Edukhabar
शनिबार, २२ बैशाख २०८१
खबर/फिचर

पढे पढ, नपढे नपढ !

शनिबार, २७ कार्तिक २०७३

काभ्रे - तामाङ समुदायको बाहुल्यता भएको गाउँ हो तिमाल। पछिल्लो समयमा बुद्धचित्तको मालाले प्रख्याति पाएको ठाउँ यही हो । सोही ठाउँमा रहेका विभिन्न विद्यालयहरुमध्ये एक हो, नारायणस्थान गाविसको नारायणस्थान उच्च माध्यामिक विद्यालय । सोही विद्यालयको कक्षा १० मा पढिरहेका एक छात्र कान्छा स्याङ्बाले आफ्नो पढाइ र शिक्षकहरुको बारेमा व्यक्त गरेको अभिव्यक्ति :

मेरो घर नारायणस्थान– ९, याङबेलमा हो । म यहीँको नारायणस्थान उच्च माविको कक्षा १० मा पढिरहेको छु । मलाई स्कुल जान आधा घण्टाजति हिँड्नुपर्छ । गाउँमा खानेपानीको समस्या भएकोले पानी बोकिसकेपछि मात्र स्कुल जान पाउँछु ।

मेरो कक्षामा ६६ जना साथीहरु छन्, मेरो रोल नं. ५९ हो । म आफूलाई भने राम्ररी पढिरहेको छु जस्तो लाग्छ । तर जाँचमा भने लेख्न सक्तिँन ।

सँधै स्कुल जान त कसलाई पो मन लाग्दैन र ? तर स्कुलमा सरमिसहरु सँधै आउनुहुन्न । त्यसपछि भने दिक्क लाग्छ । घरमै बसी घरको काम गरेको भए नि हुन्थ्यो जस्तो लाग्छ ।

यो वर्ष म एसएलसी दिँदैछु तर एसएलसी हुने हो कि होइन ? त्यो पनि थाहा छैन । यो बारेमा सरमिसहरुले पनि केही भन्नुभएको छैन । त्यही भएर होला, गएको वर्ष भए कक्षा १० मा पढिरहेका दाइदिदीहरुलाई थप(एक्स्ट्रा) कक्षा सुरु गरिसकेको थियो तर यो पालि भने थप कक्षा पनि सुरु गरेको छैन । यो वर्ष थप कक्षा पनि होला कि नहोला थाहा छैन । थप कक्षाका लागि अरु शिक्षकहरु खटाउने गरेका थिए, तर यो पालि खै के गर्छन् ? थाहा छैन ।

अहिलेसम्म किताबका आधा पाठ पनि सकिसकेको छैन । पढ्दै नपढी कसरी जाँच दिने होला ? चिन्ता लागिरहेको छ । जाँचमा के लेख्ने होला ? चिन्ता लागिरहेको छ ।

स्कुलमा कोही पनि शिक्षकहरु सँँधै आउनुहुन्न । आज एउटा विषयको शिक्षक गयल भयो भने भोलि अर्कै विषयको शिक्षक गयल हुनुहुन्छ । हामीले सोध्दा पनि जवाफ दिनुहुन्न । हामी पनि स्कुल आएको छ कि छैन भन्ने पनि मतलब गर्नुहुन्न । अझ आएका शिक्षकहरु पनि पढाउँदैनन्, कहिले के काम पर्यो, कहिले के काम पर्यो भन्दै जानुहुन्छ, कहिले कुनै इमर्जेन्सी मिटिङ छ भन्दै जानुहुन्छ । पढाइरहेको कक्षा नै छोडेर जानुहुन्छ, त्यस्तो बेला दिक्क लाग्छ । कोही शिक्षकहरु अफिसमै, स्कुलको चौरमा दुईतीन जना÷दुईतीन जना बसेर गफ गर्दै बसिरहनुहुन्छ ।

शिक्षक नहुँदा कक्षाकोठामा हल्लाखल्ला बढी हुन्छ । साथीहरु बाहिर निस्कने, साथीहरुसँग खेल्ने, दौडादौड गर्छन् । त्यस्तो हुँदा पनि शिक्षकहरुले केही नि भन्नु हुन्न । पढे पढ नपढे नपढजस्तो व्यवहार गर्नुहुन्छ ।
कक्षामा पनि कुनै पनि सरमिसहरु समयमा आउनुहुन्न । सरमिसहरुसँग सोध्ने समय नै नपाउँदा आएको पाठ पनि बिर्सेजस्तो लाग्छ ।

यो विषयमा हामी के भनौं र ? पढ्ने सोच बोकेर आएका विद्यार्थीहरुले कक्षामा शिक्षक नआएपछि कसरी पढ्ने, नआएको कुरा कोसँग सोध्ने ? जस्तो लाग्छ । शिक्षकहरु काम पर्यो भनेर जानुहुन्छ, हामी त हेरेको हे¥यै पो हुनुपर्छ । यस्तो कुरा कसलाई भन्ने ? हामी त अन्योलमा छौं ।

हेडसर त झन् कहिलेकाहिँ मात्र आउनुहुन्छ, उहाँ यहाँको होइन, काठमाडौंबाट आउनुहुन्छ । महिनाको एक÷दुईपटक मात्र आउनुहुन्छ । सरमिसहरु समयमा नआएको विषयमा हेडसर र अरु सरहरुबीच सरसल्लाह त हुन्छ होला नि । तर सँधै किन आउनुहुन्न, थाहा छैन ।

यो बारेमा घरमा आमाबालाई भन्दा आमाबा पनि केही बोल्नुहुन्न । हामीले पढेका छैनौं, यस्तै त हो नि, खुरुखुरु स्कुल गए भैहाल्यो नि भनेर मात्र भन्नुहुन्छ । आज यो माष्टर आउनुभएन, दिनभरी खेल्यौं नि भन्दा पनि केही नि भन्नुहुन्न । स्कुल आएर भन्नुपर्यो भनेर अनुरोध गर्दा घरको काम गर्ने कि स्कुल आउने ? भनेर सोध्नुहुन्छ ।

योमात्र होइन, स्कुलमा खानेपानीको पनि समस्या छ । बर्षामा छानाबाट परेको पानी जम्मा गरेर राखेको पानी खानुपर्छ । खानेपानीभन्दा पनि शिक्षकहरु टाइममा आएर पढाइदिए, पढाउँदै गरेको बखत काम पर्यो भनेर नगइदिनुभए हुन्थ्योजस्तो लाग्छ ।

(हरिसुन्दर छुकांले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया