Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

शिक्षा दिने नाममा बालबालिका बन्धक

मंगलबार, १४ पुस २०७२

काठमाडौं - संसद्को महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जू झाले विभिन्न प्रलोभनमा पारेर बालबालिकालाई बन्धक बनाउने काम भइरहेको बताउँदै यस्ता क्रियाकलाप रोक्न सरकारको ध्यानाकर्षण गराएकी छन् । शिक्षा दिने नाममा परिवारबाट छुटाई उनीहरुलाई बन्धक बनाउने क्रम बढेको उनको भनाई छ ।

नेपालमा बाल अधिकार आन्दोलनका क्षेत्रमा भएका उपलब्धिहरूलाई समेटेर प्रकाशित ‘नेपालमा बालअधिकार’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । नयाँ संविधानमा बालअधिकारको उत्कृष्ट व्यवस्था भएपनि कार्यान्वयन गर्न यथासक्य छिटो राज्यले बालमैत्री कानुन बनाउनुपर्ने उनले बताईन् ।

पुस्तक विमोचन गर्दै उपप्रधानमन्त्री एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले राज्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था मिलेर बालअधिकारका लागि काम गर्नुपर्ने बताए ।

गत बैशाखको भूकम्प र त्यस पछि तराईमा भएको आन्दोलनबाट बालबालिकाको आधारभूत अधिकार हनन् भएको उनले बताए ।

बालअधिकारका क्षेत्रमा सक्रिय संस्था सिविसले प्रकाशन गरेको पुस्तकमा ४५ जना अधिकारकर्मी तथा सरोकारवालाहरूले विगत २५ वर्षमा नेपालमा बालअधिकारका क्षेत्रमा भएका प्रगति, भोगेका चुनौती, तथा अबको कदमबारे चर्चा गरेका छन् ।

बालअधिकारका क्षेत्रमा भएका विभिन्न क्रियाकलापहरूको अध्ययन गरी पुस्तक तयार गरिएको सम्पादक ज्योतिलाल वनले बताए ।

कार्यक्रमममा अधिकारकर्मीहरू गौरी प्रधान, कृष्ण सुवेदी, विजय सैंजू, कुमार भट्टराई, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, प्रहरी नायब महानिरीक्षक मिङ्मार लामा लगायतले बालअधिकारका क्षेत्रमा भएका उपलब्धि र चुनौतीहरूबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति २०७२ पुस १४ गते

फोटो : रमेश भण्डारीको फेसबुकबाट

प्रतिक्रिया