भावनात्मक सिकाइले शैक्षिक सम्बन्धलाई सामाजिक रुपबाट मजबुत बनाएर शिक्षण प्रक्रियामा सहकार्यत्मक अन्तरसम्बन्धको विकास गर्छ । शैक्षिक प्रणालीलाई शान्त, रमणीय, आत्मिक, पारिवारिक तथा जीवन्त वातावरणमा रुपान्तरण गरिन्छ । भावनात्मक सामाजिक सिकाइले सकारात्मक अनुशासन, सार्थक संवाद, नतिजामूलक सहकार्य र सुरक्षित शैक्षिक वातावरणको विकास गर्छ ।
विद्यार्थीलाई अधिकारको लागि सचेतनामूलक कार्यक्रम मार्फत समुदायप्रति आक्रोश थपिरहनु भन्दा पारिवारिक तथा आत्मीय सम्बन्धबाट सामाजिक मूल्य मान्यता, आस्था र विश्वासको भावनात्मक विकास हुनु पर्ने देखिन्छ । यसको लागि विद्यार्थी लामो विदा वा छोटो विदामा बस्दा विद्यालय र समाजको भावनात्मक सम्बन्धलाई परियोजना कार्यबाट कसरी जोड्यो ? सामाजिक असल अभ्यासहरु कसरी खोज्यो ? समाजका असल नागरिकको दर्जामा आफूलाई पनि भेट्यो कि भेटेन ? समाजका विकृति र विसङ्गतीसँग रिसायो कि रिसाएन ? म असल नागरिक यसरी बन्छु भनेर निर्णय लियो कि लिएन ? आफ्नै स्व मूल्याङ्कन नगरी सामाजिक कर्ताहरुको मात्र मूल्याङ्कन गर्यो कि ? आफ्नै भूमिका बिर्सिएर समाजिक भूमिका मात्र खोज्यो कि ? महत्वपूर्ण निर्णयहरु भावनात्मक रुपमा गर्यो कि अन्दाजको आधारमा गरिरहेको छ ? यस्ता धेरै आत्मीय प्रश्नले भविष्यका महत्वपूर्ण मनोवैज्ञानिक उत्तरहरु खोजिरहँदा भावनात्मक सामाजिक सम्बन्ध बलियो हुन्छ । शैक्षिक कार्यहरू सामाजिक प्रक्रिया भएकाले सिकाइ पनि व्यवहारिक र गुणस्तरीय हुन्छ ।
पूर्वीय दर्शनमा सिकाइ व्यवस्थापन
पूर्वीय दर्शनमा स्मृति, एकाग्रता र सकारात्मक सोचका विधिहरू आजको समयमा पनि उत्तिकै सान्दर्भिक देखिएका छन् । पूर्वीय दर्शनको गहन अध्ययन पश्चात अमेरिकन लेखक विलियम वाकर एटकिन्सनले २० औं शताब्दीको सुरुमा चलेको न्यू थट आन्दोलनको प्रमुख व्यक्ति बने । उनले पूर्वीय दर्शन र पश्चिमको व्यवहारिक मनोविज्ञान नमिल्दासम्म मानसिक सिकाइको पूर्ण विकास सम्भव छैन भन्ने धारणा राखेका थिए ।
शिक्षाको सन्दर्भमा धर्म निरपेक्षताको गलत व्याख्या भयो कि ? परम्परागत राजनीतिक लुछाचुडिको दुर्भाग्यमा सनातनी आस्था, विश्वास, संस्कृति, सस्कार, सामाजिक मूल्य मान्यता सबै छिनालिए । पश्चिमा देशहरूले ग्रीक र रोमन दर्शनलाई आफ्नो शिक्षाको आधार बनाइ रहँदा हाम्रा पाठ्यक्रमले पूर्वीय वैदिक, बौद्ध, जैन, किराँत दर्शनलाई महत्व दिइएन ।
शिक्षकले वर्षभरि विद्यार्थीलाई पाठ्यपुस्तक पढाउने, प्रश्न तयार गर्ने, परीक्षा लिने, परीक्षण गर्ने र परीक्षाफल प्रकाशन गरी सफल र असफल निर्णय गरिने कार्यले असफल विद्यार्थीमात्र भयो वा शैक्षिक प्रणाली अर्थात शिक्षक पनि भए ?
शिक्षाबाट धर्म, संस्कृति, संस्कार, मूल्य मान्यता, आस्था, विश्वास, परम्परा आदि भावनात्मक सामाजिक सह सम्बन्धहरू छुट्याइँदै गइन्छ भने त्यो शिक्षा समाजको पुँजी कसरी बन्ला ? समाजमा शिक्षा नै ऋणात्मक हुँदा सामाजिक विकास कसरी होला ? आदर्श, दर्शन, आस्था र विश्वासमा नै प्रश्न गरिन्छ भने सामाजमा सकारात्मक व्यवहार कहाँ खोजिएला ? परीक्षाको त्रास देखाएर विद्यालयहरु मानसिक यातनालयमा परिणत हुन्छन् भने सामाजिक तथा शैक्षिक न्याय कहाँ भोटिएला ? तीन घण्टे परीक्षामा असफल हुँदा व्यवहारिक ज्ञान र सिकाइ अनुभवले काम गर्दैन भने मानसिक न्याय कसले देला ? यस्ता अनुत्तरित धेरै प्रश्नहरु वर्तमान शिक्षा प्रणालीमा देखिए पछि शैक्षिक रुपान्तरणका सामाजिक बहस भावनात्मक सिकाइको लागि बल्ल चल्न थालेको छ ।
भावनात्मक सामाजिक सिकाइ किन ?
सामाजिक सिकाइका भावनात्मक पक्ष
कक्षा एउटै, पढाउने शिक्षक एउटै, पाठ्यक्रम एउटै, पढ्ने र पढाउने पुस्तक एउटै, सबै विद्यार्थीको लागि प्रश्नपत्र एउटै हुँदाहुँदै पनि किन फरक फरक क्षमता भएका विद्यार्थी उत्पादन भइरहे ? एउटै शिक्षकले कक्षामा पढाएका विद्यार्थी पनि किन उच्च, मध्यम र निम्न क्षमताका हुन्छन् ? शिक्षकले मात्र चाहेर सबै विद्यार्थीलाई उच्च क्षमतायुक्त बनाउन सकिन्छ त ? सिकाइमा दक्षता हासिल गर्ने क्षमता शिक्षकसँग कि विद्यार्थीसँग छ ? शिक्षकले समान तरिकाबाट पढाएका विद्यार्थी सबै सफल हुनु पर्ने हो तर किन असफल पनि हुन्छन् ? एकै प्रकारका उच्च क्षमता भएका विद्यार्थी किन उत्पादन गर्न सकिएन ? सिकाइलाई सामाजिक संस्कारमा आधारित भएर समस्याको दिर्घकालीन समाधान हुने गरी जीवनपर्यन्त सिपमा रुपान्तरण गर्न सकिन्न र ? सामाजिक आवश्यकतामा आधारित भावनात्मक शिक्षा बनाउनै नसकिने हो त ? विद्वान र विचौलियाको फरक कहिलेसम्म नखोज्ने ? यस्ता धेरै शैक्षिक सवाल तथा समसामयिक मुद्धाहरु शैक्षिक जगतमा चलिरहँदा शिक्षा सबैको हो र सबैलाई सँधै चाहिन्छ भन्नै नसकिएको हो त ? सिकाइलाई समग्रमा बुझ्न बालबालिकाहरु पूर्ण सिकाइको लागि तल उल्लेख गरिए अनुसारको सामाजिक पक्षसँग भावनात्मक रुपमा सहकार्यात्मक सम्बन्ध हुनु पर्छ ।

पूर्ण सिकाइका लागि भावनात्मक सहकार्य बुझ्न सघाउने एआई निर्मित चित्र
शिक्षक : शिक्षण सहजीकरणको क्रममा शिक्षकले शिक्षण योजना, पूर्वानुमान, प्रस्तुतीकरण, प्रतिवम्बन र आवश्यकता अनुसार सुधार गरी निरन्तरता दिने कार्य गरिन्छ ।
विद्यार्थी : विद्यार्थीले परियोजना कार्यमार्फत विद्यालय र समुदायको भावनात्मक सम्बन्ध जोड्छन् ।
विद्यालय : उन्नत समाज भए विद्यालयको शिक्षण कार्य पनि उन्नत हुन्छ । विद्यालयलाई सामाजिक तथा भावनात्मक शैक्षिक वातावरणको लागि प्रयोगशालाको रुपमा उपयोग गरिन्छ ।
घर र अभिभावक : बालबालिकाको लागि घर परिवार पहिलो पाठशाला हो र आत्मीय सम्बन्धको विकास त्यहीँबाट सुरु हुन्छ । अभिभावकको पेशा, शिक्षा तथा पारिवारिक आत्मीय सह सम्बन्ध जस्ता व्यवहारिक ज्ञानले बालबालिकाको भावनात्मक संवेगको विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
समुदाय : समुदाय जीवनपर्यन्त सिकाइको लागि जीवन्त प्रयोगशाला हो ।
शिक्षक, विद्यार्थी, विद्यालय, अभिभवक र समुदाय समग्रमा शैक्षिक सहजकर्ता हुन् र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण तयार गर्छन् । सिकाइमा शिक्षक एउटा स्रोत हो । शिक्षक, पाठ्यक्रम, पाठ्यपुस्तक, परिवार, अभिभावक, समाज, इण्टरनेट, एआई इत्यादि धेरै स्रोतहरु विद्यार्थीले उपयोग गर्न सके मात्र सिकाइमा सक्षमता हासिल हुन्छ । सिकाइ क्षमता विद्यार्थीसँग हुन्छ । सबै सिकारुलाई उत्कृष्ट समान अंक ल्याउने बनाउँछु भन्ने क्षमता शिक्षकसँग छैन । विद्यार्थीसँग आफू उत्कृष्ट बन्न सक्ने आन्तरिक र बाह्य क्षमता छ ।
भावनात्मक सामाजिक सिकाइको प्रक्रिया
भावनात्मक सामाजिक सिकाइ सक्रिय प्रक्रियाबाट हुन्छ । पाठ्यक्रमका सम्पुर्ण विषय वस्तुको स्रोत समाज हो । सिकाइको सक्षमताको परीक्षण समाजमा नै गरिन्छ । शिक्षा गुणस्तरीय छ कि छैन समाजले नै निक्र्योल गर्छ । शिक्षा सिपमूलक वा बजारको आवश्यकता अनुसार छ छैन समाजमै दाँजिन्छ । शिक्षालाई वैज्ञानिक र प्राविधिक बनाउने कार्य पनि समाज कै काम हो । त्यसैले शिक्षा समाजको प्रमुख अङ्ग भएकाले सिकाइमा भावनात्मक समाजिक सम्बन्ध हुनु पर्छ । यसको लागि निम्न अनुसार भावनात्मक सामाजिक सिकाइको चक्रिय प्रक्रिया अपनाउँदा सिकाइ व्यवहारिक, सिपमूलक र वैज्ञानिक हुन्छ ।

भावनात्मक सामाजिक सिकाइको चक्रिय प्रक्रिया बुझाउने एआई निर्मित त्रिच
योजना : उद्देश्य अनुसार परियोजनात्मक, प्रयोगात्मक, सिर्जनात्मक तथा रचनात्मक शैक्षणिक योजनाहरु समाजपरक शैक्षिक सहभागितामा आधारित भएर तयार गर्ने
पूर्वानुमान : एकीकृत विषयवस्तुको क्षेत्र र क्रम अनुसार विगतको अनुभव र वर्तमानका व्याख्यात्मक विश्लेषणको आधारमा प्रयोगात्मक रुपबाट भविष्यपरक पूर्वानुमान गर्ने
प्रस्तुतीकरण : एकीकृत विषयमा आधारित रहेर प्रयोगतत्मक पक्षको समाजपरक विश्लेषण गर्ने
प्रतिविम्वन : सहपाठी प्रतिक्रियाको आधारमा प्रस्तुतिको व्याख्या, विश्लेषण र निष्कर्ष निकाल्ने
सुधार : तथ्यमा आधारित सुझावको आधारमा अर्को योजनाको तयारी गर्ने
निष्कर्ष
वर्तमान पाठ्यक्रम आवश्यकतामा आधारित कि अधिकारमा आधारित ? सक्षमतामा कि अवसरमा आधारित ? सैद्धान्तिक कि परियोजनात्मक ? कति एकीकृत कति एकलपथीय ? पाठ्यक्रम नै सामाजिक विषय भए कसरी एकलपथीय ? परम्परागत आवधिक परीक्षा केन्द्रित वर्तमान एकलपथीय पाठ्यक्रमले सामाजिक आवश्यकता पुरा गर्ने देखिदैन । पाठ्यपुस्तकको एकलपथीय ज्ञान आवधिक परिक्षामा आधारित र आवधिक स्तरीकृत परीक्षाहरु पाठ्यपुस्तक अनुसारको विशिष्टीकरण तालिकामा आधारित छ । शैक्षिक प्रक्रिमा पाठ्यक्रमले पाठ्यपुस्तकको र परीक्षाले विद्यार्थीको छनोट गरिरहँदा सिकाइको सामाजिक मूल्याङ्कन कहिल्यै भएन र सामाजिक मुल्य कतै खोजिएन ।
पाठ्यक्रम प्रारुप २०७६ ले सक्षमतामा आधारित पाठ्यक्रम भनिए पनि विषयवस्तुको क्षेत्र र क्रम सिमित गरेर आवधिक परीक्षासँग सिकाइ उपलव्धि जोडियो तर बृहत र एकीकृत सामाजिक सह सम्बन्ध जोडिएन । वर्तमान शिक्षण प्रक्रिया, परीक्षा तथा मूल्याङ्कन प्रणालीमा कतै पनि सामाजिक सहकार्य भएको पाइदैन । शिक्षकले वर्षभरि विद्यार्थीलाई पाठ्यपुस्तक पढाउने, प्रश्न तयार गर्ने, परीक्षा लिने, परीक्षण गर्ने र परीक्षाफल प्रकाशन गरी सफल र असफल निर्णय गरिने कार्यले असफल विद्यार्थीमात्र भयो वा शैक्षिक प्रणाली अर्थात शिक्षक पनि भए ? शिक्षा र समाजमा भावनात्मक सम्बन्ध नजोडिँदा वर्तमान शिक्षा समाजिक दायित्वबाट समेत टाढिँदै छ । यसको लागि परम्परागत पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधार गर्नु पर्छ । शिक्षालाई सामाजिक आवश्यकताको लागि एकीकृत पाठ्यक्रममा आधारित स्टिम विषयलाई व्यवस्थित गरेर भावनात्मक सामाजिक सम्बन्धबाट शिक्षालाई वैज्ञानिक तथा प्रतिष्पर्धी बनाउन सकिन्छ ।
कोइराला, जनज्योती माध्यमिक विद्यालय खुर्कोट सिन्धुलीका माध्यमिक तहका शिक्षक हुन्, उनी नेपाल शिक्षक महासंघ गोलञ्जोर गाउँपालिका समितिका अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया