Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

भूकम्पले भत्काएका चार जिल्लाका विद्यालयको पुननिर्माण हुने

आइतबार, ०५ पुस २०७२
काठमाडौं- शान्ति शिक्षा अभियान नेपालले भूकम्पले क्षतिग्रस्त भएका चार जिल्लाका १३ ओटा सामुदायिक विद्यालयहरूको पुनर्निर्माण गर्ने भएको छ । आइतबार राजधानीमा आयोजित साझेदार विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा अभियानले सो जानकारी गराएको हो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष रवीन्द्र महर्जनले संस्थाले यस विषयमा शिक्षा विभागसँग सम्झौता गरिसकेको जानकारी गराउँदै निकट भविष्यमा नै अन्य सम्बन्धित सरकारी निकायसँग समन्वय गरी कार्यक्रम चाँडै नै सुरु गर्ने बताए । 
 
कार्यक्रममा सहभागी काठमाडौं, ललितपुर, काभ्रे तथा दोलखा जिल्लाका १३ ओटा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरुले आगामी कार्ययोजनाको सम्बन्धमा संस्थाका पदाधिकारी एवम् कर्मचारीसँग प्रश्न राखेका थिए । 
 
पहिलो चरणमा यी विद्यालयका भवनहरुको पुनर्निर्माण सम्पन्न गरिसकेपछि दोस्रो चरणमा विद्यालयका कक्षा कोठा व्यवस्थापन, शिक्षक तालिमजस्ता कार्यहरु गरिइने महर्जनले बताए । 
 
शान्ति शिक्षा अभियान भौतिक पूर्वाधार निर्माण, स्तरोन्नति, शिक्षक तालिम तथा स्वयंसेवक परिचालन गरी सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धि गर्ने कार्यमा लागिरहेको छ । महर्जनका अनुसार पछिल्लो पाँच वर्षमा संस्थाले भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यव्रmम चार जिल्लाका २३ गाविसका २६ विद्यालयमा सम्पन्न गरिसकेको छ । त्यस्तै ललितपुर तथा काठमाडौंमा १६ गाविसका ८६ विद्यालयका २५० प्राथमिक तहका शिक्षक–शिक्षिकालाई बालमैत्री वातावरणमा शिक्षण गर्ने विधिसम्बन्धी तालिमसमेत दिएको छ । संस्थाले ९ विद्यालयमा २५ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वयंसेवक पनि परिचालन गरिसकेको छ । 
 
प्रकाशित मिति २०७२ पुस ५ गते

प्रतिक्रिया