काठमाडौं २९ बैशाख/शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दा पनि कञ्चनपुरमा आधाभन्दा बढी पाठ्यपुस्तक अपुग भएका छन् । सबै तहका पाठ्यपुस्तक अभाव भएको हुन् ।
कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तकको बढी अभाव छ । पाएका विद्यार्थीले पनि पूरा सेट नपाएको पुस्तक व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष मेघराज बोहराले बताए । ‘अहिलेसम्म २५ प्रतिशत मात्रै पाठ्यपुस्तक विद्यार्थीले पाएका छन्,’ उनले भने, ‘७५ प्रतिशत पाठ्यपुस्तकको अझै कमी छ ।’ सबैभन्दा बढी ९ र १० को ऐच्छिक विषयको अभाव छ ।
जिल्लामा आधा दर्जनभन्दा बढी व्यवसायीले पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् । तर, कुनैले पनि पूरा सेट दिन नसकेको व्यवसायीले बताए । पाठ्यपुस्तक नभएपछि धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्रको कार्यालयमा ताला लगाइएको छ । ‘हामीले पाठ्यपुस्तक माग्न थालेपछि कार्यालय नै बन्द गरियो,’ बोहराले भने, ‘अब कहिले कार्यालय खुल्छ, कहिले पुस्तक आउँछ, केही ठेगान छैन ।’
व्यवसायीका अनुसार स्थानीय छापाखानाहरूले जिम्मा लिएको कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकको समेत अभाव छ । उक्त तहमा २५ प्रतिशत पाठ्यपुस्तक अभाव रहेको व्यवसायी बताउँछन् । स्थानीय छापाखानाहरूले समेत समयमा पाठ्यपुस्तक छाप्न नसक्दा अभाव देखिएको छ । अहिले शिक्षक र विद्यार्थीहरू दिनहुँजसो किताब खोज्दै आउने गरेका छन् तर रित्तो हात फर्किन्छन् ।
जिल्ला शिक्षा कार्यालयले भने प्रावि तहको पाठ्यपुस्तक अभाव नभएको दाबी गरेको छ । जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले ६ देखि १० कक्षासम्ममा पनि व्यवसायीहरूले भनेको जस्तो अभाव नरहेको बताए । उनले जिल्लामा ३०/३५ प्रतिशत मात्रै पाठ्यपुस्तक अभाव रहेको जनाए । ‘व्यवसायीहरूले भनेजति अभाव छैन,’ उनले भने, ‘तर सबै विद्यार्थीले किताब पाउन पनि सकेका छैनन्, एक/दुई विषयका मात्र नभई सबै विषयका किताब अभाव छन् ।’
वैशाख २ देखि विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गराउने उद्देश्यसहित ‘हामी सबैको इच्छा, अनिवार्य र नि:शुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ भर्ना अभियान मनाइएको छ । तर, भर्ना भएकाहरूले समेत पाठ्यपुस्तक पुर्याउन नसकेको अवस्थामा अभियान औपचारिकता मात्रै भइरहेको शिक्षकहरू बताउँछन् । जहिले पनि विद्यार्थीले समयमा किताब नपाएर पढाइ नहुने अवस्थाको अन्त्य गर्नसके मात्रै भर्ना अभियानले समेत सार्थकता पाइने उनीहरू बताउँछन् ।
शिक्षा कार्यालयका अनुसार कक्षा १ देखि १० सम्म ८० हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । तीमध्ये ६ देखि १० सम्म मात्रै ४० हजारभन्दा बढी रहेका छन् । १ देखि ५ सम्म ४० हजार र ५ देखि १० सम्म पनि त्यत्तिकै थान पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म करिब ६०/६५ प्रतिशत मात्रै उपलब्ध भएको सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया