Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

शिक्षक धर्नामा

सोमबार, १३ पुस २०७२

काठमाडौं - प्राथमिक तहमा जिल्लान्तर सरुवा र राहत दरबन्दीमा नियुक्तिको लागि अनुमति दिएको विरोध गर्दै लियन शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय काठमाडौंमा धर्ना दिएका छन् । ज्येष्ठताका आधारमा लियन पदमा कार्यरत शिक्षकहरुलाई व्यवस्थापन गर्नु भनी गत साउन २१ गते शिक्षा मन्त्रालयले गरेको मन्त्रीस्तरीय निर्णयलाई कार्यालयले वेवास्था गरेको भन्दै उनीहरुले धनाए दिएका हुन् ।

मन्त्रालयको निर्देशन पछि शिक्षा विभागले साउन २४ गत तल्लो पद लियन राखी माथिल्लो दरबन्दीमा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरुलाई आ–आफ्नो पदमा फिर्ता हुँदा लामो समयदेखि लियन पदमा कार्यरत शिक्षकहरु विस्थापित हुनुपर्ने अवस्थामा ती शिक्षकहरुलाई ज्येष्ठताको आधारमा समान तहमा सबै प्रकारका रिक्त, अस्थायी र राहत–अनुदान कोटा समेतमा जिल्ला तहको कार्यविधि तयार गरी जिल्ला शिक्षा समितिको निर्णयअनुसार व्यवस्थापन गर्न निर्देशन दिए पनि उक्त निर्देशनको वेपास्था गरेको उनीहरुको आरोप छ ।

मन्त्रीस्तरीय तथा विभागको निर्देशनको समेत अवहेलना गर्दै भएको सरुवा र राहत दरबन्दीमा नियुक्तिको लागि दिएको अनुमति बदर गरी अनुमति समेत खारेज गर्नु पर्ने उनीहरुको माग छ ।

'मन्त्रालयले गरेको निर्णय जिल्ला शिक्षा कार्यालयले नमानेर विधिको शासनको खिल्ली मात्र उडाएको छैन हामी शिक्षकको पेशागत अधिकार पनि कुण्ठित गरेको छ' धर्ना पछि लियन शिक्षक संघर्ष समितिकी ज्योति महर्जनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

लियन शिक्षकलाई व्यवस्थापन नगरी भएका रिक्त पदमा आफ्ना नजिकका व्यक्तिहरुलाई जिल्लान्तर सरुवा र राहत दरबन्दीमा पदस्थापना गरिरहेको उनीहरुको आरोप छ ।

कार्यविधि बनाइ व्यवस्थापन गर्नु भनी मन्त्रालयले गरेको पत्राचार पछि दर्जनौं शिक्षक जिल्लान्तर सरुवा गरी काठमाडौं जिल्ला शिक्षा कार्यालयबाट पदस्थापना पाएका उनीहरुको दावी छ ।

यो अनियमितता बारेमा जिशिअ शंकर बहादुर गौतमसँग कुराकानी गर्न खोज्दा विभिन्न बाहाना बनाएर भेट नदिएको उनीहरुको आरोप छ ।

आनन्द भैरब मा.वि. मूलपानीमा मकवानपुर जिल्लाबाट, प्रभात मा.वि. थानकोटमा रुपन्देही जिल्लाबाट, बालविकास प्रा.वि. बालाजूमा नुवाकोटबाट र तेज विनायक मा.वि. गोठाटारमा राहत दरबन्दीमा शिक्षक नियुक्त गरिएको उनीहरुको दावी छ ।

प्रकाशित मिति २०७२ पुस १३ गते  

प्रतिक्रिया