Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

निजी विद्यालयको शुल्क र विद्यार्थी संगठनको 'वार्गेनिङ' !

मंगलबार, ०८ बैशाख २०७२

काठमाडौं ८ वैशाख / नयाँ शैक्षिक सत्र संगै निजी विद्यालयले लिने शुल्कको बारेमा फेरी बहस शुरु भएको छ । मुद्धा अभिभावक र विद्यार्थी केन्द्रित हो, बहसको सतहमा भने शुल्कको बुई चढेर दुई पक्ष सतहमा देखिन्छन् – विद्यार्थी संगठनहरु र विद्यालय सञ्चालकहरु । सतहमा देखिएको बहसको अन्त्य लेनदेनमा पुगेर सकिन्छ भन्ने चर्चा सुनिदैं आएको लामै भयो ।

विद्यार्थी संगठन मार्फत राज्य संयन्त्रको केन्द्र सम्म पुग्ने अभिलाषाले विद्यालय सञ्चालकहरु उनीहरुलाई पोस्न राजी हुन्छन् भने विद्यार्थी संगठनहरु लेनदेनमा कुरा मिल्यो भने सजिलै छेउ लाग्छन् । अर्थात् विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुसंग वार्गेनिङ् गर्न शुल्कको निउँ झिकेर आन्दोलन गर्ने आरोप लाग्दै आएको छ ।

यदी उक्त आरोप सत्य हो भने निजी विद्यालय सञ्चालकहरुले आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर संगठनलाई त पक्कै दिदैंनन् ! विद्यार्थी संगठनलाई पोस्ने रकम विद्यार्थीको नाममा घर घर पुग्छ र अभिभावकले तिर्छन् । अर्थात् विद्यालयमा बढेको शुल्कको मार खेप्न अभिभावक बाध्य छ ।

उक्त तथ्यले के प्रष्ट पार्छ भने, विद्यालयको खर्चलाई के के कुराले असर गर्दो रहेछ भन्ने कुरा सार्वजनिक गर्न आवश्यक छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन आवद्ध एक विद्यालयका सञ्चालकले कहिले अधिबेशनका नाममा त कहिले विभिन्न कार्यक्रममा नाममा चन्दा दिदाँ दिदाँ हैरान भएको बताए । कुन कुन संगठनलाई कति रकम बुझाएको छ भन्ने बारेमा भने उनले बताउन चाहेनन् । ‘दिएको चन्दा र सहयोग सार्वजनिक गरेपछि फेरी अर्को झमेला आई पर्यो भने के गर्नु ?’ उनले प्रश्न गर्दै भने, ‘बरु यसो कहिले काहिँ चित्त बुझाईदिन सहयोग गर्यो आनन्दै !’

विद्यालय सञ्चालक र विद्यार्थी संगठनविच चन्दा र लेनदेनको कुरा निकै लामो समय देखि चल्दै आएको विषय हो । तर कुनै पनि विद्यालयले यति चन्दा दिएँ भनेर सार्वजनिक गर्न सकेको छैन ।

यदि विद्यालय सञ्चालकहरुले विद्यार्थी संगठनलाई हप्ता तिर्नु पर्ने नै हो भने त्यो कुरा तत्काल सार्वजनिक गर्नु पर्ने अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् । ‘विद्यालयको कस्ट के के शिर्षकका कारण बढ्दो रहेछ भन्ने कुराको बहस सार्वजनिक रुपमा हुनु पर्छ’ उनले भने, ‘यदी साँच्चै चन्दाकै कारण शुल्क बढाउनु पर्ने भएको हो भने विद्यार्थी संगठनबाट पनि स्वेतपत्र जारी गरिनु पर्छ ।’

साँच्चै भनिए जस्तै शुल्कको निउँमा विद्यार्थी संगठनले गरेको आन्दोलनमा शिक्षाको गुणस्तर र पठनपाठनको मुद्धा कता गयो ? 

निजी विद्यालयहरुसंग चन्दा लिएको पुष्टि गरे जस्तो सुकै कारवाहि भोग्न तयार रहेको विद्यार्थी संगठनका नेताहरुले घोषणा गरेका छन् । विभिन्न खाले चन्दा र सहयोगका नाममा आफूहरुले ठूलो रकम बुझाउनु पर्ने विद्यालय सञ्चालकहरुले बताउँदै आएको बेला विद्यार्थी संगठनका नेताहरुले यस्तो घोषणा गरेका हुन् ।

एडुखबर संग कुरा गर्दै विभिन्न विद्यार्थी संगठनका नेताहरुले निजी विद्यालयहरुबाट आफूहरुले चन्दा लिएको भए सार्वजनिक गर्न चुनौति समेत दिएका छन् । 

शुल्क लगायत सञ्चालनको विधि तय गर्न यस अघिनै भएका सहमती तथा नियमहरु पालना गर्दा कमाउ धन्दा बन्द हुने डरले निजी विद्यालय सञ्चालकहरु कुरालाई अन्तै मोड्ने प्रयास गरिरहेको उनीहरुको आरोप छ ।

नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले विद्यार्थी संगठनलाई दोष थोपरेर निजी विद्यालय सञ्चालकहरुले शिक्षामा मनपरी गर्न खोजेको बताए । ‘विद्यार्थी संगठनलाई कपोलकल्पित आरोप लगाउनुले उनीहरु रातारात कमाउने बाटो बन्द हुने भयो भन्दै डराएको पुष्टि गर्छ’, उनले भने, ‘मनपरी कमाई खान अनेक वहानाको खोजि गर्ने तर नियमन गर्ने भने पछि डराउँदै सहमतीमा नआउने, शुल्क लगायत सञ्चालनका बारेमा भएका नीति नियम मान्न पनि राजी नहुने हो भने निजी विद्यालय बन्द भएपनि फरक पर्दैन ।’

अनेरास्ववियूका प्रवक्ता आर सी लामिछानेले यदी कुनै विद्यार्थी संगठन र तीनका कार्यकर्ताले निजी विद्यालयहरुसंग चन्दा लिएका छन् भने तीनलाई सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्धा चलाउन आफूहरु तयार रहेको बताए । ‘प्लाष्टिकका झोला प्रयोगमा रोक लगाउँदा हुन्छ भने नियम नमान्ने र मनपरी गरिरहने निजी विद्यालयहरु चलाईरहनु पर्छ भन्ने केही छैन’, उनले भने ‘शिक्षाको गुणस्तर र शैक्षिक उपलब्धिका बारेमा वहस गर्नु कता हो कता विद्यालय सञ्चालकहरु कसरी राज्यका नीति नियम नमान्ने र कसरी अकुत कमाउने भन्ने ध्याउन्नमा मात्रै लाग्दा समस्या भयो ।’

अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले निजी विद्यालयबाट उठाईएको भनिएको चन्दा र सहयोगका बारेमा सार्वजनिक बहस गर्न आफूहरु तयार रहेको बताए । ‘विगतमा के भयो हामी भन्न सक्दैनौं तर अव हामी निजी विद्यालयहरुको मनपरीलाई नियमन गर्न कुने हालतमा पछि हट्दैनौं’, उनले भने, ‘निजी विद्यालय सञ्चालकहरु अरुलाई दोष दिएर कसरी भुलाई राख्ने भन्ने ध्याउन्नमा मात्रै केन्द्रित छन्, सार्वजनिक शिक्षा ध्वस्त पारेर शैक्षिक माफियाहरुलाई भित्र्याउँदाको परिणाम यहि हो ।’

अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाईलीले पनि विद्यार्थी संगठनहरुले चन्दा लिदाँ शुल्कमा असर पर्यो भन्ने विद्यालय सञ्चालकहरुको तर्कको विरोध गरेका छन् । ‘विद्यार्थी संगठनहरुको एकता र शिक्षा मन्त्रालयसंग भएको सहमती पछि नियमनमा बस्नु पर्ने भयो भनेर विद्यालय सञ्चालकहरु आत्तिएका छन्’, उनले भने, ‘चन्दा लिएको हो भने सार्वजनिक गरुन न त, त्यसै आरोप लगाउन त भएन नी ।’

शुल्क वृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठन र शिक्षा मन्त्रालय विच दुई दिन अघि मात्रै शुल्क नियमन गर्ने लगायतका कुरामा सहमती भएको छ । पढ्नुहोस् निजी विद्यालयको शुल्कका बारेमा भएको सहमती

तस्विर : ईन्टरनेट

प्रतिक्रिया