Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

शिक्षा मन्त्रालयको योजना महाशाखा प्रमुख दुई सातादेखि खाली

दाताहरु सहभागी हुने मिसनको अध्यक्षता गर्ने महाशाखा प्रमुख विनै यसपालिको विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सकियो

सोमबार, १८ मंसिर २०८०

काठमाडौ - शिक्षा मन्त्रालयको योजना तथा अनुगमन महाशाखा दुई सातादेखि प्रमुख विहीन भएको छ । शिक्षामन्त्री अशोककुमार राईले मन्त्रालयको नियमित काम क्वाटरबाटै गरे पनि योजना महाशाखा प्रमुखको जिम्मेवारी भने कसैलाई दिएका छैनन् । 

दाताहरु (एडीबी, इयु, फिनल्याण्ड, जीपीई, आइडीए, नर्वे, युनिसेफ, युएसएड) सहित सहभागि भएकोे विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक पनि महाशाखा प्रमुख विहिन नै सकिएको छ । महाशाखा प्रमुख सहसचिव हुन्छन् । मंसिर ११ देखि १५ सम्म दातासंगको संयुक्त समीक्षा बैठक भएको थियो । यस्ता बैठक योजना महाशाखा प्रमुखको अध्यक्षतामा हुने बिगत देखिको अभ्यासलाई समेत लत्याएर शिक्षामन्त्री राईले अर्कै महाशाखा प्रमुखलाई अध्यक्षताको लागि जिम्मेवारी दिएका थिए । 

यस पालीको ‘मिसन’ को अध्यक्षता मन्त्रालयको विद्यालय शिक्षा महाशाखा प्रमुख केशव दाहालले गरेका थिए । 

‘योजना कार्यान्वयन गर्ने व्यक्ति नै नभई यसपालीको मिसन सकियो । एक जना सहसचिवलाई महाशाखाको जिम्मेवारी दिन नसक्ने कस्तो संयन्त्र होला ? भन्ने हामी बीच समिक्षा भयो’ शिक्षामा लगानी गरिरहेको एक दाताका प्रतिनिधिले भने । महाशाखा प्रमुख तोक्न मन्त्री स्तरीय निर्णय गरे पुग्छ । शिक्षामन्त्री कानको शल्यक्रिया गरेपछि क्वाटरमै आराम गरेर बसिरहेका छन् ।

‘ब्रिफिङ र अरु निर्णय गर्न र कार्यकर्ता भेट्न हुने अनि महाशाखा प्रमुख नियुक्ति गर्न नहुने के हो बुझ्नै सकिएन’ मन्त्रालयका एक कर्मचारीले भने । 

मन्त्रीस्तरीय निर्णय गर्न र बिफ्रिङ गर्नु पर्यो भने कर्मचारीहरु फाइल लिएर क्वाटरमा जाने गरेका छन् ।

योजना महाशाखाका तत्कालिन प्रमुख डा. हरिप्रसाद लम्साल गत मंसिर १ गते सुदुरपश्चिम प्रदेशको प्रमुख सचिव भए सँगै उक्त पद खाली भएको हो । यो महाशाखामा प्रमुख हुन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्याल र मन्त्रालयको प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा प्रमुख शिवकुमार सापकोटाले रुची देखाएका छन् । 

फोटो : शिक्षा मन्त्रालय

प्रतिक्रिया