Edukhabar
आइतबार, ३० बैशाख २०८१
खबर/फिचर

चिसो रातमा विद्यार्थीको अनसन

आइतबार, २६ कार्तिक २०७४

भक्तपुर - कात्तिकको चिसो रात, आकाशबाट झरेको सीतसँगै चलेको सिरेटोले मुटु नै कमाउने गरी जाडो बढाउँदै छ । तातो पिरो खाएर ओछ्च्यानमा गुटुमुटु हुने बेलामा १८ जना विद्यार्थी शिक्षक सेवा आयोग अघिल्तिर त्यही चिसो भुईमा पलेटी मारेर बसेका छन् !

वातावरण चिसो छ, मनमा भएको आक्रोशले तातिए पनि उनीहरु शान्त र सौम्य शैलीमा देखिन्छन्, मानौं कुनै सत्याग्रह जारी छ !

यो विरोध शिक्षक हुने चाहनामा हातमा लाईसेन्स लिएर बसेका आफू जस्ता सात लाख विद्यार्थी र सामुदायिक विद्यालयमा पढ्ने लाखौं विद्यार्थीका पक्षमा हो ।

उनीहरुको आक्रोस चाँही योग्य शिक्षक छनौटको बाटो बन्द गरेर भएको शिक्षा ऐनको नवौं संशोधन प्रति छ । यसमा घ्यु थपिदिएको छ शिक्षक सेवा आयोगले गरेको विज्ञापनले ।

अस्थायी शिक्षकको विज्ञापन खुल्यो, कस्ता शिक्षकले दिन पाउँछन् आवेदन ?

ऐन संविधानसँग बाझिएको भन्दै अदालतमा मुद्धा जारी रहेका बेला भएको विज्ञापनको आक्रोश, थपिएको घ्युमा बजोडको बताझ बनेर आयो र अकस्मात उक्त झिल्को हुण्डरीमा बदलिएको छ ।
आईतबार आयोग आफैंले उक्त हुण्डरीलाई उधिन्ने काम गरे पछि अन्ततः विद्यार्थीले मंसिरे चिसोको परवाह गरेनन् ।

उक्त विज्ञापन फिर्ता गर्न शुक्रबारै दिएको २४ घण्टे अल्टिमेटमको कुनै वास्ता नगर्नुलाई विद्यार्थीले आफूहरुलाई आयोगले वेवास्ता गरेको बुझेर तालाबन्दी गरेका थिए । तर प्रशासनको सहयोगमा उक्त तालाबन्दी तोडेपछि उनीहरुले आफूलाई हेपेको ठाने ।

तालाबन्दी तोडेका विरोधमा नाराजुलुस सहित आयोग पुगेका विद्यार्थीसँग भएको छलफलमा आयोगका पदाधिकारीले सकेको गर्नु भन्ने गैह्र जिम्मेवार अभिब्यक्ति दिए पछि त उक्त हेपाईको पुष्टि भएको उनीहरुको निष्कर्ष रह्यो ।

दिनभर प्रहरीसँग झुत्ति खेलेका संयौं विद्यार्थी मध्ये १८ जनाले अनसन बस्न कम्मर कसे ।

देशभरका शिक्षा संकाय अध्ययनरत विद्यार्थीको सक्रियतामा गठन भएको विद्यार्थी संघर्ष समितिको अगुवाईमा आन्दोलन शुरु भएकोले समितिका अध्यक्ष पुष्कर शर्मा, सचिव निराजन श्रेष्ठ र प्रेस संयोजक दिग्गज द्यौराली छुट्ने कुरै भएन । उनीहरुका होस्टेमा हैंसे दिन जुटे राजकुमार घिमिरे, प्रज्वल चापागाई, रामचन्द्र नेपाल, तारानाथ अधिकारी, जीवन रोक्का, सरोज मिजार, पुरुषोत्तम शर्मा, पेशल घिमिरे, राम दुलाल, कमल पौडेल, कृष्णप्रसाद रेग्मी, बालकृष्ण बास्कोटा, भेषराज भट्टराई नारायण गिरी र दिपेश शाही ।

उनीहरु यो चिसो रातमा खुल्ला आकाशमा सीत खाएर बस्नु पर्ने दिन त्यसै आएको हैन । यसका लागि हामी केही समय अघि पुग्नु पर्छ, जतिखेर चौतर्फि विरोध हुँदा हुँदै पनि सांसदहरुको औपचारिक कोरम पुर्याएर योग्य शिक्षकलाई सेवा प्रवेशमा बञ्देज गर्ने गरी रातारात शिक्षा ऐन संशोधन गरिएको थियो ।

सम्बन्धित खबर पढ्नुहोस् : योग्य शिक्षकलाई सेवा प्रवेशमा बञ्देज

पारित हुनु केही क्षण अघि सम्म पनि केही सांसदहरुले चर्को आलोचना गरेका थिए ।

अस्थायीको माग सम्बोधन गर्ने नाममा विद्यार्थीमाथि अन्याय

तर एमालेका सांसदरुको चिकित्सा विधेयकप्रतिको स्वार्थ, माओवादीका सांसदहरुको द्धन्द्धका बेला सेवाबाट निस्केका केही शिक्षकहरुको जागिरको स्वार्थ र अनसनमा बसेका अस्थायी शिक्षकले माग्दै नमागेको माग पुरा गराए आउँदै गरेको २ नम्बर प्रदेशको स्थानीय निर्वाचनमा काँग्रेसको मत जोगिने शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई गरिएको गलत व्रिफिङ्ले हुनै नहुने उक्त संशोधन पारित भयो ।

जुन नेपालको सार्वजनिक शिक्षा सुधारका पक्षमा युगौं युग सम्मको धब्बा बन्यो ।

शिक्षाको कालो दिन

चौतर्फि विरोध भयो, शिक्षाविद्हरुले र केही सञ्चार माध्यामले उक्त संशोधनको विरोध गरे ।

ऐन प्रमाणीकरण गर्न नहुने भन्दै चौतर्फी विरोध

यतिञ्जेल न जाने कुन कुनामा लुकेर बसेका विद्यार्थी संगठन अकस्मात विरोधमा उत्रिए, शिक्षाका मुद्धामा दुला पस्ने र राजनीतिक हतकण्डामा मात्रै माउ पार्टिका गोटि बन्ने उनीहरुका विगतका कृत्य यस पटक पनि पुष्टि भयो । जसरी झुल्किएका थिए उनीहरुको त्यो देखावा  विरोध माउ पार्टिका तिनै झिंगे दाउको स्वार्थमा पुरियो ।

राष्ट्रपतिबाट प्रमाणीकरण भए सँगै उपभोक्ता अधिकारका क्षेत्रमा कृयाशिल अधिवक्ता ज्योती बाँनियाले संवैधानिक अदालतमा मुद्धा दायर गरे ।

शिक्षा ऐन संशोधन विरुद्ध मुद्धा दायर

उक्त रिट पढ्नुहोस् : शिक्षा ऐन नवौं संशोधन विरुद्धको रिट, जस्ताको त्यस्तै

चौतर्फि अन्याय भएपछिको आशा न्यायालयमा पुगेको विषयलाई शिक्षक सेवा आयोगले तुक ठानेन र उ आफ्नो अधिकार भन्दै आयोग खोल्ने निर्णयमा पुग्यो । र त्यसको विरोध स्वरुप आजको दिन आई पुग्यो ।

नेपालका विभिन्न परिवर्तनमा विद्यार्थीको विरोध निकै पेचिला बनेका उदाहरण छन् । न्यायालयमा पुगेको विषय भएकोले यतिखेरको विरोध कहाँ पुग्छ अहिल्यै भन्न त नसकिएला तर उनीहरुको आक्रोश र दृढताको पटाक्षेप मंगलबार दिउँसो सम्म पक्कै हुन्छ ।

किनभने संवैधानिक अदालतमा दायर उक्त मुद्धाको सुनुवाई मंगलबार हुँदै छ । त्यसैले आयोग अघिल्तिरको बसाई कम्तिमा मंगलबार सम्मको हुने निश्चित गर्दै विद्यार्थीले आईतबारको रात विताउन हतार हतारमा केही जोर जाम चाँही गरे ।

एउटा त्रिपाल र केही म्याट जम्मा गर्दा गर्दै कात्तिकको छोटो दिन, झमक्कै रात पर्यो, ताला फोडेको सुनेर कलेजबाटै बत्तिएका उनीहरुसँग न्याना ताता लुगा र अन्य कुनै तयारी हुने कुरै भएन ।
रात ढल्कदैं गर्दा उनीहरुले नजिकैका झिँजा बटुलेर आगो ताप्ने ब्यवस्था मिलाएका छन् ।

दिनभरी उनीहरुसँग ठेलमठेल गरेका प्रहरी पनि उनीहरुले सल्काएको आगोको तातोमा रातको चिसो छल्ने जमर्को गर्दै छन् ।

प्रतिक्रिया