काठमाडौं - सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई मध्य नजर गर्दै राष्ट्रपतिको ट्वीटर एकाउण्ट खोलिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो ट्वीट शिक्षाका मुद्धामा गरेकी छन् । सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन भईरहेका प्रयासको सराहना गर्दै उनले शुभकामना ब्यक्त गरेकी छन् ।
एट प्रेसिडेण्टअफएनपी (@PresidentofNP) रहेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
'सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !' उनले पहिलो ट्विट गरेकी छन् ।
विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय भित्र्याउन सरकारले हरेक शैक्षिक सत्रको शुरुमा भर्ना अभियान सञ्चालन गर्दै आएको छ । यस बर्ष उक्त अभियानलाई शिक्षा मन्त्रालयले घनिभूत रुपमा सञ्चालन गर्दै छ । यही छेकमा खोलिएको राष्ट्रपतिको ट्वीटर ह्याण्डलमा शिक्षाका मुद्धालाई प्राथमिकता दिईएको छ ।
शिक्षालाई संविधानले मौलिक हकको रूपमा स्थापित गरेसँगै कुनै बालबालिका विद्यालय बाहिर रहनु भनेको संविधानको ब्यवस्था विपरित भएको ठहर्दछ । उक्त दवावबाट बच्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समाजमा विशिष्ट पहिचान बनाएका ब्यक्तिहरुका माझबाट एक एक बच्चालाई अभिभावकत्व ग्रहण गर्न सार्वजनिक अपील गरिसकेका छन् ।
पढ्नुहोस् : शिक्षाबाट वञ्चित बालबालिकालाई अभिभावकत्व ग्रहण गरिदिन सरकारको अपील
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने ब्यवस्था गरेको छ । उक्त ब्यवस्था कार्यान्वयनका लागि एक बर्ष भित्र अधिकारमा आधारित अनिवार्य शिक्षा सम्बन्धि ऐन तयार गर्नु पर्ने छ । त्यस अघि नै सबै बालबालिकालाई शिक्षाको सुनिश्चितता गर्न सरकारलाई दवाव छ ।
सरकारले २०६१ साल देखि हरेक बर्ष नयाँ शैक्षिक सत्रलाई भर्ना अभियानका रुपमा मनाउँदै आए पनि अझै ५ देखि ९ बर्ष उमेर समूहका अर्थात् प्राथमिक तहमा अध्ययन गर्नु पर्ने बालबालिकाहरु मध्ये २ दशमलव ८ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिरै छन् । यस्तै कक्षा १ देखि ८ सम्म अर्थात् आधारभूत तहका कूल बालबालिका मध्ये ७ दशमलब ७ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर रहेको सरकारी तथ्याँक छ ।
अर्थात् अझै पनि तीन लाख बालबालिका विद्यालय बाहिरै छन् ।
विद्यालय बाहिर रहेका ती बालबालिकालाई विद्यालय भित्र ल्याउनका लागि भन्दै मन्त्री पोखरेलको दौडधुप बढ्दो छ । सार्वजनिक अपील गरेपछि मन्त्री पोखरेलले आईतबार प्रदेश मन्त्रीहरु र सोमबार संघीय रिकारका विभिन्न मन्त्री र दलका नेता लगायत सँग छलफल गरेका थिए ।
पढ्नुहोस् : शिक्षा मन्त्रीको दौडधुप, बैठकै बैठक !
प्रतिक्रिया