Edukhabar
सोमबार, २९ असार २०८३
विचार / विमर्श

भावनात्मक सिकाइका सामाजिक सन्दर्भ

सिकाइ क्षमता विद्यार्थीसँग हुन्छ । सबै सिकारुलाई उत्कृष्ट समान अंक ल्याउने बनाउँछु भन्ने क्षमता शिक्षकसँग छैन ।

सोमबार, २९ असार २०८३

भावनात्मक सिकाइले शैक्षिक सम्बन्धलाई सामाजिक रुपबाट मजबुत बनाएर शिक्षण प्रक्रियामा सहकार्यत्मक अन्तरसम्बन्धको  विकास गर्छ । शैक्षिक प्रणालीलाई  शान्त, रमणीय, आत्मिक, पारिवारिक तथा जीवन्त वातावरणमा रुपान्तरण गरिन्छ ।  भावनात्मक सामाजिक सिकाइले सकारात्मक अनुशासन, सार्थक संवाद, नतिजामूलक सहकार्य र सुरक्षित शैक्षिक वातावरणको विकास गर्छ ।

विद्यार्थीलाई अधिकारको लागि  सचेतनामूलक कार्यक्रम मार्फत समुदायप्रति आक्रोश थपिरहनु भन्दा पारिवारिक तथा आत्मीय सम्बन्धबाट सामाजिक मूल्य मान्यता, आस्था र विश्वासको भावनात्मक विकास हुनु पर्ने देखिन्छ । यसको लागि   विद्यार्थी लामो विदा वा छोटो विदामा बस्दा  विद्यालय र समाजको भावनात्मक सम्बन्धलाई परियोजना कार्यबाट कसरी जोड्यो ? सामाजिक असल अभ्यासहरु कसरी खोज्यो ? समाजका असल नागरिकको दर्जामा आफूलाई पनि भेट्यो कि भेटेन ? समाजका विकृति र विसङ्गतीसँग रिसायो कि रिसाएन ?  म असल नागरिक यसरी बन्छु भनेर निर्णय लियो कि लिएन  ?  आफ्नै स्व मूल्याङ्कन नगरी सामाजिक कर्ताहरुको मात्र मूल्याङ्कन गर्यो कि ? आफ्नै भूमिका बिर्सिएर समाजिक भूमिका मात्र खोज्यो कि ? महत्वपूर्ण निर्णयहरु भावनात्मक रुपमा गर्यो कि अन्दाजको आधारमा गरिरहेको छ ? यस्ता धेरै आत्मीय प्रश्नले भविष्यका महत्वपूर्ण  मनोवैज्ञानिक उत्तरहरु खोजिरहँदा भावनात्मक सामाजिक सम्बन्ध बलियो हुन्छ  । शैक्षिक कार्यहरू सामाजिक प्रक्रिया भएकाले सिकाइ पनि व्यवहारिक र गुणस्तरीय हुन्छ ।

पूर्वीय दर्शनमा सिकाइ व्यवस्थापन 

पूर्वीय दर्शनमा स्मृति, एकाग्रता र सकारात्मक सोचका विधिहरू आजको समयमा पनि उत्तिकै सान्दर्भिक देखिएका छन् ।   पूर्वीय दर्शनको गहन अध्ययन पश्चात अमेरिकन लेखक विलियम वाकर एटकिन्सनले २० औं शताब्दीको सुरुमा चलेको न्यू थट आन्दोलनको प्रमुख व्यक्ति बने । उनले पूर्वीय  दर्शन र पश्चिमको व्यवहारिक मनोविज्ञान नमिल्दासम्म मानसिक सिकाइको  पूर्ण विकास सम्भव छैन भन्ने धारणा राखेका थिए ।

शिक्षाको सन्दर्भमा धर्म निरपेक्षताको गलत व्याख्या भयो कि ? परम्परागत राजनीतिक लुछाचुडिको दुर्भाग्यमा सनातनी आस्था,  विश्वास,  संस्कृति, सस्कार,  सामाजिक मूल्य मान्यता सबै छिनालिए ।  पश्चिमा देशहरूले ग्रीक र रोमन दर्शनलाई आफ्नो शिक्षाको आधार बनाइ रहँदा  हाम्रा पाठ्यक्रमले पूर्वीय वैदिक, बौद्ध, जैन, किराँत दर्शनलाई  महत्व दिइएन ।

शिक्षकले वर्षभरि विद्यार्थीलाई पाठ्यपुस्तक पढाउने, प्रश्न तयार गर्ने, परीक्षा लिने, परीक्षण गर्ने र परीक्षाफल प्रकाशन गरी सफल र असफल निर्णय गरिने कार्यले असफल विद्यार्थीमात्र भयो वा शैक्षिक प्रणाली अर्थात शिक्षक पनि भए ?  

शिक्षाबाट धर्म, संस्कृति, संस्कार, मूल्य मान्यता, आस्था, विश्वास, परम्परा आदि भावनात्मक सामाजिक सह सम्बन्धहरू  छुट्याइँदै गइन्छ  भने त्यो शिक्षा  समाजको पुँजी कसरी बन्ला ? समाजमा शिक्षा नै ऋणात्मक हुँदा सामाजिक विकास कसरी होला ? आदर्श, दर्शन, आस्था र विश्वासमा नै प्रश्न गरिन्छ भने सामाजमा सकारात्मक व्यवहार कहाँ खोजिएला ? परीक्षाको त्रास देखाएर विद्यालयहरु मानसिक यातनालयमा परिणत हुन्छन् भने सामाजिक तथा शैक्षिक न्याय कहाँ भोटिएला ?  तीन घण्टे परीक्षामा असफल हुँदा व्यवहारिक ज्ञान र सिकाइ अनुभवले काम गर्दैन भने मानसिक न्याय कसले देला ? यस्ता अनुत्तरित धेरै प्रश्नहरु वर्तमान शिक्षा प्रणालीमा देखिए पछि शैक्षिक रुपान्तरणका सामाजिक बहस भावनात्मक सिकाइको लागि बल्ल  चल्न थालेको छ । 

भावनात्मक सामाजिक सिकाइ किन ?

  • खुसी हुँदै विद्यालयमा सिकाइको लागि आएको बालबालिका पढ्न नजानेको निउँमा  पिटिन्छन् । त्यसपछि म स्कुल जाँदै जान्न भनी चिच्याइ चिच्याइ  रोइरहेको बच्चाको भावनात्मक पक्ष नबुझ्दा  जबर्जस्ती विद्यालय पुर्याइन्छ ।  अब त्यो बच्चा विद्यालयमा सिक्छ कि सिकाइबाट सधैँको लागि भाग्छ ? त्यो विद्यार्थीको लागि विद्यालय पाठशाला हुन्छ कि सजायशाला  बन्छ ? त्यसैले नाच्दै, गाउँदै र रमाउँदै सधैँ खुसी भएर बालबालिका विद्यालय आउने आत्मीय वातावरणको लागि पनि भावनात्मक सिकाइ  सामाजिक आवश्यकता बन्छ ।
  • घरमा बालबालिकाको प्रियव्यक्ति बा वा आमा  बिरामी छन् । औषधि खान र पानी पिउन सहारा चाहिएको छ । बिरामी अभिभावकको सेवा गर्न बसेका बालबालिका डिजिटल डिभाइसमा हराइरहेको छ । पानी वा औषधि खान  माग्दा एकछिन है भन्दै घण्टौँ पर्खाउँछ । मैले पानी र औषधि समयमा दिइन भने परिणाम के हुन्छ ? उसले अनुमानै गर्न सक्दैन । सिकाइ भनेको किताब पढ्ने र त्यसको उत्तर लेख्ने मात्र हो त ? शिक्षण भनेको किताब पढाउने र किताबकै अभ्यास गराउने मात्र हो त ? विगतको स्मरण, वर्तमानको विश्लेषण र भविष्यको अनुमान गर्नै नसक्ने शिक्षा समाजको शैक्षिक पुँजी कसरी बन्छ ? वर्तमान शैक्षिक प्रक्रियामा सामाजिक दायित्व त धेरै पर छ बालबालिकाले पारिवारिक दायित्व र कर्तव्य समेत बोध गर्न सकिरहेका छैनन् । बालबालिकालाई अज्ञानताको कुलतबाट बचाउन पनि भावनात्मक सामाजिक सिकाइ आवश्यक छ । किनभने यस्ता सबै कुरा पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश हुन सक्दैन तर सामाजिक विषयवस्तुमा सधैं पाइन्छ ।
  • अधिकारमा आधारित संघसस्थाको सचेतनामूलक कार्यक्रमले बालबालिकालाई सामाजिक न्यायको लागि सामुदायिक आक्रोश र प्रतिशोध जगाइयो । समुदायका लक्षित वर्गलाई अधिकारको नाममा समाजप्रति नै घृणा र अपमान फैलाउने यस्ता कार्यबाट नकारात्मक व्यवहार नियन्त्रण गरी परिवार, समाज, राष्ट्र, राष्ट्रियता र सरकार प्रति शिष्ट, अनुशासित, कर्तव्यनिष्ठ  र समर्पित सक्षम र योग्य मृदुभाषि नागरिकको गुणहरु निरन्तरताको लागि भावनात्मक सामाजिक सिकाइ नै आवश्यक देखिन्छ ।
  • केही बालबालिका उनीहरुको शिक्षाको लागि अभिभवकले गरेको योगदान र त्याग बुझ्दैनन् । पाठ्यपुस्तक भन्दा बाहिरको  समाज, राष्ट्रियता र सरकारको महत्व बुझेका हुँदैनन् । मेला, पर्व, हाट बजार जस्ता सामाजिक रमझममा पुस्तककीय ज्ञान भन्दा प्रत्यक्ष सामाजिक सम्पर्कमा रहेर प्रयोगात्मक शैक्षिक सीपको निरन्तर विकास हुने गरी सिकाइ हासिल गर्ने अवसर विद्यार्थीलाई नभएकोले  पुस्तकको सुगा रटाइमा समाजसँग भावनात्मक सम्बन्ध नै जोडिएन । उनीहरुले आर्जन गरेको शिक्षामा परिवार, समाज, राष्ट्र र सरकारको योगदान बुझ्नै परेन । पुस्तक रटे पुग्यो ।  सामाजिक दायित्व बुझ्न नपाउँदै अध्ययन वा रोजगारीको लागि विदेश पलायन हुन्छन् र स्वदेश फर्कनु भन्दा पनि ग्रिन कार्ड र पिआरको पर्खाइमा उतै बस्छन् । समाजसँग भावनात्मक सम्बन्ध नजोडिँदा उनीहरुलाई स्वदेश फर्कने भावनात्मक साइनो जोडिन सकेन त्यसैले पनि भावनात्मक सामाजिक सिकाइ आवश्यक देखिन्छ । 
  • वर्तमान एकलपथीय पाठ्यक्रम र परीक्षा प्रणालीका शैक्षिक क्षतिलाई रोकेर एकीकृत पाठ्यक्रम र स्टिम शिक्षा मार्फत समग्रताबाट सिकाइको सक्षमता हासिल गर्न भावनात्मक सामाजिक सिकाइ आवश्यक छ ।
  • परीक्षामा विद्यार्थीले ऐकिक नियमको प्रश्नको उत्तर दिन सकेन तर त्यही प्रश्नसँग सम्बन्धित  कार्य  एक जनालाई धान काटन १० दिन लाग्ने काम उसले १० जना साथी बोलाएर एकैदिनमा गर्यो । विद्यार्थी प्रयोगात्मक रुपमा पास भए पनि सैद्धान्तिक परीक्षामा ऊ असफल भयो । यस्तो समस्या सबै विषयमा छ । त्यसैले सैद्धान्तिक र प्रयोगात्मक सिकाइलाई एकीकृत गरी जीवनपर्यन्त सिकाइको लागि पनि भावनात्मक सामाजिक सिकाइ आवश्यक छ ।

सामाजिक सिकाइका भावनात्मक पक्ष

कक्षा एउटै, पढाउने शिक्षक एउटै, पाठ्यक्रम एउटै, पढ्ने र पढाउने पुस्तक एउटै,  सबै विद्यार्थीको लागि प्रश्नपत्र एउटै  हुँदाहुँदै पनि किन फरक फरक क्षमता भएका विद्यार्थी उत्पादन भइरहे ? एउटै शिक्षकले कक्षामा पढाएका विद्यार्थी पनि किन उच्च, मध्यम र निम्न क्षमताका हुन्छन् ?  शिक्षकले मात्र चाहेर सबै विद्यार्थीलाई उच्च क्षमतायुक्त बनाउन सकिन्छ त ?  सिकाइमा दक्षता हासिल गर्ने क्षमता शिक्षकसँग कि विद्यार्थीसँग छ ?  शिक्षकले समान तरिकाबाट पढाएका विद्यार्थी सबै सफल हुनु पर्ने हो तर  किन असफल पनि हुन्छन्  ? एकै प्रकारका उच्च क्षमता भएका विद्यार्थी किन उत्पादन गर्न सकिएन ?   सिकाइलाई सामाजिक संस्कारमा आधारित भएर समस्याको दिर्घकालीन समाधान हुने गरी जीवनपर्यन्त सिपमा रुपान्तरण गर्न सकिन्न र ? सामाजिक आवश्यकतामा आधारित भावनात्मक शिक्षा बनाउनै नसकिने हो त ? विद्वान र विचौलियाको फरक कहिलेसम्म नखोज्ने ? यस्ता धेरै शैक्षिक सवाल तथा समसामयिक मुद्धाहरु शैक्षिक जगतमा चलिरहँदा शिक्षा सबैको हो र सबैलाई सँधै चाहिन्छ भन्नै नसकिएको हो त ?  सिकाइलाई समग्रमा बुझ्न बालबालिकाहरु पूर्ण सिकाइको लागि तल उल्लेख गरिए अनुसारको सामाजिक पक्षसँग भावनात्मक रुपमा सहकार्यात्मक सम्बन्ध हुनु पर्छ । 

learning_01

पूर्ण सिकाइका लागि भावनात्मक सहकार्य बुझ्न सघाउने एआई निर्मित चित्र

शिक्षक : शिक्षण सहजीकरणको क्रममा शिक्षकले शिक्षण योजना, पूर्वानुमान, प्रस्तुतीकरण, प्रतिवम्बन  र आवश्यकता अनुसार सुधार गरी निरन्तरता दिने कार्य गरिन्छ ।

विद्यार्थी : विद्यार्थीले परियोजना कार्यमार्फत विद्यालय र समुदायको भावनात्मक सम्बन्ध जोड्छन् । 

विद्यालय : उन्नत समाज भए विद्यालयको शिक्षण कार्य पनि उन्नत हुन्छ । विद्यालयलाई सामाजिक तथा भावनात्मक शैक्षिक वातावरणको लागि प्रयोगशालाको रुपमा उपयोग गरिन्छ ।   

घर र अभिभावक : बालबालिकाको लागि घर परिवार पहिलो पाठशाला हो र आत्मीय सम्बन्धको विकास त्यहीँबाट सुरु हुन्छ । अभिभावकको पेशा, शिक्षा तथा पारिवारिक आत्मीय सह सम्बन्ध जस्ता व्यवहारिक ज्ञानले बालबालिकाको भावनात्मक संवेगको विकासमा  महत्वपूर्ण भूमिका खेलेको हुन्छ । 

समुदाय :  समुदाय जीवनपर्यन्त सिकाइको लागि जीवन्त प्रयोगशाला हो । 

शिक्षक, विद्यार्थी, विद्यालय, अभिभवक र समुदाय  समग्रमा शैक्षिक सहजकर्ता हुन् र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण तयार गर्छन् । सिकाइमा शिक्षक एउटा स्रोत हो । शिक्षक,  पाठ्यक्रम, पाठ्यपुस्तक, परिवार, अभिभावक, समाज, इण्टरनेट, एआई  इत्यादि धेरै स्रोतहरु विद्यार्थीले उपयोग गर्न सके मात्र सिकाइमा सक्षमता हासिल हुन्छ । सिकाइ क्षमता विद्यार्थीसँग हुन्छ । सबै सिकारुलाई उत्कृष्ट समान अंक ल्याउने बनाउँछु भन्ने क्षमता शिक्षकसँग छैन ।  विद्यार्थीसँग आफू उत्कृष्ट बन्न सक्ने आन्तरिक र बाह्य क्षमता छ ।

भावनात्मक सामाजिक सिकाइको प्रक्रिया

भावनात्मक सामाजिक सिकाइ सक्रिय प्रक्रियाबाट हुन्छ । पाठ्यक्रमका सम्पुर्ण विषय वस्तुको स्रोत समाज हो । सिकाइको सक्षमताको परीक्षण समाजमा नै गरिन्छ । शिक्षा गुणस्तरीय छ कि छैन समाजले नै निक्र्योल गर्छ । शिक्षा सिपमूलक  वा बजारको आवश्यकता अनुसार छ छैन समाजमै दाँजिन्छ । शिक्षालाई वैज्ञानिक र प्राविधिक बनाउने कार्य पनि समाज कै काम हो । त्यसैले शिक्षा समाजको प्रमुख अङ्ग भएकाले सिकाइमा भावनात्मक समाजिक सम्बन्ध हुनु पर्छ । यसको लागि निम्न अनुसार भावनात्मक सामाजिक सिकाइको चक्रिय प्रक्रिया अपनाउँदा सिकाइ व्यवहारिक, सिपमूलक र वैज्ञानिक हुन्छ । 

learning_02

भावनात्मक सामाजिक सिकाइको चक्रिय प्रक्रिया बुझाउने एआई निर्मित त्रिच

योजना : उद्देश्य अनुसार परियोजनात्मक, प्रयोगात्मक, सिर्जनात्मक तथा रचनात्मक शैक्षणिक योजनाहरु समाजपरक शैक्षिक सहभागितामा आधारित भएर तयार गर्ने 

पूर्वानुमान : एकीकृत विषयवस्तुको क्षेत्र र क्रम अनुसार  विगतको अनुभव र वर्तमानका व्याख्यात्मक विश्लेषणको आधारमा प्रयोगात्मक रुपबाट भविष्यपरक पूर्वानुमान गर्ने 

प्रस्तुतीकरण : एकीकृत विषयमा आधारित रहेर प्रयोगतत्मक पक्षको समाजपरक विश्लेषण गर्ने

प्रतिविम्वन  : सहपाठी प्रतिक्रियाको आधारमा प्रस्तुतिको व्याख्या, विश्लेषण र निष्कर्ष निकाल्ने 

सुधार : तथ्यमा आधारित सुझावको आधारमा अर्को योजनाको तयारी गर्ने 

निष्कर्ष

वर्तमान पाठ्यक्रम आवश्यकतामा आधारित कि अधिकारमा आधारित ?  सक्षमतामा कि अवसरमा आधारित ?  सैद्धान्तिक कि परियोजनात्मक  ? कति एकीकृत कति एकलपथीय ? पाठ्यक्रम नै सामाजिक विषय भए कसरी एकलपथीय ? परम्परागत आवधिक परीक्षा केन्द्रित वर्तमान एकलपथीय पाठ्यक्रमले सामाजिक आवश्यकता पुरा गर्ने देखिदैन । पाठ्यपुस्तकको एकलपथीय ज्ञान आवधिक परिक्षामा आधारित र आवधिक स्तरीकृत परीक्षाहरु पाठ्यपुस्तक अनुसारको विशिष्टीकरण तालिकामा आधारित छ ।  शैक्षिक प्रक्रिमा पाठ्यक्रमले पाठ्यपुस्तकको र परीक्षाले विद्यार्थीको छनोट गरिरहँदा  सिकाइको सामाजिक मूल्याङ्कन कहिल्यै भएन र सामाजिक मुल्य कतै खोजिएन ।

पाठ्यक्रम प्रारुप २०७६ ले सक्षमतामा आधारित पाठ्यक्रम भनिए पनि विषयवस्तुको क्षेत्र र क्रम सिमित गरेर आवधिक परीक्षासँग सिकाइ उपलव्धि जोडियो तर बृहत र एकीकृत सामाजिक सह सम्बन्ध जोडिएन । वर्तमान शिक्षण प्रक्रिया, परीक्षा तथा मूल्याङ्कन प्रणालीमा  कतै पनि सामाजिक  सहकार्य भएको पाइदैन ।  शिक्षकले वर्षभरि विद्यार्थीलाई पाठ्यपुस्तक पढाउने, प्रश्न तयार गर्ने, परीक्षा लिने, परीक्षण गर्ने र परीक्षाफल प्रकाशन गरी सफल र असफल निर्णय गरिने कार्यले असफल विद्यार्थीमात्र भयो वा शैक्षिक प्रणाली अर्थात शिक्षक पनि भए ?  शिक्षा र समाजमा भावनात्मक सम्बन्ध नजोडिँदा वर्तमान शिक्षा समाजिक दायित्वबाट समेत टाढिँदै छ । यसको लागि परम्परागत पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधार गर्नु पर्छ ।  शिक्षालाई सामाजिक आवश्यकताको लागि एकीकृत पाठ्यक्रममा आधारित  स्टिम  विषयलाई व्यवस्थित गरेर भावनात्मक सामाजिक सम्बन्धबाट शिक्षालाई वैज्ञानिक तथा प्रतिष्पर्धी बनाउन सकिन्छ । 

कोइराला, जनज्योती माध्यमिक विद्यालय खुर्कोट सिन्धुलीका माध्यमिक तहका शिक्षक हुन्, उनी नेपाल शिक्षक महासंघ गोलञ्जोर गाउँपालिका समितिका अध्यक्ष पनि हुन् । 

प्रतिक्रिया