Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

इक्यानभित्र असन्तुष्टिका चाङ  !

बुधबार, २९ पुस २०७२

काठमाडौँ, २९ पुस । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नेतृत्वले आफ्नै व्यवसायी सदस्यका गुनासा समयमै समाधान गर्न नसक्दा १० औँ बार्षिक साधारण सभामै छताछुल्ल भएका छन् । 

मंगलबार राजधानीमा भएको इक्यानको साधारणसभाका लागी देशभरीका शैक्षिक परामर्श व्यवसायीको सहभागिता थियो । तर अधिकांशले नेतृत्वले गर्नुपर्ने काम नगरी मनोमानी र एकलौटी ढंगले काम गर्दा आफु सोही संस्थाको हुँ की नाई भन्ने प्रश्न गरेका थिए । 

पुतलीसडकका कृष्णहरी केसीले नेतृत्वले मनलाग्दी रुपमा शैक्षिक परामर्श व्यवसाय गर्ने साना व्यवसायीका कुरा सुन्नै नचाहेको आरोप लगाए ।  निकै आक्रोशपूर्ण रुपमा आफ्नो भनाई राखेका उनले भने ‘हामी यही छाता संगठनका व्यवसायी हौ की नाई ? किन हामीलाई तल्लो स्तरको विभेद गरिदैछ ?’ 

यस्तै युनिभर्सल कन्सल्टेन्सीका भरत दाहालले त इक्यानको सदस्य भएको नाताले भूकम्पका बेला पाउनु पर्ने राहत दिन्छु भनेर नदिएकोमा सोही निवेदन फिर्ता लिएका थिए ।  दुई चार जनाको हालीमुहालीले इक्यानमा प्राय सदस्यहरु असन्तुष्टि देखिन्थे । बन्द शत्र सकेर मात्रै उद्घाटन सत्र गरिनु आफैमा शंकास्पद भएको कतिपयको तर्क थियो । 

समय अभावका कारण धेरै सदस्यले बोल्न नपाएकामा बोलेकाहरुले इक्यानभित्रको बजेट पारदर्शी नभएको, सिमित सदस्यहरुले मात्रै इक्यानको सुविधा पाएको, नयाँ र पारदर्शी कार्यक्रम नल्याएको आरोप लगाएका थिए । 

शिक्षामन्त्री आउनुपर्ने कार्यक्रममा सञ्चारमन्त्री आएको देख्दा पनि कार्यक्रम अचम्म लाग्दो भएको देख्न सकिन्थ्यो । उद्घाटन सत्र शुरु हुनै लाग्दा अधिकांश सदस्य कार्यक्रमको वेवास्ता गरी खाजा खान भन्दै निस्किदा थिए ।

सदस्यहरुको जवाफ फर्काउदै अध्यक्ष राजेन्द्र बरालले असन्तुष्टिका चाङलाई घटाउनुको साटो आफ्नै भाषामा कोही भए नेतृत्वमा आउन र आफु नदोहोरिने गरी अध्यक्ष पद सुम्पिन चाहेको धम्की दिदै थिए । 

उद्घाटन भनिएको समापन समारोहमा सञ्चारमन्त्री राईसंगै शिक्षा मन्त्रालयका प्रवक्ता डा.हरि लम्साल लगायत विभिन्न राजनीतिक पार्टीका शैक्षिक विभाग र सरोकारवालाहरुको उपस्थिती थियो । 

प्रतिक्रिया