Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ताला खुल्यो 

मंगलबार, २१ पुस २०७२

काठमाडौँ, २१ पुस । मध्यपश्चिम विश्वविद्यालयमा एमाओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले लगाएको ताला झण्डै १६ दिनपछि खुलेको छ। 

उपकुलपति एवम् रजिष्ट्रार समक्ष प्रस्तुत गरिएका ९ बुंदे मागका सम्बन्धमा पौष ५ गतेदेखि उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा गरिएको तालाबन्दी मंगलबार संगठनका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष रवि के.सी. को प्रतिनिधि समुहले खोलेका हुन् । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वार्ता समिति र संगठनको वार्ता समिति विच भएका औपचारिक अनौपचारिक छलफलका मागहरुलाई कार्यन्वयन गर्ने गराउने सहमति  कार्यान्वन गर्न अल्टिमेटम दिदै तालाबन्दी  लगायतका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता गरिएको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) लगायत अनेरास्ववियु र नेविसंघ लगायतका संघ संगठन बिभिन्न माग राखी आन्दोलनरत थिए । 

त्यसै गरी पौष १७ गते संगठनका प्रतिनिधि समुह र उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालासंग भएको भेटवार्ताका क्रममा भएको छलफलका आधारमा तालाबन्दी लगायतका कायक्रम फिर्ता लिने निर्णयमा पुगेको संगठनका मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिका अध्यक्ष रवि के.सी.ले वताए । 

एक दिने अन्तरक्रिया सम्पन्न 

यसैबीच मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आयोजनमा मंगलवार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

काठमाडौँ विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा प्रमुख वक्ता रहेको कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले विश्वविद्यालयको २० बर्षे रणनीतिक योजना निर्माणका लागि सरोकारवाला सबै जिम्मेवार भएर लाग्नुपर्ने र त्यसका लागि राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए । 

विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालय बनाउने अभियानमा सबै लागेको अनुभव बताउदै यसको विकासमा सरोकारवाला सबै संगसंगै हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । 

काठमाडौँ विश्वविद्यालयका पुर्व उपकुलपति समेत रहेका प्राज्ञिक व्यक्तित्व प्रा.डा. सुरेसराज शर्माले मुलुकको स्रोत साधनमा आधारित शैक्षिक कार्यक्रमहरू संचालन गर्नु पर्नेमा जोड दिदै त्यसका लागि राजनीतिक प्रभाव मुक्त नेतृत्व स्थापित गर्नुपर्ने वताए । 

काठमाडौँ विश्वविद्यालय स्थापना र संचालनको सन्दर्भ औल्याउदै मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई स्वायत्तता र बजेट सहितको व्यवस्थापन गर्न नसके योजना गरिए अनुसार विश्वविद्यालय संचालन गर्न नसकिने समेतमा जोड दिए । 

पुर्व मन्त्री यामलाल कंडेलले विश्वविद्यालयलाई सबैको साझा संस्था बनाउन राजनीतिक दलहरु प्रतिबद्ध रहेको बताए । 

कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी एवम् गैर सरकारी संघरसंस्थाका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाज, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत सरोकारवाला सबैको सक्रिय सहभागिता रहेको थियो । 

 

प्रतिक्रिया