Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

राष्ट्रिय परीक्षा वोर्ड गठन, परिषद्का सदस्य सचिव कोईरालाको राजीनामा

विहीबार, १६ असार २०७३

- सञ्जय पन्थी / काठमाडौं – शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा वोर्ड गठन गरेको छ । वोर्डको अध्यक्ष नियुक्त नहुञ्जेल पदेन उपाध्यक्ष रहेका शिक्षा सचिव विश्वप्रकाश पण्डितलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सहित मन्त्रालयले वोर्ड गठन गरेको हो ।

शिक्षामन्त्री गिरीराजमणी पोखरेलले बिहीबार साझ पत्रकार सम्मेलन गर्दै बोर्ड गठन गरिएको जानकारी गराएका हुन् । मन्त्री पोखरेलले भने ‘असार १५ गते राष्ट्रपति कार्यालयबाट ऐन प्रमाणिकरण भएसँगैं कार्यन्वयन भएको छ ।’ बोर्डको गठनबाट ऐन कार्यान्वयन गरेको बताउँदै उनले उच्च माध्यमिक शिक्षा परिषद्को खारेजी र राष्ट्रिय परीक्षा वोर्डको गठन त्यसैको शुरुवात भएको बताए ।

राष्ट्रपतिबाट शिक्षा ऐन प्रमाणिकरण भएको झण्डै ३० घण्टा पछि बल्ल शिक्षा मन्त्रालयले खारेज भएको उच्च माध्यमिक शिक्षा परिषद्ले गर्दै आएको कामको ब्यवस्थापन गर्ने निर्णय गरेको हो । निर्णयमा भएको ढिलाईले दैनिक काम लिएर परिषद् पुग्ने विद्यार्थी र अभिभावकलाई समस्या परेको थियो । ऐन कार्यावयन भएर परिषद्को बोर्ड हटाईए पनि त्यहाँबाट प्रवाह हुने सेवा कसरी ब्यवस्थापन गर्ने  भन्ने निर्णयमा भएको ढिलाईले विहीबार विद्यार्थी र अभिभावकले सास्ति खेपे । 

पढ्नुहोस् : २३ वर्षपछि हट्यो परिषद्को बोर्ड, विद्यार्थीले पाए हैरानी

ऐन पारित हुना साथ गर्नु पर्ने काम समेत पहिल्यै तयार राख्न नसकेको भन्दै मन्त्रालयको आलोचना हुँदै आएको थियो । ऐन प्रमाणिकरण हुनासाथ रहने शुन्यताका बारेमा मन्त्रालयले बलैमा चासो दिन सकेको थिएन ।

यो पनि पढ्नुहोस् : शिक्षा ऐन प्रमाणिकरण पछि हुने शून्यताको भय

मन्त्री पोखरेलले पत्रकार सम्मेलनमा ‘राष्ट्रिय परीक्षा वोर्डको अध्यक्ष नियुक्त नभएसम्म उपाध्यक्ष शिक्षा सचिवलाई अध्यक्षको अधिकार प्रयोग गर्नेगरी जिम्मेवारी दिईएको जानकारी गराए । परीक्षा वोर्डको सदस्य सचिवमा शिक्षा मन्त्रालयका सहसचिव लवदेव अवस्थीलाई तोकिएको छ ।

मन्त्रीको यस्तो निणर्यसंगै परिषद्का सदस्य सचिव नारायण कोईरालाले राजीनामा दिएका छन् । कोईरालाले अन्तिम समयसम्म परीक्षा वोर्डको सदस्य सचिव बन्न पहल गरेपछि मन्त्रीले उनको आग्रहलाई स्वीकार नगरी बिहीबार अन्तिम समयमा मन्त्रालयका सहसचिव नै सदस्य सचिव रहने व्यवस्था गरेका हुन् । विहीबार नै कोईरालाले राजीनामा दिएका छन् । कोईरालाले समाजिक सञ्जाल फेसवुकमा आफुले राजीनामा दिएको सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्– जीवन यात्राको क्रममा ३५ बर्ष सार्वजनिक सेवामा रहेर काम गर्ने अवसर मील्यो जस्को लागी यो देश प्रती पूर्ण आभारी छु , राज्यको उच्च जीम्मेवारीमा रहेर आजसम्म कर्तव्य नीर्वाह गर्ने अवसर दीयकोमा नेपाल सरकार,राजनीतिक दलहरु र सवै सरोकार वालाहरुसंग सधैं कृतज्ञ रहनेछु । म (मेरो व्यक्तिगत र पेसागत जीवन, मुल्य र मान्यतामा आधारित मेरा उपलब्धि र सकारात्मक सोच भएका सहकर्मीहरुको साथ प्रती सदा सर्वदा गर्व गर्दछु । सार्वजनिक जीवन बाट बिदा लीएर सामान्य जीवन यापन गर्ने चाहना भएकाले आज सवै जीम्मेवारी र पदवाट राजीनामा दीएर घर आंउदा,ढुक्क र खुसी महसुस गरें । मेरो यस लामो यात्रामा साथ दीने सवै सहकर्मी मीत्रहरुलाई हृदयवाटै नमन गर्दछु ।’

वोर्ड सञ्चालनका जिम्मेवारीमा आई पर्ने नीतिगत बाधा अड्चनलाई तत्काल नियमावली बनाएर कार्य सुचारु गरिने भएको छ । यसका लागि सहसचिव हरी लम्साललाई जिम्मा दिईएको छ । यसै बिच कक्षा ११ र १२ को अनुमति / सम्वन्धी कार्य गर्नका लागि प्राप्त भएका निवेदन छानविन गरी आवश्यक निणर्यका लागि पेश गर्न शिक्षा विभागका महानिर्देशकको अध्यक्षतामा शिक्षा विभागको शैक्षिक व्यस्थापन महाशाखाका निर्देशक र साविकको उच्च माध्यमिक शिक्षा परिषद् सम्वन्धन शाखा हेर्ने महाशाखा प्रमुख सदस्य रहेन गरी समिति गठन गरिने भएको छ ।

खारेज भएको परिषद्का पदाधिकारी बाहेकका अन्य विभागका कर्मचारीले साविक बमोजिम काम गर्न अधिकार प्रत्यायोजन गरिएको शिक्षा सचिव एवंम वोर्डका कार्यकावाहक अध्यक्ष विश्व प्रकाश पण्डितले बताए । उनले भने ‘ ऐन कार्यन्वयन प्रक्रियागत तवरबाट शुरु भएको छ ।’

परिवर्तित अवस्थामा आईपर्ने जिम्मेवारी वहन गर्नु सबैको कर्तव्य भएको उनले बताए । परिवर्तित अवस्थामा आफु परीक्षा वोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्न सक्षम रहेको उनको भनाई छ ।   

प्रकाशित मिति २०७३ असार १६ गते

प्रतिक्रिया