Edukhabar
शनिबार, २९ बैशाख २०८१
खबर/फिचर

उत्कृष्ट विद्यालय पुरस्कृत

मंगलबार, २२ भदौ २०७२

काठमाडौं २२ भदौ / यसबर्ष उत्कृष्ट भएका सामुदायिक तर्फ काठमाडौं सीतापाईलाको युवा सहभागिता माध्यमिक विद्यालय र निजी तर्फ ललितपुर कुपण्डोलको नाईटिङ्गेल इन्टरनेसनल माध्यमिक विद्यालय सहित क्षेत्रीय स्तरमा उत्कृष्ट विद्यालय र शिक्षा क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिलाई सम्मान गर्दै शिक्षा दिवस मनाईएको छ ।  ३६ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट दुबै विद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा, प्रमाणपत्र र रु दुई लाख प्रदान गरियो ।

यस्तै क्षेत्रीय रुपमा उत्कृष्ट हुने सामुदायिक विद्यालयमा पूर्वाञ्चलबाट ओखलढुङ्गा रामपुरको वरुणेश्वर उच्च मावि, मध्यमाञ्चलबाट काठमाडौं बालाजुको तरुण मावि, पश्चिमाञ्चलबाट रुपन्देही बुटवलको कान्ति उच्च मावि, मध्य पश्चिमाञ्चलबाट जुम्ला सिंजाको भैरव उच्च मावि र सुदूर पश्चिमाञ्चलबाट कैलाली माझगाउँको समैजी उच्च मावि पुरस्कृत भएका छन् । पुरस्कृत हुने हरेक विद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा, प्रमाणपत्र र रु एक लाख प्रदान गरिएको छ । दुर्गम क्षेत्रबाट वुम्लाको मिलामा रहेको राहदेव माविले नगद रु एक लाख प्राप्त गरेको छ ।

साथै निजी तर्फ क्षेत्रीय पुरस्कार पाउनेमा पूर्वाञ्चलबाट बाल कल्याण विद्या मन्दिर विराटनगर मोरङ्, मध्यमाञ्चलबाट द एक्सेलसियर आवासिय मा. वि स्वयम्भु काठमाडौं, पश्मिाञ्चलबाट गण्डकी आवासीय उ.मा.वि. बोर्डिङ स्कूल लामाचौर कास्की, मध्य पश्चिमाञ्चलबाट तुलसी आवासीय मा.वि तुल्सीसुर दाङ, र सुदुर पश्चिमाञ्चलबाट इन्टरनेशनल पब्लिक स्कूल महेन्द्रनगर कञ्चनपुरलाई सम्मान सहित राष्ट्रिय शिल्ड, ध्वजा, प्रमाणपत्र र रु एक लाख प्रदान गरिएको छ ।

कालिका उ.मा.वि रुपन्देही प्राविधिक शिक्षा तर्फ उत्कृष्ट भएको छ । विद्यालयलाई माध्यमिक विद्यालय ध्वजा र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै क्षेत्रीयस्तर तर्फ पूर्वाञ्चालको मनमोहन मेमोरियल पोलिटेक्निक इन्ष्टिच्यूट हात्तिमुढा मोरङ्ग, मध्यमाञ्चलको काठमाडौं मोडल अस्पताल, स्कुल अफ नसिङ्ग स्वयम्भु काठमाडौं, पश्चिमाञ्चलको मनिपाल कलेज अफ मेडिकल साइन्स पोखरा कास्की, मध्यपश्चिमाञ्चलको भेरी प्राविधिक शिक्षालय नेपालगंज बाँके र सुदूरपश्चिमाञ्चलको सेती प्राविधिक शिक्षालय दिपायल डोटीलाई प्रमाणपत्र सहित रु २५ हजार प्रदान गरिएको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय अन्र्तगतका आङ्गिक क्याम्पसतर्फ महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम र सामुदायिक तर्फ जनप्रिय बहुमुखी क्याम्पस, पोखराले उत्कृष्ट प्रमाण पत्र सहितरु २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा साक्षरतामा सहयोग पु¥याउने ४६ जनालाई पनि सम्मान गरियो ।

कार्यक्रममा बोल्दै शिक्षा मन्त्री चित्रलेखा यादवले शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउन शिक्षा ऐन संशोधन प्रक्रियामा रहेको र संस्थागत विद्यालयलाई थप व्यवस्थित गर्न संस्थागत र नीतिगत आधार तयार गरिने बताईन् । शिक्षा सचिव विश्वप्रकाश पण्डितले अधिकार सम्पन्न शिक्षा आयोग गठन गर्न मन्त्रालय कृयाशिल रहेको बताए । उनले भुकम्पले भत्काएका विद्यालय र कक्षा कोठा पुननिमार्णका लागी ४० अर्ब बजेट लाग्ने बताउँदै पुननिमार्णका लागि मन्त्रालय तयारीमा रहेको बताए ।

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मंगलबार विहान राष्ट्रपति डा. रामवरण यादवले विभिन्न ब्यक्तिलाई विभिन्न शिक्षा पदक प्रदान गरेका थिए ।   

प्रतिक्रिया