Edukhabar
शनिबार, २९ बैशाख २०८१
विचार / विमर्श

दुई किनारामा शिक्षक र शिक्षण पेशा

बुधबार, १० कार्तिक २०७३

विद्यालय समयमा समेत गतसाता दिनभर सार्वजनिक कार्यक्रममा उपस्थित कपिलवस्तु स्थित गौतम उच्च माध्यमिक विद्यालयका प्राचार्य शिशिर अर्यालले भने – अहिलेको पत्रकारिता नांगा फोटा पोष्ट गरेर चलिरहेको छ ।

शिक्षक आफैंमा समाजको जान्ने सुन्ने वर्ग । सञ्चार माध्यमको गुण र दोष औल्याउन अर्याल सरका लागि कुनै कठिन काम हैन । त्यसमाथि थाह भए अनुसार, अर्याल सर मिडियाका क्रिटिक्स (असल दर्शक, स्रोता र पाठक) नै हुन् ।

हो, शिशिर सर पत्रकारितामा धेरै समस्या छन् । नांगा फोटा पोष्ट गरेर पत्रकारिता मौलाए कै छ । हाम्रा पेशाका थिती र बेथिती हामीलाई राम्रै हेक्का छ । हामी हाम्रो पेशालाई कसरी मर्यादित बनाउने भनेर लागिरहेकै छौं । मर्यादित बनाउन नसकेको संस्थामा बरु सहकार्य नै तोड्दै छौं । तर के तपाई (शिक्षक) आफ्नो पेशामा भएका विकृतिका विरुद्ध बोल्नु भएको छ ? आफ्नो आङ्को भैंसी नदेख्ने, अर्काको आङ्को जुम्रा देख्ने उखानका बारेमा तपाईले धेरै विद्यार्थीलाई पढाउनु भएन म भन्न सक्दिन ।

तर, यत्ति चाँही भन्न सक्छु – नैतिक चरित्रको वेथिती प्रर्दशन गर्दैं राजनीति गर्ने शिक्षक र शिक्षण पेशा नदीका दुई किनारा बनिरहेका छन् । यस बारेमा तपाईलाई हेक्का छ छैन ? थाहा पाउन भने सकिन ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट (गत ०७३ असार १५) अनुमोदित शिक्षाको आठांै संशोधन ऐनले शिक्षकहरुलाई दलको सदस्यता लिन प्रतिवन्ध लगाएको छ । त्यो प्रतिवन्ध किन लगाईयो जवाफ दलहरुसँग नै होला ।

तपाईलाई पक्कै हेक्का होला, आफ्ना प्रतिनिधिले बनाएको उक्त ऐनको धज्जी समाजका सचेत भनिने शिक्षकहरुले उडाईरहेकै छन् । अझैपनि राजधानीका ग्रामिण क्षेत्र र मोफसलमा पुग्दा सरकारी वा सामुदायिक विद्यालयका शिक्षकले आफुलाई शिक्षक भन्दा फलानो पार्टीको कार्यकर्ता हुँ, भन्न गर्व गर्ने सँख्यामा कुनै कमी आएको छैन ।

आफ्नो प्राध्यापन समयलाई वेवास्ता गर्दैं दलका कार्यकर्ताले सरह दलका स्थानीय वा जिल्ला स्तरीय कार्यक्रममा प्रतिनिधित्व गर्न अधिकाँश नेता चरित्रका शिक्षकहरु चुक्दैनन् । विद्यालय सञ्चालन भएको दिन पनि विद्यालय समयमा त्यस्ता कार्यक्रममा आफ्नो सहभागीता जनाउन दलप्रति वफदार शिक्षकहरुले कुनै संकोच नै मान्दैनन् । त्यो पनि नजिकैको विद्यालयमा हाजिर गरेर कार्यलय (१० देखि ५) समयमा स्थानीय संघ संस्था वा दलका कार्यक्रममा सरिक हुन गौरव गर्ने शिक्षकहरु गाउँ वस्तीमा देख्दा कुनै अनौठो नमाने हुन्छ ।

आफुहरुलाई कुनै वेला दलका कार्यकर्ता बन्न पर्छ भनेर प्रेरणा गर्ने पार्टीका नेताहरुले ऐन बनाउँदा आफ्नो संलग्नतामा प्रतिवन्ध लगाएको छ, भन्दा उनीहरुले जोकोहीलाई ओठे जवाफ दिन्छन् । हाम्रो स्वतन्त्रता खोई ? हाम्रो भोट चाहिन्न ? आदी ईत्यादी ।

त्यस्ता जवाफको प्रतिवाद गर्न सक्ने सार्मथ्य न दलका नेतागणसँग छ । न अधिकाँश सञ्चारकर्मीसँग छ । सरकारको तलव थाप्ने शिक्षकले कसलाई मान मनितो धर्नु ? किन धर्नु ? समय र परिवेश अनुसारको जिम्मेवारी हुन्छ । वदलिँदो समयमा वदलिन सक्नु पर्छ भन्ने जवाफ उनीहरुलाई कस्ले दिने ? उनीहरुसँग जवाफ सवाल गर्ने अाँट कस्ले गर्ने ? समाजमा तै चुप मै चुपको अवस्था छ । स्थानीय स्तरमा शिक्षकलाई ऐन वारे सचेत आखिर कस्ले गराउने ?

भनिन्छ, शिक्षक समाजका चक्षु हुन् । उनीहरुले गर्ने व्यवहार, पढाउने शिक्षा र बुझाउने ज्ञानको ठुलो अर्थ रहन्छ । त्यसैले शिक्षक ईमान्दार, नैतिकवान र मर्यादित भैदिए समाजको वेथिती आधा कम हुन्छ, भन्निछ । हिंसा (प्रत्यक्ष वा अप्रत्यक्ष) न्युनीकरण गर्न सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । विद्यार्थीमा शिक्षाको थप भोक जाग्न सक्छ । त्यसको प्रभाव सिंगो समाजमा पर्छ । समाजलाई सुचित गर्ने संचारजगतमा पनि त्यसको सकारात्मक प्रभाव पर्न सक्छ ।

तर यतिवेला नेपाली समाजका गाउँ गाउँमा शिक्षकहरुको चरित्र उदांगो छ । जिल्लामा एफएम, पत्रिका र अनलाईन छन्, अरुलाई अर्तिवुद्धि प्रसारित गर्ने पत्रकारकामा सदाचारिता छ्रैन । दुवै पेशामा आ आफ्नै घमण्ड छ । शिक्षकले ऐन नियम कानुन र निर्देशिकाको खिल्ली उडाउने । पत्रकार उनीहरुले उडाएको खिल्लीलाई माग्ने भाडो बनाउने प्रतिष्पर्धा छ, भन्ने स्विकार गर्न मलाई कुनै आईतबार कुर्न पर्दैन । अर्याल सर मार्फत् म देशभरका शिक्षकलाई चुनौती दिन्छु के तपाईमा यो गर्ने शाहस छ ?  

शिक्षकहरुको कमजोरीलाई आफ्नो कलम वा बोलीबाट सचेत गराउनुको सट्टा दाताहरुसम्म पुरयाएर परियोजना बनाउन शिक्षाका नाममा खुलेका पत्रकार संस्था अभ्यस्त छन् ।

यहाँ नेर शिक्षक र पत्रकारबिच एउटा समान चरित्र भने फेला पर्छ । शिक्षा पहँुच र सुधार गर्ने निहुँमा निमुखा वर्गको पेटमा नाङ्ले किरा बनेर नेता कर्मचारीले जस्तै शिक्षक र पत्रकारले समाजलाई खोक्रो बनाईरहेको कुरा जति सक्दो छिटो स्विकार गर्न सकौं । जति छिटो यो स्विकार हुन्छ, त्यति नै छिटो शिक्षाका माध्यमबाट हुने समाज रुपान्तरणको काम सही मार्गबाट थालनी हुन्छ ।

त्यत्ति कामको शुरुवात गर्न सकियो भने अर्कालाई सत्तो सराप गर्ने फुर्सद शायदै होला । कल्पना गर्नुस् त अर्याल् सर – विद्यालय समयमा तपाई त्यसरी भाषण गर्न ब्यस्त नभई कक्षा कोठामा विद्यार्थीलाई सिकाईरहेको अवस्थामा फेला पर्नुहोस् !

अनी म तपाईको कर्मले समाज रुपान्तरणको काममा पुगेको योगदान र विद्यार्थीको सिकाईमा भएको प्रगति बारे रिपोटिङ् गर्न, विद्यालय समय पछि तपाईलाई भेट्ने आशामा ब्यग्रतापूर्वक बाहिर कुरिरहेको हुँ !

प्रतिक्रिया