Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

प्राविधिक शिक्षालाई बजेट बढाउन माग

मंगलबार, १२ फागुन २०७१

भक्तपुर १२ फागुन / प्राविधिक शिक्षालाई वेवास्ता गरिएको भन्दै कूल शिक्षा बजेटको कम्तिमा ५ प्रतिशत छुट्याउन माग गरिएको छ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सी टी ई भी टीको २७ औं बार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रममा बोल्दै परिषद्का सदस्य सचिव डा. रामहरी लामिछानेले उक्त माग गरेका हुन् ।

अहिले कूल शिक्षा बजेटको एक दशमलव ४ प्रतिशत परिषद्लाई छुट्याईएको छ ।

परिषद्लाई सरकारको तर्फबाट १ अर्व ३५ करोड २६ लाख १३ हजार र आन्तरिक तर्फबाट ३२ करोड ८७ लाख ६४ हजार गरी कूल १ अर्व ६८ करोड, १३ लाख ७७ हजार विनियोजन गरिएको कार्यक्तममा जानकारी दिईयो । ‘तर, पनि हामीले बैदेशिक परियोजना मार्फत तालिमहरु चलाईराखेका छौं’ उनले भने, ‘प्राविधिक शिक्षालाई राज्यले कति सम्म वेवास्ता गरेको छ भन्ने कुरा स्थापना काल देखि अहिले सम्म दरवन्दि समेत थप नहुनुले स्पष्ट पारेको छ ।’

परिषद्लाई ५३ सालमा ९ सय ३२ जनाको दरवन्दी  दिएकोमा अहिले सम्म थप भएको छैन । परिषद्ले  ७ सय ६२ दरबन्दी माग गरेको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै शिक्षा सचिव विश्वप्रकास पण्डितले, शिक्षाका लागि निर्धारण गरिएको बजेट नै थोरै भएको भन्दै प्राविधिक शिक्षालाई थप बजेट छुट्याउन आफू लागि पर्ने बताए । कूल बजेटको १५ प्रतिशत शिक्षा बजेट भयो भने परिषद्लाइृ बजेट बढाउन गाह्रो नहुने उनले बताए । दरबन्दि थपका लागि पनि प्रकृया अघि बढेको उनले बताए ।

कार्यक्रममा बोल्दै शिक्षा मन्त्री चित्रलेखा यादवले शिक्षालाई सीप सँग जोड्ने गरी काम गर्नु पर्ने बताईन् । विश्ववजारको प्रतिस्पर्धा र माग अनुसार गुणस्तरीय प्राविधिक शिक्षा विस्तारमा लाग्नु पर्ने उनको भनाई थियो ।

परिषद्ले ४० वटा आँगिक, ७३ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, ३ सय ७५ वटा सम्बन्धन प्राप्त निजी प्राविधिक शिक्षालय सञ्चालनमा रहेको जनाएको छ । लोपोन्मुख जनजाती, तराईका १६ जिल्लाका दलित र मुसलमान समुदायका विद्यार्थीलाई छात्रबृत्ति पनि दिदैँ आएको जनाउँदै परिषद्ले यो बर्षबाट कर्णाली अञ्चलका दलित र नवलपरासी र कञ्चनपुर जिल्लाका दलित मुसलमान र देशभरीका चेपाङ् समुदायका गरी ४ सय जनालाई डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरु गरेको जनाएको छ ।

२०७० ७१ मा २५ हजार ८ सय २० महिला र २९ हजार ९ सय ५५ पुरुषलाई सीप परिक्षण गराएको पनि परिषद्ले जनाएको छ । ब्यवसायिक तालिममा १ सय ७२, प्राविधिक एसएलसीमा ६७ र डिप्लोमा तथा प्रमाणपत्र तहमा ३७ वटा पाठ्यक्रम निर्माण भएको पनि परिषद्ले जनाएको छ । गत बर्ष १७ वटा ब्यवसायिक तालिमको, १० वटा प्राविधिक एसएलसी र २ वटा डिप्लोमा तहको पाठ्यक्रम परिमार्जन गरिएको परिषद्ले जनाएको छ ।

बार्षिकोत्सवका अवसरमा परिषद्ले अवकासप्राप्त ८ जना कर्मचारीलाई सम्मान पनि गरेको छ । यस्तैडिप्लोमा तथा प्रमाणपत्र तहत र्फको कार्यक्रम सञ्चालन गरेको ओम हेल्थ क्याम्पस चावहिल काठमाण्डौंलाई सबोत्कृष्ट शिक्षण संस्थाको सम्मान गरेको छ । यसैगरी, प्राविधिक एसएलसी तहका कार्यक्रम सञ्चालन गर्ने भू सूचना प्रविधि अध्ययन प्रतिष्ठान बानेश्वरलाई पनि सर्बोत्कृष्ट शिक्षण संस्थाको सम्मान गरेको छ । परिषद्ले सर्बोत्कृष्ट अँक ल्याउने आँगिक र सम्बन्धन प्राप्त संस्थाहरुमा अध्ययनरत विभिन्न विषयका विद्यार्थीलाई पनि सम्मान गरेको छ ।

परिषद्का कार्यलय सहायक भरत प्रसाद न्यौपाने सबोत्कृष्ट कर्मचारी भएका छन् भने राप्ति प्राविधिक शिक्षालय दाङ्का का.मू. प्रमुख यादव सुवेदी, भेरी प्राविधिक शिक्षालय नेपालगञ्जका प्लम्बिङ् प्रशिक्षक भवानसिंह थापा, पोखरास्कुल अफ टुरीज्मका प्रशासकीय अधिकृत बद्रीनाथ अधिकारी र ग्रामिण तालिम केन्द्र लम्जुङ्का स्वास्थ्य सहायक मायादेवी घिमिरेलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरियो ।

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् ऐन २०४५ अनुसार २०४६ सालमा परिषद्को स्थापना गरिएको हो ।

प्रतिक्रिया