Edukhabar
विहीबार, १३ बैशाख २०८१
सम्पादकीय

थाहै नदिइ शिक्षा ऐन आएको पूर्वप्रधानमन्त्री ओलीको अभिव्यक्ति 'गैरजिम्मेवार'

आइतबार, ०२ असोज २०७३

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्याब्सनको साधारण सभामा ‘शिक्षा ऐनको आठौं संशोधन आफूलाई थाहै नदिइ आएको र ऐन पास भएपछि मात्रै जानकारी पाएको’ भन्ने अभिव्यक्ति गैरजिम्मेवारपूर्ण मात्रै होइन पदीय मर्यादा विपरित छ ।

आफूले नेतृत्व गरेको सरकारले ल्याएको ऐन र सम्मानित सदनले गरेको त्यसको संशोधनप्रति थाहा थिएन भन्नु एउटा पार्टीको अध्यक्ष र पूर्व प्रधानमन्त्रीका लागि असुहाउँदो त हुँदै हो लज्जाको विषय पनि हो । यसले देश तथा दल कस्तो बहुलट्ठी नेतृत्वबाट चलेका छन् र शिक्षाप्रति उनीहरु कति गम्भीर छन् ? भन्ने प्रष्ट पार्छ ।

शिक्षा ऐनको आठौं संशोधन कुनै अध्याँरो कुनाबाट भएको होइन । जुन सदनले ओलीलाई प्रधानमन्त्री बनाएको हो त्यही सदनमा छलफल भएर, त्यस अघि समिति, सम्बन्धित मन्त्रालय र सरोकारवालावीच बहस भएर आएको हो । आफूले नेतृत्व गरेको सरकारको विभागीय मन्त्रीले सदनमा दर्ता गराएर पास भएको शिक्षा ऐनबारे थाहा नपाउने प्रधानमन्त्री कस्तो प्रधानमन्त्री हो ?

उनले त्यसको पनि आम नागरिकलाई जवाफ दिनु पर्छ । प्रधानमन्त्री पद जनताको करबाट मासिक तलब खान वा सिंहदरवारमा फोटो झुण्ड्याउनका लागि मात्रै होइन भन्ने थोरै मात्रै हेक्का उनलाई हुँदो हो भने यस्तो अभिव्यक्ति पक्कै आउन्नथ्यो । त्यस्तो हेक्का नभएकैले ‘आफू चारैतिरबाट घेरिएको अवस्था’ भनेर साहनुभूति लिन खोज्नु भनेको आफ्नो कमजोरी लुकाउन खोज्नु हो । यसको घाटा अन्ततः उनैलाई हुनेछ ।

एउटा प्रधानमन्त्रीले सदनमा दर्ता, छलफल र पास भएको ऐनबारे जानकारी राख्दैन भने उसले कसरी मुलुकको सही नेतृत्व गर्यो भनेर विश्वास गर्न सकिन्छ ? प्रधानमन्त्रीले आफ्नो सल्लाहकार वा सहयोगी समूह वा सोझै आफ्नो विभागीय मन्त्री मार्फत चाहेको कुरा बुझ्न सक्छन् । चर्चाको दशकपछि सदनमा पुगेको ऐनबारे समेत जानकारी राख्न नसक्ने, विषयवस्तुको पहिचान गरी ठीक वा वेठीकबारे बहसमा भाग लिन नसक्ने प्रधानमन्त्री र एउटा पार्टीको अध्यक्षबाट देशको शिक्षा विकासमा के अपेक्षा गर्न सकिन्छ ? उनको सोच र अभिव्यक्ति खेद जनक छ ।

यदि इमानदार र नैतिक व्यक्ति हो भने आफ्नो नेतृत्वमा भएका हरेक गतिविधिको जिम्मेवारी नेतृत्व सम्हालेको व्यक्तिले लिनै पर्छ । मानवीय कमजोरी मान्ने हो भने कहिले काहिँ ऐनका पूरै बुँदा बुँदा प्रधानमन्त्रीले नपढेको हुन सक्छ तर मलाई थाहै नदिइ ल्याइएको भन्नेजस्ता उत्ताउला र ठट्यौला अभिव्यक्ति जग हँसाउने मेलो मात्रै हो । दुनिया हँसाउन अरु विषय प्रसस्त छन् भन्ने पूर्वप्रधानमन्त्रीले सम्झेर आगामी दिनमा यस्ता उट्पट्यांग विषयमा प्याच्च नबोल्नु उनकै लागि फाइदाजनक छ ।

अलिअलि पनि उनीमा नैतिकता छ भने आफूले देशको नेतृत्व गर्दाको जिम्मेवारीबोध गर्नु जरुरी छ । किनभने आफू प्रधानमन्त्री भए पछि हरेक कुराको जानकारी उनले लिनै पर्छ र त्यो उनको कर्तव्य हो । जानकारी नलिनु उनको कमजोरी हो । आफ्नो कमजोरी छल्न वाहियात तर्कहरुको सहारा लिनु भनेको तर्कहरु माथिनै अन्याय हो ।

नेपालको शिक्षालाई व्यापारिकरणमा धकेल्ने प्रमुख कारण निजी शिक्षालयहरुनै हुन् । प्याब्सन तिनै निजी शिक्षालयहरुको संस्था हो, र ऊ अपारदर्शी रुपमा सहज नाफामुलक व्यवसाय चलाउन ऐनमा भएको शैक्षिक वा सार्वजानिक गुठीमात्रैले निजी शिक्षालय खेल्न पाउने व्यवस्थाको विरोध गर्दै आइरहेको छ । ऐनको यो व्यवस्था व्यापारिकणमा उद्दत् निजीलाई लगाउन खोजिएको लगाम हो । यसबाट थोरैमात्र नियन्त्रण गर्न सके र सामुदायिकको सुधारमा लाग्न सके शिक्षामा पहुँच सहज हुनेछ ।

कुनै पनि कुरा एकै पटक पूर्ण हुदैनन् र त्यो सम्भव पनि छैन । पूर्णताका लागि समायनुकल परिमार्जन र परिस्कार आवश्यक हुन्छ । शिक्षा ऐनको आठौं संशोधन पनि पूर्ण होइन तिनै विगतको अपूरा दस्तावेजको संशोधित रुप हो ।

शिक्षा व्यापार होइन राज्यको दायित्व हो । तर ओलीले आफूलाई शिक्षा ऐन बारे थाहा छैन भन्नु, पारित ऐन अपूर्ण छ भन्नु भनेको निजीको प्यारो हुन दिएको अभिव्यक्ति मात्रै हो । यो प्रधानमन्त्री पद तथा संसदको अपमान पनि हो । मलाई थाहा थिएन भनेर टक्टकिने होइन पूर्वप्रधानमन्त्रीका हैसियतमा उनले उक्त ऐनले पार्ने राम्रा नराम्रा प्रभावको जिम्मेवारी लिनु पर्छ । र आगामी दिनमा यस्ता जगहँसाउने अभिव्यक्तिमा लगाम लगाउनु राम्रो हुन्छ ।

हरेक कुराको सीमा र मर्यादा हुन्छ । स्वतन्त्रतासँगै दायित्व र कर्तव्य पनि हुन्छ । हास्य पात्रको छवि बनाएका पूर्वप्रधानमन्त्री ओलीमात्रै होइन देश निर्माणको नेतृत्वमा पुगेका हरेकले आफूले गरेका कामको जिम्मेवारी लिने हो भने मात्रै त्यसको अर्थ प्रभावकारी र दिगो हुन्छ ।

पढ्नुहोस् उक्त खबर : प्रधानमन्त्रीलाई थाहै नदिई शिक्षा ऐन ! ओली भन्छन् – पछि मात्रै थाहा पाएँ

प्रतिक्रिया