Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

त्रिभुवन विश्वविद्यालयमा भद्रगोल, संगिनी सुईको विम्ब !

विहीबार, २५ कार्तिक २०७३

काठमाडौं - हिजो आज किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा 'संगिनी सुई' निकै चर्चित भएको छ । जन्मान्तर अपनाउन चाहने महिलाले गर्भ निरोधकका रुपमा ३ / ३ महिनामा लगाउने परिवार नियोजनको अस्थायी साधन यो सुई विश्वविद्यालयमा कसरी चर्चित भयो त ?

 

शिक्षा शास्त्र संकाय अन्र्तगत विभागीय प्रमुखको तीन महिने नियुक्ति तर्फ संकेत गर्दै हिजो आज प्राध्यापकहरु नै संगिनी सुईको 'विम्ब' प्रयोग गर्छन् ।

आफ्नो कार्यकाल पुरा गरेर २०७२ पुस ३० गते अवकास पाएका तत्कालिन विभागीय प्रमुख शिवशरण महर्जन पछि शिक्षा शास्त्रले ३ ३ महिनामा नयाँ नयाँ प्रमुख पाउँदै आएको छ ।

उपकुलपति प्रा.डा. तीर्थ खनियाले आफ्नो अधिकार प्रयोग गर्दै हरेक तीन तीन महिनामा प्रमुख नियुक्त गर्दै आएका छन् । महर्जन पछि प्रा.डा. विदुर फुयाललाई प्रमुख बनाईएको थियो । उनले एक महिनामै राजिनामा दिएपछि खनियाले २०७२ फागुनमा प्रा.डा.पारसमणि भण्डारीलाई प्रमुख बनाएका थिए ।

तीन महिने अवधि पुरा गरेर २०७३ जेठमा  विदा भएका भण्डारी पछि प्रा. कृष्णप्रसाद आचार्यलाई गत साउनमा प्रमुख बनाईएको थियो । आचार्यको तीन महिने अवधि गत कात्तिक १७ गते सकियो । त्यस यता अर्को तीन महिने प्रमुख को हुने हो ? टुङ्गिन बाँकी छ ।

'भीसी सर चिन भ्रमणमा हुनुहुन्छ त्यसैले अव सुइ लाउने पालो कस्को हो यसै भन्न सकिन्न' एक जना प्राध्यापकले भने, 'पठन पाठन र अध्ययन अनुसन्धानको काममा ब्यस्त हुनु पर्ने  प्राध्यापकहरु यसपटक तीन महिने सुई कसले लाउने भयो भन्ने ध्याउन्नमै ब्यस्त छन् ।'

राजनीतिक भागवण्डाले विश्वविद्यालय कति क्षत विक्षत भएको छ भन्ने उदाहरण शिक्षा शास्त्रको प्रमुख नियुक्तिको यो प्रकृयाले नै छर्लङ्ग पारेको छ । उपकुलपतिको विशेष अधिकार क्षेत्र भित्र पर्ने भएपनि प्राज्ञिक थलोमा हुने नियुक्ति अलिक दिर्घकालिन बनाउन नसक्दा समग्र विश्वविद्यालयको छवी धमिलो हुँदै गएको भन्दै विश्वविद्यालयका एक जना पदाधिकारीले चिन्ता ब्यक्त गरे ।

'३ महिनाका लागि प्रमुख नियुक्त गर्ने अधिकार भीसीसँग छ भन्नुको मतलव सँधै त्यही प्रकृया अपनाउ भनेको त हैन नी' ती पदाधिकारीले गुनासो गर्दै भने, 'कतिपय अवस्थामा त निर्णय भईसकेपछि त्यसमाथि अर्कैले भनेर थाह पाउँछौं ।'

विश्वविद्यालयकी रेक्टर प्रा.डा. सुधा त्रिपाठी विभागीय प्रमुख नियुक्ति गर्ने अधिकार उपकुलपतिसंग भएकोले यो सामान्य प्रकृया भएको तर्क गर्छिन् ।

विश्वविद्यालयलाई प्राज्ञिक थलो कम र राजनीतिक कार्यकर्ता भर्ति गर्ने केन्द्र ज्यादा बनाउँदा समस्या भएको अर्का एक जना प्राध्यापक गुनासो गर्छन् ।

'विश्वविद्यालयको प्राध्यापक हुँ भन्दा गर्व गर्ने दिन विस्तारै सकिदैं गए झै लाग्न थालेको छ' उनले भने, 'कुरा नबुझेका भनौं भने बुझेकै मान्छे छन्, बुझेका भनौं भने काम गर्दैनन्, दलको कार्यकर्ता भएर भागबण्डामा पदाधिकारी नियुक्त हुँदाको असर विस्तारै क्रोनिक बन्दै गएको छ ।'

'जहाँ सम्म दलगत भागबण्डाको कुरा गर्नु भयो, त्यो त विश्वविद्यालयमा मात्रै हैन माथि देखिनै छ' त्रिपाठी भन्छिन्, 'विश्वविद्यालयमा राजनीतिक प्रभावले काम गरेको छ की छैन भन्ने कुरा मुख्य हो , हामी यसमा सचेत छौं ।'

उनले यस्तो दावी गरे पनि भागबण्डा नमिलेकै कारण डीन नियुक्ति हुन नसक्दा विभागीय प्रमुख नियुक्ति देखि विश्वविद्यालयको शैक्षिक कार्यक्रम लथालिङ्ग बनेको हो । विभागीय प्रमुख नियुक्त हुन नसक्नुको पछाडि लामो समय डीन नियुक्त हुन नसक्दाको असरले काम गरेको हो । र डीन नियुक्त हुन नसकनुका पछाडी त्यही राजनीतिक भागबण्डाको भूमिका छ ।

यतिखेर त्रिभुवन विश्वविद्यालयका ८ मध्ये ईञ्जिनीयरिङ् बाहेक सबै संकायमा डीन खाली छन् । शिक्षा शास्त्रमा गएको जेठबाट डीनको पद रिक्त छ । चिकित्सा शास्त्रमा डीन नियुक्ति गर्न डा. गोविन्द केसीले अल्टिमेटम दिईसकेका छन् । यहाँ पनि विगत आठ महिनादेखि उपकुलपतिले तीन–तीन महिनाका लागि निमित्त डीन नियुक्त गर्दै आएका छन् ।

सहायक डिन डा. विमल सिन्हाको चारवर्षे पदावधि बिहीबारै सकिँदै छ । बिहीबार डिन नियुक्त नभए आइओएम पदाधिकारी विहीन हुनेछ । त्यसैले डा. केसीले तुरुन्त डीन नियुक्त नगरे फेरी सत्याग्रह गर्ने चेतावनी बुधबारै दिईसकेका छन् ।

यसैगरी ब्यवस्थापन, विज्ञान, मानविकी, कृषि तथा वन र कानून संकायमा २ महिना देखि डीन खाली छ ।

यस अघि चिकित्सा, कृषि, वन, मानविकी र कानून काँग्रेसको भागमा, शिक्षा र ईञ्जिनीयरिङ् एमालेको भागमा र विज्ञान र ब्यवस्थापनको डीन माओवादीको भाग लगाईएको थियो ।

यस पटक सत्ता गठबन्धनमा भएको फरबदलले उक्त भागबण्डामा सहमती जुट्न नसक्दा डीन नियुक्ति ढिलो भएको श्रोत बताउँछ । तर, विश्वविद्यालयकी रेक्टर त्रिपाठी भने डीन नियुक्तिको प्रकृया जारी रहेको दावी गर्छिन् ।

'प्रत्येक संकायको डीन नियुक्तिका लागि ३/ ३ जनाको सर्च कमिटि बनाएर चयनको प्रकृया शुरु गरेका छौं' उनले भनिन् 'उपयुक्त ब्यक्ति छनौट गर्न पनि गाह्रै छ, पिएचडी गराउने ब्यक्ति आफैं पिएचडी होल्डर नभएर पनि भएन, आवश्यक मापदण्ड पुगेका ब्यक्तिको छनौटको काम सर्च कमिटीले गरिरहेको छ ।'

विश्वविद्यालयको भद्रगोलले गर्दा स्नातकोत्तर तहमा हुने सेमेष्टरको भर्ना प्रकृया नै लथालिङ्ग भएको छ । विज्ञान अन्र्तगत वीएस्सी तेश्रो बर्षको नतिजा गत साउनमा प्रकाशित भए पनि अहिले सम्म भर्नाको प्रकृया शुरु भएको छैन । मानवीकि र ब्यवस्थापन अन्र्तगत स्नातक तहको तेश्रो बर्षको नतिजा असोजमा सार्वजनिक भए पनि स्नताकोत्तरको भर्ना प्रकृया पनि उस्तै हालतमा छ ।

डीन नियुक्त नहुँदा विश्वविद्यालयले गर्नु पर्ने अध्ययन अनुसन्धानको काम ठप्प छ । विश्वविद्यालय अन्र्तगतका सिनास, सेरीड, सेडा र रिकाष्ट जस्ता अनुसन्धान केन्द्रित निकायमा निर्देशक खाली छन् ।

डीनको परामर्शमा रेक्टरले गर्ने सिफारिसका आधारमा कार्यकारी समितिले निर्देशक नियुक्ति गर्ने ब्यवस्था छ ।

प्रतिक्रिया