काठमाडौं - अन्तिम तिर पुगिसकेको शिक्षा विधेयक माथिको छलफल शिक्षकका नेताहरुकै कारण उल्झन्का परेको छ । शिक्षकको विषय पेचिलो भए पछि संसदीय समितिको बैठक रोकेरै शिक्षक नेताहरुसँग शिक्षामन्त्री रघुजी पन्तले गरेको छलफलमा निष्कर्श ननिस्किए पछि विधेयक माथिको बाँकी छलफल नै के हुने हो ? भन्ने प्रश्न उठेको छ ।
साढे १२ देखि झण्डै डेढ घण्टा शिक्षक नेताहरुसँग छलफल गर्दा पनि सहमती नजुटेपछि मन्त्री पन्त दलका शिक्षक नेताहरुलाई मनाउन दलका नेता गुहार्दै हिँडेका थिए । खुल्लामा २५ र आन्तरिकमा ७५ प्रतिशत हुनु पर्ने आफूहरुको अडान कायमै रहेको बताए पछि बैठकमा सहमती जुट्न नसकेको हो । यस्तै प्रारम्भिक बाल विकासका सहजकर्तालाई शिक्षक नभन्ने समितिको निश्कर्ष प्रति पनि शिक्षक महासंघका नेताहरु असहमत छन् । उनीहरुले सहजकर्तालाई पनि शिक्षक नै भन्नु पर्ने माग गरेका छन् । तर, शिक्षक हुनका लागि निश्चित मापदण्ड पुरा भएको हुनु पर्ने मन्त्रालयका अधिकारीहरुको तर्क छ ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि झण्डै साढे सात घण्टा पछि शुरु भएको बैठकमा मन्त्री पन्तले सहमतीको प्रयास बाँकी रहेकोले केही समय बैठक स्थगित गर्न प्रस्ताव गरेका छन् ।
उनको प्रस्ताव माथि समिति सभापति अम्मरबहादुर थापाले छलफल गर्न सांसदहरुलाई समय दिएपछि बोल्न थालेका सांसदहरु आक्रोशित भएका छन् ।
विधेयक माथिको लामो छलफलमा भएका सहमती प्रतिकुल शिक्षक नेताहरु उत्रिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । विधेयक बनाउने शिक्षक नेताले हो की सांसदले ? बैठकमा बोल्ने सांसदको प्रश्न छ ।
बैठकमा काँग्रैसका सांसद डिगबहादुर लिम्बुले कसैलाई खुसी पार्न मात्रै विधेयक बनाउने नभई ४०÷६० को विषय समितिले पास पास गरिसकेकोले त्यसमा फर्कन नहुने तर्क राखे ।
'सबैलाई खुसी पार्न सकिदैन । महासंघले भने जसरी गर्ने हो भने हरेक मान्छेलाई बोलाएर शिक्षकलाई बोलाएर विधेयक नआउने हो कि भन्ने लागेको छ' उनले भने ''बिहान आठ बजेदेखि बसेका छौँ । कसैको दास पनि होइनौं । जनता प्रति दायित्व छ । यो विषय गम्भिरता रुपमा सोच्नु पर्छ ।'
व्यक्तिगत र दलीय स्वार्थ भन्दा माथि उठ्न आग्रह गर्दै उनले स्वार्थ समूहले आँखा लगाउँदा विधेयक नआउने ठाउँमा पुगेको बताए ।
'मन्त्री किन लचिलु हुनु परेको हो ? तीन महिनादेखि जिल्ला र क्षेत्रमा नगई यो विधेयकमा काम गरिरहेका छौँ । अब बैठक स्थगित हुने हो भने म जिल्ला जान्छु । कहिलेसम्म स्थगन गर्ने ? म त छलफल मै आउदिन ।' उनले भने ।
रास्वपाकि सांसद सुमना श्रेष्ठले कानून स्वार्थ समूहले नभई संसदले बनाउने बताउँदै शिक्षकहरु मार्फत् दलहरुको स्वार्थ र भोटबैँक बचाउन प्रयत्न हुँदा उल्झन् आएको तर्क गरिन् ।
'जिल्लामा शिक्षा कार्यालय राख्ने विषयमा पनि सहमती भयो, आन्तरिक र बाहिर कति हुने ? ६०/४० मिलेको कुनै अमुक भातृ संगठनको फेस सेभिङको लागि सहमती भइसकेको थियो' उनले भनिन् 'अब समितिलाई दोष दिने प्रपञ्च हुदैछ । भोट बैक बचाउन शिक्षक र विद्यार्थी र शिक्षासंग खेलवाड गर्न पाइदैन । फुल समितिमा जे जे गर्नु छ गर्नुस् । समितिले गरेको काम गरौँ । राजनीतिक गेम नखेलौ ।'
बैठकमा बोल्दै काँग्रेस सांसद श्याम घिमिरेले थप सहमती जुटाएर जानु उपयुक्त हुने बताए ।
'८० प्रतिशत सकिएसकेको छ । २० प्रतिशतमा असहमती किन गुर्न ?' उनले भने ।
माओवादी सांसद देवेन्द्र पौडेलले अर्थ, गृहमन्त्री, प्रमुख सचेक, समिति सभापति शिक्षामन्त्री बसेर सहमती गर्दा कुन कुरामा व्ययभार लाग्छ ? भन्ने त्यो बेला थाहा थिएन र ? भन्दै प्रश्न गरे । बालविकास सहजकर्तालाई शक्षिक भन्न पर्ने माओवादीको अडान छ । उनले यही विषयलाई उठाएका हुन् ।
'सरकारको कारणले यो विधेयक रोकियो । यो तरिका र कार्य क्षमतामा गम्भिर प्रश्न आयो । रोक्नु पर्ने कारण त छैन । फेर्केर जिरोमा जाने र अन्धरकारमा धकिलिने भयो' उनले भने ।
माओवादीकै सांसद रेखा शर्माले घरमा शोक हुँदा पनि विधेयक टुग्याँउनकै लागि भनेर जान नपाएको बताउँदै महिनौदेखि कुनै पनि निर्वाचन क्षेत्रको काममा सहभागि नभई बसेको बताईन् ।
'आजको दिनसम्म आउदा असहमती गर्नु पर्ने र टुगिँन नपर्ने कुरा केही छैन' उनले भनिन् 'उपसमितिले एकमतले प्रतिवेदन समेत गरेका छौ । सत्तापक्ष र प्रतिपक्ष भनेर उभिएको पनि छैन । सर्वसम्मतीमा जाने भन्ने उत्साह पनि थियो । प्रतिपक्ष नै यो विधेयकमा पक्षमा भएको बेला अन्तिममा आएर विधेयक रोक्न खोजिदैछ । कांग्रेस प्रमुख सचेतक र मन्त्रीको कुरामा आपत्ती छ । रात १२ बजेसम्म टुङगिएन भने यो विधेयक होल्ड हुन्छ । सबै स्वार्थ समूहले चलखेल हुन्छ । हामी सांसद एक ठाउँमा भएकोले विधेयक आजै पारित गरौ । ’ बैठक स्थगित नगरौ उनले भनिन् ।
एमाले सांसद दिपा शर्माले नयाँ पुस्तालँई ढोका बन्द गर्ने कुरा मान्न नसकिने बताउँदै ६०/ ४० मा सहमती गर्नु पर्ने बताईन् ।
'शिक्षक महासंघलाई सम्मान गर्छौ । १०० प्रतिशत केही चिज यो दुनियामा पुरा गर्न सकिन्छ त ? यो विषयमा गम्भिर बनौ । ६०/४० को कुरा हो भने त्यसमा नमिलेको हो भने हाम्र्रो सांसद एक ठाउँमा छौ' उनले भनिन् ।
माओवादी सांसद ज्ञानु बस्नेतले आठ घण्टादेखि बैठकको प्रतिक्षामा बसेको बताउँदै अर्को आठ घण्टा बस्न तयार रहेको तर विधेयक आजै टुगोंमा पुर्याउनु पर्ने बताईन् ।
'बैठक स्थिगित गर्नु हुदैन । सरकारले महासंघसंग सहमती गरेको होइन ? आज टुङग्याउने दिनमा महासंघसंग छलफल बाँकी छ भनेर मन्त्री र कांग्रेस प्रमुख सचेतकले बैठक स्थगित गर्ने भन्ने कुरामा आपत्ती छ ।'
महासंघलाई देखाएर भित्र भित्रै चलखेल गर्न लागेको आशंक उब्जिएको उनले बताईन् ।
सांसद रामप्रकाश चौधरीले सांसद हराएको सूचना गर्ने बेला भएको बताउँदै भने 'आज नगर्ने हो भने म चाहि भोलीदेखि जिल्ला जान्छु ।'
यो पनि पढ्नुहोस् : शिक्षा विधेयक रोक्न शिक्षामन्त्री र काँग्रेस प्रमुख सचेतक नै लागेको सांसदको आरोप
प्रतिक्रिया