Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
विचार / विमर्श

कक्षाकोठा ब्यवस्थापनका बारेमा

बुधबार, १७ कार्तिक २०७३

शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी रुपमा सञ्चालन गर्न उपयुक्त किसिमको सिकाइ सहजीकरण प्रक्रिया आवश्यक हुन्छ । सहीढंगले कक्षाकोठा ब्यवस्थापन भएको अवस्थमा मात्र सिकाइ सहजीकरण प्रकृयालाई पनि प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ । कक्षाकोठाको व्यवस्थापनबारे चर्चा गर्नुपूर्व शैक्षणिक व्यवस्थापनको बारेमा चर्चा गर्न आवश्यक हुन्छ ।

प्रभावकारी शिक्षणको लागि आवश्यक पर्ने सम्पूर्ण साधन–स्रोत एवम् गतिविधिहरूलाई व्यवस्थित रूपले सञ्चालन गर्न गरिने तयारीलाई शैक्षणिक व्यवस्थापन भनिन्छ । शैक्षणिक व्यवस्थापन अन्तर्गत पाठ्यक्रमले निर्दिष्ट गरेको शैक्षिक उपलब्धि प्राप्त गर्नको लागि आवश्यक पर्ने शैक्षणिक क्रियाकलाप, सामग्रीको छनौट, विधि तथा प्रक्रियाहरूले बन्दोबस्त लगायत शैक्षिक, भौतिक, सामाजिक एवम् व्यवस्थापकीय पक्षहरूको समन्वयात्मक तयारी समेत पर्दछ ।

शैक्षणिक व्यवस्थापनले शिक्षणकार्यलाई निर्वाद रूपमा अगाडि बढाउन आवश्यक पर्ने सम्पूर्ण पक्षहरूको समुचित ढङ्गले प्रबन्ध मिलाउने भएकोले उपयुक्त शैक्षणिक व्यवस्थापनको अभावमा पाठ्यक्रमले तोकेको शैक्षिक उपलब्धि हासिल गर्न सम्भव हुँदैन । यति मात्र होइन शैक्षणिक व्यवस्थापनबाट सिकाइमा आइपर्ने समस्याहरूको समुचित सम्बोधन गरी तोकिएको समयमा कार्य सम्पन्न गर्न समेत बल पुग्ने हुँदा सिकाइको सन्दर्भमा शैक्षणिक व्यवस्थापन अत्यन्त महŒवपूर्ण मानिन्छ । सिकाइ सहजीकरणको लागि कक्षाकोठा ब्यवस्थापन गर्दा उल्लेखित कुराहरुमा ध्यान पुराउन आवश्यक देखिन्छ ।

कक्षा वातावरण वृद्धि      

शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी सिकारुमा अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कक्षाकोठा उपयुक्त र सान्दर्भिक हुनुपर्दछ । कक्षा वातावरण निर्माण भन्नाले प्रभावकारी शिक्षण सिकाइको लागि आवश्यक पर्ने सामग्रीहरूको रखाइ एवम् विद्यार्थीको बसाइ समेतलाई बुझ्नुपर्दछ । त्यसो त कक्षाकोठा उपयुक्त साइजको आनन्ददायी, शान्त, सफा र उपयुक्त प्रकाश एवम् हावाको व्यवस्था भएको भएमा पठन–पाठन कार्य सहजरूपमा सञ्चालित हुन सक्दछ ।

कक्षाकोठाको वातावरणले सम्पूर्ण त्यहाँका गतिविधिलाई प्रभावित पार्ने हुँदा भौतिक वातावरणको साथ–साथै शिक्षक र विद्यार्थीबीच असल मानवीय र सामाजिक सम्बन्ध सुदृढ गर्न पहल गर्नुपर्दछ । समग्रमा भन्दा शिक्षण सिकाइको लागि भौतिक, शैक्षिक, सामाजिक एवम् मनोवैज्ञानिक सम्बन्धलाई कक्षाकोठामा व्यवस्थित गर्नु नै कक्षा वातावरण निर्माण गर्नु हो ।

वातावरण निर्माणमा ध्यान दिन आवश्यक कुरा :

—    सिकारुको व्यक्तिगत भिन्नतालाई ख्याल गरी सोहीअनुरूप कक्षा क्रियाकलापमा सहभागी गराउने  

—    स्वच्छ शैक्षिक प्रतिस्पर्धा गराइ सिकाइप्रति उत्सुक बनाउने

—    शैक्षिक सामग्रीको छनौट, सङ्कलन एवम् निर्माणमा सिकारुको क्रियाशिलताको अभिवृद्धि गर्ने

—    शिक्षक र विद्यार्थीबीचको समन्वयात्मक सम्बन्ध विकास गर्न निष्पक्ष ढङ्गले व्यवहार गर्ने

—    हरेक सिकारुको जिज्ञासालाई महŒव दिई समाधानतर्फ अगाडि बढ्ने

—    राम्रो तयारीको साथ शिक्षक कक्षाकोठामा प्रवेश गर्ने

—    कुनै पनि विद्यार्थीले शिक्षकको कमी– कमजोरी पत्ता लगाएमा त्यसलाई सहजरूपमा लिई यस्तो कार्यमा सिकारुलाई प्रोत्साहित गर्ने, आदि ।

कक्षाकोठाको भौतिक वातावरण निर्माण  

शिक्षण सिकाइ–क्रियााकलाप सञ्चालन गरिने औपचारिक स्थल विद्यालय भएकोले यो उपयुक्त र सुविधायुक्त हुनुपर्दछ । यसको सोझो अर्थ विद्यालय भौतिकरूपमा सम्पन्न भएको हुनुपर्दछ । कक्षाकोठाको भौतिक वातावरणअन्तर्गत निम्न पक्षहरू समावेश भएको हुुनुपर्दछ :

—    उपयुक्त विद्यालय भवन (Appropriate school building)

—    उपयुक्त आकारको कक्षाकोठा (Appropriate size of classroom)

—    कक्षाकोठामा प्रकाश  (Lighting of classroom)

—    कक्षाकोठामा हावा (Ventilation of classroom)

—    तापक्रम (Temperature)

—    कक्षाकोठाको सरसफाइ (Sanitation of classroom)

—    फर्निचर व्यवस्थापन (Furniture management)

—    शैक्षिक सामग्रीको व्यवस्थापन (Management of instructional materials)

—    कक्षाकोठाको सजावट (Decoration of classroom)

—    चकबोर्डको रखाइ (Chalk board management)

—    बसाइ व्यवस्था (Seating arrangement)

—    क्रियाकलाप व्यवस्था (Activities management)

समग्रमा भन्दा कक्षाकोठाको वातावरण वृद्धि  (Enhancing classroom climate) भन्नुको तात्पर्य कक्षा शिक्षणलाई प्रभावकारी र उपयोगी बनाउन अवलम्बन गरिने विविध क्रियाकलापहरूको सही ढङ्गले बन्दोबस्त मिलाउनु हो । कक्षाकोठाको वातावरण वृद्धिबाट निम्न फाइदाहरू प्राप्त गर्न सकिन्छ –

बाल–बालिकाको आत्मविश्वस र स्वाभिमानको विकास गराउनु

शैक्षणिक व्यवस्थापन सही रूपमा गरिएको खण्डमा त्यहाँ राम्रो शैक्षिक वातावरणको सृजना  हुन्छ । यस्तो अवस्थामा स्वाभाविक रूपमा सिकारुलाई आफै केही गरेर देखाऊ भन्ने भावना जागृत हुन्छ जसलाई आत्मविश्वासको विकास भन्न सकिन्छ । आत्माविश्वासको खास अर्थ सिकारुमा सिकाइप्रति आकर्षण बढ्नु पनि हो । कक्षाकोठाको वातावरण शिक्षण–सिकाइ–क्रियाकलापको लागि अनुकूल भएको अवस्थामा बालबालिकाहरू आत्मविश्वासी भई आफ्नो कार्यमा दत्तचित्त हुन्छन् र उनीहरूमा स्वाभिमानीपूर्वक गरेर सिक्ने (Learning by doing) भावनाको विकास हुन्छ । यसरी कक्षाकोठाको वातावरण वृद्धिबाट बाल–बालिकाहरूले स्वतन्त्र ढङ्गले सहजरूपमा शिक्षण सिकाइ–क्रियाकलापमा सहभागी हुने अवसर प्राप्त गर्न सक्ने हुँदा प्रभावकरी शिक्षणको लागि यसलाई एक अत्यावश्यक पक्षको रूपमा लिन सकिन्छ ।

सम्मिलित कक्षाकोठाको निर्माण गर्नु 

प्रभावकारी शिक्षण गर्न आवश्यक सम्पूर्ण पक्षहरू जस्तैः सामाजिक, भौतिक एवम् शैक्षिक वातावरणहरूको समन्वयात्मक व्यवस्था भएको कक्षाकोठालाई सामान्य अर्थमा सम्मिलित कक्षाकोठा भन्ने गरिन्छ । यस्तो कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापलाई सहजरूपमा सञ्चालन गर्न चाहिने स्रोत एवम् सामग्रीहरू योजना बद्धढङ्गले समावेश गरिएको हुन्छ । कक्षाकोठाकमा विभिन्न सामाजिक सांस्कृतिक परिवेशका बाल–बालिकाहरू अध्ययन  गर्न आएका हुन्छन् । यिनीहरूका आर्थिक, पारिवारिक भिन्नताहरू पनि हुन्छन् जसले कक्षा शिक्षणलाई चुनौतीपूर्ण बनाएको हुन्छ । विभिन्न क्षमता भएका र विविध परिवेशका सिकारुलाई एउटै थलोमा राखेर शिक्षण गर्नु पक्कै पनि सजिलो कार्य होइन । यसर्थ सिकारुको व्यक्तिगत भिन्नतालाई आत्मासात् गर्दै उनीहरूको रुचि, चाहना एवम् आवश्यकताको उचित सम्बोधन हुने गरी शिक्षकले शिक्षण कार्यलाई  अगाडि बढाउनुपर्दछ । अवसरहरूको समान वितरण–समूह विभाजन, जिम्मेवारीको बाँडफाँड आदि प्रक्रिया अपनाएर सम्मिलित कक्षाकोठा निर्माण गर्न सकिन्छ ।

प्रयोजनयुक्त समयचक्र विकास गर्नु

हरेक विषय आ–आफ्नो क्षेत्रमा उपयोगी र महŒवपूर्ण हुन्छ । यति हुँदाहुँदै पनि पाठ्यक्रमले निर्दिष्ट गरेको पाठ्यभारलाई आधार मानेर विषय शिक्षकले आ–आफ्नै विषयको समयतालिकाअनुसार शिक्षण कार्य गर्नुपर्दछ । कतिपय सैद्धान्तिक विषयहरू तोकिएको समय भन्दा छिटो शिक्षण गर्न सम्भव हुन्छ भने प्रयोगात्मक विषयहरूको शिक्षण निर्दिष्ट समय तालिकाको आधारमा सम्पन्न नहुन सक्दछ । यसरी विषयवस्तुको प्रकृतिअनुसार शिक्षक, विद्यार्थी एवम् विद्यालय प्रशासनबीच सहभागी गराइ प्रयोजनयुक्त समय चक्र निर्माण गर्नुपर्दछ । यति मात्र होइन विद्यालयमा शिक्षण सिकाइ–क्रियाकलापको साथसाथै विभिन्न अतिरिक्त एवम् सह–क्रियाकलापहरू पनि सञ्चालन गर्ने गरिन्छ । यसबाट सिकारुलाई मानसिक र शारीरिक विकास गर्न मद्दत पुग्दछ ।

विद्यालयमा गरिने विभिन्न शैक्षिक एवम् अतिरिक्त क्रियाकलापहरू तथा विभिन्न विषयहरूको शिक्षणकार्यलाई योजनाबद्ध ढङ्गले सञ्चालन गर्न प्रयोजनयुक्त समयतालिका निर्माण गरी अगाडि बढ्न सके समय, स्रोत एवम् साधन र परिश्रमको सही सदुपयोग हुने देखिन्छ ।

कक्षाकोठा वातावरणको सङ्गठन

कतिपय अवस्थामा सङ्गठन र व्यवस्थापनलाई एउटै रूपमा प्रयोग गर्ने गरिन्छ तथापि व्यवस्थापनले आवश्यक सामग्रीहरू जुटाउनु भन्ने अर्थ दिन्छ र सङ्गठनले सिल सिलाबद्ध किसिमले आवश्यक सामग्रीहरूलाई मिलाएर राख्नुलाई बुझाउँछ । कक्षाकोठा वातावरणको सङ्गठनभित्र कक्षा शिक्षणमा आवश्यक पर्ने भौतिक, प्रशासनिक, समाजिक एवम् मनोवैज्ञानिक पक्षहरूको सन्तुलित व्यवस्थापन समेटिएको हुन्छ । उपयुक्त प्रकाश एवम् हावा, डेस्कबेञ्चको उचित रखाइ, कालोपाटी, सन्दर्भ पुस्तक, शैक्षिक सामग्रीहरू आदिको व्यवस्था उचित ढङ्गले मिलाउनु नै कक्षाकोठा वातावरणको सङ्गठन हो । यसरी कक्षाकोठाको उपयुक्त वातावरण सृजना गर्न शिक्षक र विद्यार्थीको पारस्परिक सहयोगको आवश्यकता पर्दछ ।

कक्षाकोठा वातावरणको सङ्गठनभित्र निम्न कुराहरू समेटिनु आवश्यक हुन्छ :

सिकाइ वातावरण

कक्षाकोठालाई सिकाइयुक्त वातावरण बनाउन केवल भौतिक व्यवस्थापन भएर मात्र पुग्दैन । यसको लागि त अनुशासित वातावरण हुन आवश्यक हुन्छ  । स्वच्छ  र सफा वातावरण, विद्यार्थी सङ्ख्याको आधारमा उपयुक्त आकारको कक्षाकोठा, डेक्सवेञ्च एवम् कालोपाटीको उपयुक्त रखाइ र आवश्यक सामग्रीहरूको उचित व्यवस्थापन भएको अवस्थामा कक्षाकोठामा सिकाइ वातावरण बन्दछ र शिक्षक एवम् विद्यार्थी दुवै सिकाइ–क्रियाकलापमा उत्साहित बन्दछन् ।

स्थानको प्रयोग

कक्षाकोठामा कहाँ कुन सामग्री राख्दा उपयुक्त हुन्छ भनेर निक्र्योल गर्नुपर्दछ । स्थानको सही किसिमले प्रयोग गर्न सके कक्षाकोठा व्यवस्थित हुन्छ र सिकाइ अनुकूल वातावरण बन्दछ । विद्यार्थी बस्ने स्थान, खरीपाटी (Chalk board) राख्ने स्थान, शिक्षण सामग्री प्रदर्शन गर्ने स्थान आदिको बन्दोबस्त मिलाउनु नै स्थानको प्रयोग हो ।

स्रोतहरू र समयको प्रयोग  

शिक्षण सिकाइको लागि प्रयोग गरिने भौतिक, शैक्षिक एवम् मानवीय स्रोतहरू अत्यन्त महŒवपूर्ण मानिन्छन् । एकातिर पठन–पाठन कार्यको लागि पाठ्यपुस्तक एवम् शिक्षक भएर मात्र पुग्दैन, यसको लागि उपयुक्त स्रोत एवम् सामग्रीहरूको आवश्यकता पर्दछ । अर्कोतिर शिक्षण–सिकाइको लागि कति समय निर्धारण गरिएको छ सोबारे पनि स्पष्ट हुनुपर्दछ । तोकिएको समयको अधिकतम प्रयोग गरी शिक्षण कार्यलाई प्रभावकारी बनाउन स्रोत र समयको न्यायोचित प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।

कक्षा शिक्षण खासमा दोहोरो सञ्चार प्रक्रिया (Two way communication) हो  । यसमा शिक्षक र विद्यार्थीको प्रत्यक्ष संलग्नता रहेको हुन्छ । विद्यार्थी जति सक्रिय भयो त्यति नै सिकाइको प्रभावकारिता बढ्छ । शिक्षण सिकाइ–क्रियाकलापको सन्दर्भमा सिकारुले देखाउने क्रियाकलापहरू नै खास अर्थमा सिकारुको प्रतिक्रिया हो । सिकारुबाट उपयुक्त र सान्दर्भिक प्रतिक्रियाहरू मात्र आउँदैनन् । कतिपय अवस्थामा उनीहरूको क्रियाकलाप एवम् व्यवहारले शिक्षण प्रक्रियालाई अलमल्याउन पुग्दछ । यस्ता विविध क्रियाकलाप र व्यवहारलाई उपयुक्त ढङ्गले व्यवस्थापन गरी कक्षाकोठालाई अनुशासित  र शैक्षिक वातावरणयुक्त बनाउन शिक्षकमा आवश्यक कला हुनुपर्दछ । सिकारुलाई शिक्षण कार्यमा संलग्न गराई उनीहरूलाई विषयवस्तुतर्फ उत्प्रेरित गराउन शिक्षकले सिकारुलाई विभिन्न जिज्ञासाहरू पैदा गराउनुपर्दछ । कतिपय अवस्थामा अनपेक्षित क्रियाकलापहरू पनि विद्यार्थीले प्रदर्शन गर्न सक्छन् । यस्तो अवस्थामा सिकारुको गलत धारणा हटाई अपेक्षित व्यवहारतर्फ उनीहरूलाई उन्मुख गराउनुपर्दछ ।

कक्षाकोठाको वातावरण निर्माण गर्न केवल कक्षाकोठाको भौतिक तयारीले मात्र हुँदैन । यसको लागि कक्षा कोठामा सामाजिक वातावरणसमेत उपयुक्त र सान्दर्भिक हुनुपर्दछ । कक्षाकोठाको सामाजिक वातावरण अन्तर्गत सहयोगात्मक वातावरण, स्वस्थ प्रतिस्पर्धा पृष्ठपोषण (Feedback) लगायत सिकारुहरूबीच हुने जातीय, सामाजिक, आर्थिक , धार्मिक, सांस्कृतिक एवम् व्यक्तिगत भिन्नतालाई ख्याल गरी सकारात्मक धारणा विकास गर्ने पक्षहरूसमेत समेटिनुपर्दछ ।

विभिन्न पारिवारिक परिवेशवाट आएका विद्यार्थीलाई अनुशासित र सक्रिय बनाउन सर्वप्रथम उनीहरूको प्रतिक्रियाहरूको अध्ययन गर्नुपर्दछ । प्रतिक्रियाहरू शिक्षण कार्यको लागि सहयोगी हुनसक्यो भने मात्र उनीहरूलाई प्रतिक्रिया देखाउन उत्साही गराउनुपर्दछ । सक्षम, क्षमतावान्, व्यक्तित्वशाली र तालिमप्राप्त शिक्षकवाट मात्र सिकारुको प्रतिक्रियाको कलात्मक ढङ्गले व्यवस्थापन हुन सक्दछ । शिक्षकले सिकारुको प्रतिक्रिया व्यवस्थापन गर्न निम्न कुराहरूमा ध्यान पु¥याउन आवश्यक हुन्छ :

—    भरसक सामूहिक क्रियाकलापभन्दा व्यक्तिगत क्रियाकलापमा जोड दिनुपर्दछ । यसो गर्दा कक्षा शान्त र अनुशासित हुन्छ ।

—    व्यक्तिगत भिन्नताको आधारमा शिक्षण कार्य अगाडि बढाउनु पर्दछ ।

—    अटेरी, झगडालु र वदमाश विद्यार्थीलाई मनोवैज्ञानिक ढङ्गले क्रमश ः सही मार्गतर्फ उन्मुख गराउनुपर्दछ ।

—    कक्षाकोठामा पुरस्कार र दण्डको व्यवस्था मिलाउनुपर्दछ ।

—    सिकारुले दिएका प्रतिक्रियाहरूमध्ये सही प्रतिक्रिया कालोपाटीमा नोट गरी अन्य विद्यार्थीहरूलाई समेत सही प्रतिक्रिया दिन
    उत्पे्ररित गर्नुपर्दछ

उल्लेखित यावत क्रियाकलापहरुको व्यवस्थापन नै कक्षाकोठा ब्यवस्थापन हो । जसबाट सिकाइ सहजीकरण प्रकृया सहजरुपमा सञ्चालन गरी अपेक्षित सिकाइ उपलब्धी प्राप्तिमा सहजता सम्भव रहन्छ ।

[email protected]

प्रतिक्रिया