको गुणस्तर खस्कियो ! खस्कियो ! खस्कियो ! भनेर काठमाडौंका तारे होटलमा गरिएको चिन्ता जाहेर, र त्यहाँबाट गरिएको सिफारिस सम्भवतः बाग्लुङपानी पुग्दैन र पुग्दैन जनज्योतीका हेडसर बिल बहादुर गुरुङका कान सम्म पनि ! र, पनि विद्यालयको पठन पाठन उत्कृष्ट छ, विद्यार्थी र अभिभावक खुसी छन् । 

के हो त सुधारको कारण ?

'नियमित पठन पाठन' गुरुङ् सर निर्धक्क भन्छन्, 'विद्यालय सुधार्न यो भन्दा धेरै थोक गर्नै पर्दो रैनछ ।'

यो तत्वबोध उनले मात्र हैन हिजो आज उनका सहकर्मी शिक्षकले पनि पाईसेकेका छन् । ‘हामी नियमित विद्यालय खोल्छौँ, कुनै दल, संघ संस्थाको करकाप र दवावमा विद्यालयको पढाई कहिल्यै रोकेनौं, रोक्दैनौं' उनले भने, 'एसएलसीमा सतप्रतिशत नतिजाको कारण यत्ति हो ।' 

द्धन्द्धका बेलाको करकापलाई झेलेका शिक्षक अभिभावकलाई हिजो आजका करकापले नछुनु सामान्य नै हो । ‘दश बर्षे द्धन्द्धकालमा विद्रोही पक्षबाट धेरै दवाव आएपनि हामीले विद्यालय बन्द गरेनौँ भने अहिले हुने बन्द हड्तालका खबर त झन् हामीलाई थाहै हुदैन ।’ उनले भने, ‘हामी पढाईमा विश्वास गछौँ, बन्द हड्ताल, चक्काजामको समर्थन पनि गर्दैनौ र विरोध पनि गर्दैनौँ ।’

वि.स. २०१६ सालमा स्थापना भएको विद्यालयमा ३ जना नीजि श्रोतका सहित १५ जना शिक्षक छन् । यी सबै शिक्षक कुनै अमुक दलको कार्यकर्ता भन्दा पनि शिक्षक भएकोमा गर्व गर्छन् ।

शिक्षक इमान्दार भएर पढाईदिए मात्रै विद्यालयको नतिजा सुध्रिन्छ भन्ने अर्को उदाहरण लम्जुङ्मा पनि फेला पारेको बताउँछन् जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल । ‘बर्षेनी एसएलसी परीक्षामा सबै विद्यार्थी पास गराउँदै आएको रहेछ,  विद्यार्थी र शिक्षक नियमित रहेछन् । यो नै हो विद्यालय सुधारको रणनीति र कार्ययोजना' उनले भने, 'विद्यालयले राम्रो गर्न शिक्षक बाहेक अरुको भूमिका कम नै हुन्छ भन्ने उदाहरण हो यो ।' 

‘मनभित्र को कुन पार्टीका शिक्षक हुन् ? मलाई थाहा छैन' प्रअ गुरुङले भने, 'तर विद्यालयमा उनीहरुले आपत विपत बाहेक कहिल्यै पनि कक्षा लिन छाड्दैनन् ।'

गुरुङ्लाई यो पनि थाह छ, यो सुधार उनको एक्लो प्रयासबाट सम्भव हुन सक्दैन । त्यसैले त विद्यालयमा गर्नुपर्ने सुधारमा शिक्षकको टिम उनको होस्टेमा हैसें गर्न सँधै तयार छ ।

गत बर्ष जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत विद्यालयलाई आफ्नो यो साख जोगाउने डरलाग्दो चुनौती छ । 

‘पहिले यस्तो थिएन, यो भवन पनि थिएन, विद्यार्थी पनि त्यति लगनशिल थिएनन् अनि शिक्षक पनि इमान्दार थिएनन्' विद्यालयको ईतिहास कोट्याउनु पर्छ, गुरुङ् सर रोमाञ्चित हुन्छन्, '६० सालयता विद्यालयमा एकनासको नतिजा आएको छ, शिक्षकले कक्षा कोठामा गरेको मेहनेतले मात्रै हैन, हरहमेशा विद्यार्थीको निगरानी गर्दै आएकोले पो सुधार भएको हो ।'

विद्यालयका केही नियम छन्, शिक्षक र विद्यार्थी नियमित स्कुल आउनै पर्ने, नआउने भए एकदिन अघिनै जानकारी दिनुपर्ने । कथंकदाचित खबर गर्न सकिएन भने उपस्थित भएको दिनमा शिक्षकले प्रधानाध्यापकलाई र विद्यार्थीले कक्षा शिक्षकलाई अनुपस्थित हुनाको चित्त बुझ्दो कारण बुझाउनै पर्छ ।

विद्यालय राम्रो हुनुको अर्को कारण भनेको विद्यालय र घर दुबैमा विद्यार्थीका गतिविधि र पठनपाठनमा शिक्षकको निगरानी हो । अभिभावकहरु नियमित विद्यालय आउँछन् आफ्ना नानी बाबुको पढाईको अवस्था सहित विद्यालयको अवस्था  प्रति चासो राख्छन् । 'शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणत्मक सम्बन्ध घनिष्ठ छ' विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम बहादुर विक भन्छन्, ‘अभिभावकले विद्यालयका हरेक गतिविधिमा सक्रीय सहभागिता जनाउँछन्, शिक्षकले विद्यार्थीलाई विद्यालय र घर दुबै ठाउँमा पढ्ने राम्रो वातावरण विकास गर्न समेत सघाएका छन् ।’

‘हामी विद्यार्थीलाई दवाव, डर, लाठी देखाएर होइन उनीहरुलाई सिकाईमा रुचि जगाएर पढ्न लगाउछौँ । यसका लागी होस्टेल नै बसालेर हुन्छ की हप्तामा एकपटक उनीहरुकै घरमै गएर हुन्छ की, शिक्षक र विद्यार्थीको सम्बन्धसँधै नजिकको बनाएर पढ्ने वातावरणको सिर्जना गर्छौै ।’ प्रअ गुरुङले भने  ‘विद्यार्थी सत प्रतिशत पास गराएर मात्रै के काम उनीहरुले सिकेको विधि र तरिका कस्तो छ ? भन्ने पनि शिक्षकले बुझ्नु पर्यो । विद्यार्थी अनियमित हुन्छ भने त्यसको कारण सोध्नु पर्यो र विद्यालय तथा शिक्षकबाट समाधान हुन्छ भने त्यो पनि गर्नु पर्यो ।'

कक्षा ७ मा अध्ययनरत पुजा तामाङ् शिक्षकहरुले बुझाएर पढाउने गरेको बताउँछिन् । 'विद्यालयमा मात्रै हैन सरहरुले जहाँ भेटे पनि पढ्नु पर्छ भन्नु हुन्छ, यसले गर्दा मलाई पनि पढ्न मन पर्छ' उनले भनिन् ।

विज्ञान शिक्षक सोमनाथ सुवेदी छलफल गराएर पढाउने गर्दा सिकाई प्रभावकारी भएको बताउँछन् । 'हामी त पढाई हाल्छौं, विद्यार्थीहरु पनि मेहनेती भएकोले हामी सफल भएका हौं ।' उनले विद्यालय सुध्रनुको जस विद्यार्थीलाई दिए ।

प्रयोगशालामा पर्याप्त शैक्षिक सामाग्री नहुँदा समस्या भएपनि जे जस्तो छ त्यसमै अधिकतम सिकाउने गरेको उनले बताए ।

१ सय २१ छात्र र ८५ छात्रा अध्ययनरत विद्यालय नजिकै छात्रावास पनि छ । जहाँ एसएलसी परिक्षा दिने र टाढा घर भएका ८ छात्रा सहित २१ विद्यार्थीलाई बस्ने ब्यवस्था मिलाईएको छ । छात्रावासमा बस्नेले थप शुल्क तिर्नु नपरे पनि खानाको ब्यवस्था भने विद्यार्थी आफैंले गर्नु पर्छ । केही विद्यार्थीले त्यहीँ पकाएर खान्छन् भने केहीले नजिकैका होटेलहरुमा खाने गरेका छन् ।

त्यहाँ बस्ने विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्न प्रअ गुरुङ र अन्य दुई शिक्षक पनि त्यहीँ बस्छन् । ‘सबै कुराको व्यवस्था भइसकेको छैन, दुई तिन जना एकै कोठामा पनि मिलेर बसिरहेका छन्' गुरुङ्ले भने, 'एसएलसी तयारी गर्ने विद्यार्थीलाई ध्यान दिन खटिएका हौं ।'

छात्राबासलाई थप व्यवस्थित त गर्नु पर्ने छ तर श्रोतको खाँचोले सोचे जस्तो भएको छैन ।

विद्यालयमा नियमित आन्तरिक परीक्षा हुन्छ । यसले गर्दा नजानेको कुरा सुधार्न विद्यार्थीले मात्रै हैन शिक्षकले पनि मौका पाउँछन् । यसको परिणाम नतिजामा देखिन्छ । त्यसैले त विद्यालयले हरेक बर्षको एसएलसी परीक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल हुदै आएको छ ।

गत बर्ष एसएलसी दिएका २१ जनामध्ये २० जना नियमित र बाँकी १ जना पूरकमा गरी सत प्रतिशत उतीर्ण भएका थिए । ८ जनाले प्रथम श्रेणी र बाँकी १२ जना दोश्रो श्रेणीमा एसएलसी पास गरे । प्रअ गुरुङका अनुसार त्यसभन्दा अघिल्लो बर्ष १९ जना विद्यार्थीले एसएलसी दिएकोमा १ जना विशिष्ट श्रेणी सहित ७ जना प्रथम श्रेणी र बाँकी सबै दोश्रो श्रेणीमा उत्तीर्ण भएका थिए ।

पछिल्लो तीन बर्षयता जिल्लाभरीमै लगातार सबैभन्दा धेरै विद्यार्थी उतीर्ण गराउन सफल भएको छ जनज्योती मावि । यस बर्ष एसएलसी दिने १८ जना विद्यार्थी सबैलाई उसै गरी उतीर्ण गराउन लागिपरेको छ – प्रअ गुरुङ् र उनको शिक्षक समूह ।

विद्यालयको पठन पाठन सुधारमा भौतिक संरचनाको पनि भूमिका हुँदो रहेछ । विद्यालयका प्रत्येक कक्षाकोठा र चौर सफा सुघ्घर र व्यवस्थित छन् । फोहर फाल्न ठाउँ ठाउँमा डोकोको डस्टवीन बनाईएको छ । कुनै कागज र प्लाष्टिकको एक टुक्रा पनि विद्यालयको वरिपरि फेला पर्दैन । विद्यालय सफा सुघ्घर गर्न विद्यार्थी नै जुट्छन् ।

शिक्षकहरुको साथ र सहयोगबाट विद्यार्थीले ग्रिनपिस बालक्लब गठन गरेका छन् । अतिरिक्त कृयाकलापमा सकृय क्लवका गतिविधि र विद्यार्थीको सृजनशिलता क्लबको अगुवाईमा प्रकाशित भित्तेपत्रिकामा देखिन्छ । 
विभिन्न राष्ट्रिय अन्र्तराष्ट्रिय संघ संस्थाको सहयोगमा कक्षा ३ सम्म बालमैत्री कक्षाकोठा निर्माण गरिएको छ । जहाँ बालबालिका विभिन्न शैक्षिक सामाग्रीहरुसँग रमाउँदै खेल्दै सिक्छन् । विद्यालय भवन पक्कि छ रंगरोगनले चिटिक्क सिँगारिएको छ ।

विद्यालयले शैक्षिक र सामाजिक दुबै क्षेत्रलाई सँगसँगै अघि बढाउने सोच बनाएको अध्यक्ष बिक बताउँछन् । 'विद्यालयको खाली ठाउँमा चिया बगान बनाउने योजना छ' उनले भने, 'हामी विद्यालयलाई पठन पाठनका अलावा शैक्षिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएका छौं ।'

आगामी बर्ष उच्च मावि सञ्चालन गर्ने र ‘होटेल म्यानेजमेन्ट’ पढाउने योजना छ । विद्यार्थीलाई पर्यटन ब्यवसायसँग जोडिएको प्राविधिक विषय पढाउँदा आयआर्जन सहित पढाईको महत्व बढ्ने ठानेर यस तर्फ प्रकृया अघि बढाएको विकले बताए ।

लमजुङको सदरमुकाम बेसीशहरबाट कच्चि बाटोमा करिव १ घण्टाको जीपयात्रा पछि पुगिन्छ बाग्लुङ्पानीको यो विद्यालय ।

खत्तम भो सामुदायिक विद्यालय ! भन्दै दिन रात माला जप्नेहरुलाई कसरी हुँदो रैछ विद्यालय सुधार भन्ने कुरा जान्न मन भए एक पटक बाग्लुङ्पानी पुग्दा बेश !

प्रकाशित मिति २०७२ पुस २ गते