Edukhabar
विहीबार, १० जेठ २०८१
खबर/फिचर

शिक्षक हुन प्रयोगात्मक परीक्षा पनि पास गर्नुपर्ने !

बुधबार, २६ असोज २०७३

काठमाडौं । अब शिक्षक हुने उम्मेदवारले प्रयोगात्मक परीक्षा पनि पास गर्नुपर्ने आवश्यकता देखिएको छ ।
सार्वजनिक शिक्षा कमजोर हुनुमा शिक्षक मुख्य जिम्मेवार रहेको निश्कर्षसहित शिक्षक सेवा आयोग नियमावलीमा व्यवस्था भएको उक्त व्यवस्थालाई व्यवहारमै कार्यान्वयन गर्नु आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।
‘शिक्षण पेशा एक कला र सीपमूलक काम हो । यसको परीक्षणमा लिखित परीक्षाको साथै प्रयोगात्मक परीक्षा पनि लिनेतर्फ योजना आवश्यक छ ।’ शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले भने ।
उनले शिक्षक सेवा आयोग नियमावलीको नियम १८ मा शिक्षक छनौटको लागि लिइने परीक्षाको किसिममा प्रयोगात्मक परीक्षा पनि एक विधि उल्लेख गरिएको जानकारी दिँदै उक्त व्यवस्थाअनुसारको परीक्षा नहुँदा गुणस्तरीय शिक्षक छनौटमा प्रश्न उठिरहेको बताए ।
उनले आयोगले लिएका अहिलेसम्मका परीक्षामा प्रयोगात्मक परीक्षा लिने अभ्यास हुन नसकेको पनि जनाए ।
‘लिखित, प्रयोगात्मक र अन्तरवार्ताको कूल योगबाट छनौट गर्दा अझ उत्कृष्ट उम्मेदवार छनौट हुनेछ’, उनले थपे, ‘आयोगले प्रयोगात्मक जस्तो प्राविधिक र व्यवस्थापनको दृष्टिले कठिन कामलाई पनि भविष्यमा लग्ने योजना बनाएको छ ।’
उनले उक्त अभ्यासलाई व्यवहारममै कार्यान्वयन गर्न शिक्षक सेवा आयोगलाई स्रोत र साधनले सम्पन्न समेत बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनका अनुसार योग्य शिक्षक छनौटको लागि हालको १ सय पूर्णाङ्कको एक पेपर अपार्याप्त छ । ‘बदलिँदो परिवेशलाई ध्यान दिँदा तीन पेपरको परीक्षा लिनुपर्ने आवश्यकता छ ।’ उनले सुझाए ।
उनले सुझाएका विकल्पहरुमा पहिलो पत्रमा शिक्षासम्बन्धी सामान्य ज्ञान(वस्तुगत पत्र), दोस्रो पत्रमा सिकाइका सिद्धान्तहरु, शिक्षण विधि, प्रविधिहरु, पाठ्यक्रम  र पाठ्यपुस्तकको अध्ययन, मापन र मूल्यांकन आदिबाट र तेस्रो पत्रमा सम्बन्धित विषयको अध्ययन रहेको छ ।

 

प्रतिक्रिया