Edukhabar
आइतबार, १५ भदौ २०८२
विचार / विमर्श

शिक्षण सिकाइ : सिलोट देखि एआई सम्म

के भविष्यको कक्षामा शिक्षक केवल भावनात्मक प्रशिक्षक र एआई प्रमुख ज्ञान स्रोत हुनेछ ?

आइतबार, १५ भदौ २०८२

संसार परिवर्तनशील छ । अन्य कार्यहरु जस्तै शिक्षण सिकाइ विधि पनि परिवर्तन हुँदै गईरहेको छ । 

नेपालको शिक्षण–सिकाइको विकासक्रम परम्परागत सिलोट अर्थात पाटी देखि लिएर आजको कृत्रिम बुद्धिमत्ता अर्थात् एआई सम्म आइपुगेको छ । यस विकासक्रमले शिक्षण विधि, शैली, माध्यम, साधन र पहुँचमा ठूलो परिवर्तन ल्याएको छ । एआईले शिक्षण - सिकाइमा अभूतपूर्व सहजता ल्याएको छ अर्थात यसले शिक्षकको भूमिकालाई कमजोर पार्ने डर पनि उत्तिकै बढाएको छ ।

सिलोटदेखि एआईसम्मको यो यात्रा केवल प्रविधिको विकास मात्र होइन, सामाजिक–सांस्कृतिक रूपान्तरणको पनि गहिरो दर्पण हो ।

१. सिलोट र परम्परागत विधि 

६ दशक अघि सम्म पनि नेपालमा सिलोटमा ( सिलोटः अक्षर लेख्नका लागि बनाइएको कालो र पातलो, काठको फ्रेम भएको ढुङ्गाको पाटी; सिलोट) लेखेर पढ्ने– पढाउने, सिक्ने– सिकाउने गरिन्थ्यो । त्यो समयलाई वर्णमाला रटाउने समयको रूपमा पनि लिइन्छ । प्रारम्भिक समयमा शिक्षा पाठशाला र गुरुकुल प्रणालीमा विद्यमान थियो । सिकाइ पाटी (सिलोट) मा लेख्दै रटेर हुन्थ्यो । त्यो बेलाको शिक्षण धार्मिक ग्रन्थ, संस्कृत, ज्योतिष र नीतिशास्त्रमा बढि केन्द्रित थियो ।

घाँस पिसेर बनाईएको मसीले बाँसको खपटामा लेखेर सिकेका पुस्ता त अझै पनि छँदै छन् । धुलो माटोमा कखरा लेख्ने, किताबको नाममा नेपाली, सामाजिक, गणित सबै बिषयहरू समेटिएका पुस्तक हुन्थे ।
यो सिकाइ पद्धति  सरल, सस्तो, सबैले सिक्न सक्ने सीमित विषयवस्तु भएको केवल घोकन्ते पद्दतिलाई मात्र जोड दिएकोले बैज्ञानिक सिकाइ पद्दतिमा आधारित थिएन ।

२. छापाखाना र पाठ्यपुस्तकको युग (२००० साल)

शिक्षालाई औपचारिक संरचना भित्र समेटेसँगै सरकारी विद्यालय र पाठ्यक्रम निर्माण सुरु भयो । पाठ्यक्रमको आधारमा शिक्षण सिकाइ प्रक्रियालाई औपचारिक ढंगले अगाडि बढाउने सुरुवात भयो । शिक्षण सिकाइ बढी पाठ्यपुस्तक–केन्द्रित रह्यो । शिक्षा विभागले पाठ्यपुस्तक विकास र परीक्षा प्रणालीलाई व्यवस्थित ग¥यो ।

शिक्षक र विद्यार्थीबीच गुरु–शिष्य सम्बन्ध प्रवल थियो । संस्कार, संस्कृति तथा अनुशासनको राम्रो प्रभाव थियो ।

छापाखाना तथा पाठ्यपुस्तक युग औपचारिक संरचना, पाठ्यपुस्तकको पहुँच, पाठ्यपुस्तक–केन्द्रित र कठोर शिक्षण विधिमा आधारित थियो । शिक्षण सिकाइमा स्विकारात्मक विधि भन्दा बढी दमनात्मक विधिको उपयोग गरिन्थ्यो

३.कालोपाटि  रेडियो, टेलिभिजन र टेप–रिकर्डरको प्रयोग (२०३०–२०५० साल)

राष्ट्रिय शिक्षा पद्दति योजना २०२८ को आधारमा नयाँ शिक्षा ऐन लागू भएपछि अंग्रेजी शिक्षा औपचारिक रुपमा स्थापित भयो । शिक्षण सिकाइमा अडियो सामग्रीहरू शिक्षणमा प्रयोग हुन थाले । शिक्षण सिकाइको लागि कालोपाटीको व्यापक प्रयोग गरिन्थ्यो ।

विद्यालयहरूमा रेडियो शिक्षाको प्रयोग जस्तैः अंग्रेजी रेडियो कार्यक्रम लगायत अन्य कार्यक्रमहरू सञ्चालनमा आए ।

२०४२ सालमा टेलिभिजन खुले पछि टेलिभिजन मार्फत शिक्षाप्रद कार्यक्रमहरू देखाइन्थ्यो । र विद्यार्थीलाई शिक्षण सिकाइमा आकर्षण गरिन्थ्यो ।

यसमा अडियो–भिजुअलले  शिक्षण सिकाइमा रोचकता त ल्याउँथ्यो तर सीमित पहुँच मात्र भएकाले ग्रामीण क्षेत्रका विद्यार्थी लाभान्वित हुन कठिन थियो ।

४.सेतोपाटी, प्रोजेक्टर, कम्प्युटर युगको प्रारम्भ (२०५०–२०७० साल)

कम्प्युटरको विकाससँगै विद्यालय तहमा शिक्षण सिकाइमा कम्प्युटरको माध्यमबाट कक्षा शिक्षण प्रारम्भ गरियो ।

विद्यालय र कलेजहरूमा कम्प्युटर शिक्षा प्रदान गर्न सुरु गरियो। शिक्षण सिकाइका साधनहरूमा र पद्दतिमा प्रोजेक्टर, मल्टिमिडिया, पावरप्वाइण्ट प्रयोग हुन थाल्यो ।

त्यति मात्र होइन इण्टरनेट, इमेल, वेबसाइट, भिडियो मार्फत शिक्षणमा सहजता आयो । सिकाइ आकर्षक र प्रभावकारी ढंगले अगाडि बढ्यो Open Learning र E–learning को शुरुवात भयो ।

कम्प्युटर/इण्टरनेट युगमा आइपुग्दा E–learning , मल्टिमिडियाको प्रयोग त भयो तर डिजिटल विभाजन (digital divide) हुन पुग्यो ।

५. स्मार्टमोर्ड, मोबाइल, एप्स र अनलाइन शिक्षण (२०७०–२०७७ साल)

स्मार्टफोनको विकासले शिक्षण सिकाइमा शैक्षिक एप्स, YouTube, Google Classroom, Zoom,  meet, Moodle आदिको उपयोग हुन थाल्यो । शिक्षक र विद्यार्थी दुवैले सिकाइका लागि डिजिटल सामग्रीको प्रयोग गर्न थाले ।

शिक्षण सिकाइका साधनहरू पूर्णरूपमा परिवर्तन हुन पुगे । पहुँच गाउँँगाउँमा पुग्दा ग्रामीण भेगमा पनि इण्टरनेट मार्फत शिक्षण सम्भव हुँदै गयो । प्रविधिको व्यापक परिवर्तनले गर्दा शिक्षक सिकाइ विद्यालय र विद्यार्थीको भूमिकामा, शैलीमा तरिकामा र विषयवस्तुहरूमा निकै नै परिवर्तन हुन पुग्यो ।  स्मार्टफोन÷अनलाइन युगमा समय र स्थानको स्वतन्त्रता प्राप्त भयो तर ध्यान विचलित गर्ने, गलत सूचनाको खतरा पनि उत्तिकै बढ्यो । सत्य र झुट के हो छुट्याउन झन जटिल हुन पुग्यो ।

६.कृत्रिम बुद्धिमत्ता (AI) र स्मार्ट शिक्षण (२०७७–हालसम्म)

AI भनेको Artificial Intelligence को संक्षेप हो, जसले कम्प्युटरहरूलाई मानव जस्तै बुद्धिमत्ता दिन्छ । यसले विभिन्न कार्यहरू आफैं सिक्ने, समस्या समाधान गर्ने, र अनुभवबाट सिक्ने क्षमता राख्छ ।  शिक्षा, ज्ञान र सूचनाको क्षेत्रमा व्यापक परिवर्तन गरिदिएको छ । शिक्षक, विद्यालय र विद्यार्थीको भूमिका पूर्ण रुपमा परिवर्तन गरिएको छ । शिक्षण सिकाइ प्रक्रिया अब नयाँ कोर्समा प्रवेश गर्दैछ । सूचना र ज्ञानको योग अन्त्य भएर भावनात्मक तथा सृजनशीलता कल्पनाशीलता तथा अनुभवशीलता मात्र बाँकी रहेको छ त्यो सिकाउने काम शिक्षकको जिम्मेवारीमा आएको छ । यसो हुँदा अबको कण्टेण्ट पेडागोजी पुरै सिफ्ट भएर गएको छ । शैली तरिका प्रक्रिया र अवस्थाहरू परिवर्तन भएका छन् । कक्षाहरू अब एआई कक्षाहरू भएका छन् शिक्षक पूर्णरूपमा भावनात्मक सम्बन्ध स्थापित गर्ने विद्यार्थीलाई बोध गराउने सृजनशीलताको विकास गर्ने भूमिकामा आएको छ । एआई सम्पूर्ण ज्ञान र सूचनाको जानकारी दिन भनेर उपस्थित भएको छ ।

हिजो आज सिकाइ सहजीकरणमा ChatGPT, Google Gemini, Khanmigo, deep sik ,Sora जस्ता AI टुलहरू जवर्जस्त रूपमा प्रयोगमा आएका छन् । जसमा ChatGPT -OpenAI द्वारा विकसित, प्राकृतिक भाषामा संवाद गर्ने AI सहायक (Google Gemini -Google को बहुभाषिकAI प्लेटफर्म)  Khanmigo -Khan Academy को AI आधारित व्यक्तिगत ट्यूटर), Deepseek (तेज र कुशल AI reasoning मा आधारित प्लेटफर्म), Sora -OpenAI को AI  भिडियो निर्माण प्रणाली) जस्ता AI टूलहरूले सिकाइ सहजीकरणमा क्रान्तिकारी भूमिका खेलिरहेका छन् ।  शिक्षकलाई नै विस्थापित गर्ने गरि AI शसक्त बन्दैछ ।

आजका दिनमा शिक्षकले पाठ योजना निर्माण देखि मूल्याङ्कनसम्ममा एआईको सहयोग लिन थालेका छ्न् । एआई सिकाइको स्रोत बनेको छ ।

विद्यार्थीले Instant feedback, practice materials, भाषा अनुवाद आदि तुरून्तै प्राप्त गर्न सकेका छ्न् सहशिक्षकको रूपमा एआईको भूमिका बढ्दो छ । त्यतिमात्र होइन शिक्षकको सूचना , ज्ञान र क्षमताको समेत मूल्यांकन तथा कसि लगाउन सक्छ । सूचना र ज्ञानको आधुनिक स्रोत बनेको छ । हामीले दिएको इन्सट्रक्सन अनुसार उसले प्रतिक्रिया दिन्छ । अहिले आएर NotebookLM, Text–to–speech, Speech–to–text  जस्ता प्रविधि Inclusive Learning मा निक्कै उपयोगी सिद्ध भएका छन्।

एआईले विद्यार्थीको क्षमता, रुचि र कमजोरी अनुसार सिकाइ सामग्री र अभ्यासहरू तयार पार्ने, प्रत्येक विद्यार्थीलाई फरक–फरक स्तरमा सिकाइ अनुभव दिने  व्यक्तिगत शिक्षण होस् वा  एआईमा आधारित  ट्यूटरिङ सिस्टमहरूले विद्यार्थीलाई सोधिएका प्रश्नहरूको उत्तर दिन्छन् र तुरुन्त प्रतिक्रिया दिन्छन् । शिक्षकलाई पनि विद्यार्थीको प्रगतिको बारेमा रिपोर्ट दिन्छन्, जसले शिक्षकलाई सहजीकरण गर्ने इण्टेलिजेन्ट ट्यूटरिङ सिस्टम होस्  अर्थात पाठ्यक्रम अनुसार कक्षा सामग्री, क्विज, नोट्स, र प्रेजेन्टेशन बनाउने वा अनुकूलित गर्ने काम गर्न आवश्यक  सामग्री निर्माण र अनुकूलन (Content Creation & Adaptation) एआईले सजिलै गरिदिन्छ ।

भाषा पाठ्यपुस्तक वा सामग्री सजिलै अनुवाद गरी बहुभाषिक कक्षामा सिकाइ सहज बनाउँन एआईको  भाषा अनुवाद र पहुँचले मद्दत गर्छ । त्यति मात्र होइन एआईले डाटा एनालिटिक्स र विद्यार्थी मूल्यांकन गरी शिक्षकलाई परीक्षा तथा मूल्यांकनमा सहजीकरण गर्नुको साथै एआई समर्थित च्याटबोट वा भर्चुअल असिस्टेण्टहरूले इण्टरेक्टिभ रिमोट लर्निंगको काम गर्छन् । जसले अनलाइन कक्षामा विद्यार्थीलाई उत्तम सिकाइ अनुभव दिन्छ ।

इटरेक्टिभ क्विजका लागि; Kahoot !, Quizlet

शिक्षण तथा मूल्याङ्कनको लागि; Google Classroom + AI Plugins

लेखन सुधारका लागि ; Grammarly   

प्रश्न समाधानका लागि; Socratic by Google

पाठ्य सामग्री निर्माण, प्रश्न उत्तर, सिकाइ सहयोगका लागि; ChatGPT or google Zeimini

जस्ता एआईमा आधारित उपयोगी टूलहरू प्रयोग गर्न  सकिन्छ । अब भोलिका दिनमा कस्तो खालको साधन शैली र प्रक्रिया शिक्षण सिकाइमा देखापर्छ भनेर अहिले भन्न सकिने अवस्था छैन किनभने तीव्र परिवर्तन भोग्दै आइरहेका छौं जसले शिक्षण सिकाइको तरिका प्रक्रिया र भूमिकाहरु पुरै परिवर्तन हुँदै जाने निश्चित भएको छ ।

व्यक्तिगत शिक्षणको पूर्ण विकास – एआई र बिग डेटा  विश्लेषणको माध्यमबाट हरेक विद्यार्थीको क्षमता, रुचि र कमजोरी अनुसार सामग्री र अभ्यासहरू स्वचालित रूपमा तयार हुनेछ भने  भर्चुअल र अगेमेण्टेड रियालिटी कक्षा – विद्यार्थीले घरमै बसेर VR/AR उपकरण प्रयोग गरी विज्ञान प्रयोगशाला, ऐतिहासिक स्थल भ्रमण वा गणितीय मोडेलको प्रत्यक्ष अनुभव पाउने छ्न्।

शिक्षक एआई सहकार्य मोडेल 

बहुभाषिक र समावेशी शिक्षण मात्र होइन विद्यार्थीले जुनसुकै समयमा, जुनसुकै स्थानबाट एआई ट्युटर वा अनलाइन स्रोतबाट सिक्न सक्नेछन् । त्यसैले  शिक्षक तालिममा एआई साक्षरता, एआई–मैत्री पाठ्यक्रम विकास, डिजिटल पहुँच वृद्धि, डेटा गोपनीयता, नैतिकताको स्पष्टता  र  सीप–केन्द्रित मूल्याङ्कन अर्थात् समस्या समाधान, सिर्जनशीलता र आलोचनात्मक सोचको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्छ ।

खासगरी  एआई युगमा व्यक्तिगत शिक्षण, तत्काल प्रतिक्रिया, भाषाको अनुवाद, सूचना र ज्ञानको तथ्यगत उपलब्धता  भएपनि शिक्षक विस्थापनको जोखिम, डेटा गोपनीयता समस्या, एआईमा अत्याधिक निर्भरता, नैतिक संकटमा वृद्धि हुने देखिन्छ ।

अहिले प्रश्नहरू तेर्सिएका छन् : एआईले शिक्षकको भावनात्मक भूमिका प्रतिस्थापन गर्न सक्छ कि केवल पूरक रहन्छ ?

विद्यार्थीको आलोचनात्मक सोच विकासमा एआई मित्र हो कि बाधक ? भन्ने प्रश्नहरू पनि उठेका छन् । यी  यस्ता प्रश्नहरूमा हामी थप गम्भीर हुनुपर्ने छ ।

निष्कर्ष

नेपालको शिक्षण सिकाइ यात्रा र विकासक्रम  सिलोटको साधारण युगदेखि एआईको स्मार्ट युगसम्म  व्यापक रूपान्तरण हुदै  आइपुगेको छ । प्रत्येक चरणमा प्रविधिले विधि, माध्यम शैली र पहुँचमा गुणात्मक रूपान्तरण ल्याएको छ ।

अबको शिक्षा प्रणाली सीपमा आधारित, विद्यार्थी केन्द्रित र प्रविधि सहयोगी बन्न्ने  निश्चित छ । शिक्षकको भूमिका भावनात्मक मार्गदर्शन र सिर्जनशील प्रेरकको रूपमा अझै महत्वपूर्ण हुने छ भने एआई तथ्यगत ज्ञान, अभ्यास र व्यक्तिगत सिकाइका प्रमुख स्रोतको रूपमा स्थापित हुनेछ । 

अर्थात् अहिले यी दुई प्रश्नहरू ट्ड्कारो रूपले अगाडि आएका छ्न् – के भविष्यको कक्षामा शिक्षक केवल भावनात्मक प्रशिक्षक र एआई प्रमुख ज्ञानस्रोत हुनेछ ?

के हामी प्रविधिमा अघि बढ्दै गर्दा उच्च स्तरिय सोच, मानवियता, मानवीय मूल्य र सृजनशीलतालाई पनि उत्तिकै सुरक्षित राख्न सक्नेछौं ? 

पाण्डे, सुनपुकुवा मावि उर्लावारी २ मोरङका शिक्षक हुन् । 

प्रतिक्रिया