काठमाडौं २९ बैशाख/कालिमाटी गाउँपालिका–७ काप्रेचौर बाटुलेका बालबालिका भेरी नदीमा पुल नहुँदा चिन्नाको सहायताले विद्यालय जान बाध्य छन् । नदीपारिको घुइँयाबारीस्थित विद्यालय जान उनीहरू कम्मरमा चिन्ना बाँधेर दैनिक नदी वारपार गर्छन् ।
नदीमा पुल नहुँदा बाटुलेका ४५ परिवारका झन्डै सय बालबालिका प्रभावित छन् । वर्षातको समयमा नदीमा पानी बढ्ने हुँदा एक महिना त विद्यालय जानै नपाउने स्थानीय अभिभावक झुपलाल रानाले बताए । ‘घरबाट विद्यालय हिँडेका बालबालिका नदी तर्न नसक्दा बीचैबाट घर फर्कन्छन्,’ उनले भने ।
बस्तीभन्दा डेढ किलोमिटर तल पुल बनाएकाले घुमेर जान धेरै समय लाग्छ । नजिकै विद्यालय नभएपछि बालबालिका नदीपारिको राष्ट्रिय माध्यमिक विद्यालयमा जानुपर्ने बाध्यता भएको उनले बताए । झोलुंगेपुल निर्माणमा पनि कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ ।
६ महिनासम्म नदीमा पानीको बहाव धेरै हुने हुँदा बालबालिकाले कष्ट भोग्दै आएको स्थानीय जीवराज नेपालीले बताए । विभिन्न निकायले सर्भे गरे पनि खर्च बढी लाग्ने भन्दै पुल नबनाएको स्थानीयको गुनासो छ । ‘गाउँबाट विद्यालयको दूरी २०/२५ मिनेट मात्र टाढा हो । पुल भएको ठाउँबाट घुमेर जाँदा दुई घण्टा लाग्छ,’ रानाले भने । नदी तर्न नसक्दा परीक्षा पनि दिन नपाएको बालबालिकाको गुनासो छ । राष्ट्रिय माविका प्रधानाध्यापक गोकर्ण रानामगरले पुल नभएकै कारण धेरै बालबालिकाहरू विद्यालयबाट वञ्चित भएको बताए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया