काठमाडौ - डोल्पको दुनैमा फर्जी विद्यालय खडा गरेर साढे सात लाख रुपैयाँ राज्य कोषबाट निकासा भएको पाइएको छ ।
तत्कालिन दुनै गाविसको तिप्लामा दुर्गा प्रावि खडा गरेर विद्यालय भवन नबनाई रकम अनियमितता गरेको फेला परेको हो ।
दुनैको वडा नम्बर २ र ३ मा लालिगुँरास आधारभूत विद्यालय मात्रै भएको र दुर्गा प्राविको नामले कुनै पनि विद्यालय नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्राविधिक टोलीले पत्ता लगाएको हो ।
आर्थिक वर्ष ०६७/०६८ मा दुनै गाविस वडा नम्बर २ र ३ हाल ठूलीभेरी नगरपालिका वडा नम्बर ४ तिप्लास्थित काल्पनिक विद्यालय दुर्गा प्राथमिक विद्यालय खडा गरेर जिल्ला प्राविधिक कार्यालय, दुनैका तत्कालीन कार्यालय प्रमुख ईञ्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढा समेतले आपसी मिलेमतो गरेको पाइएको छ । विद्यालयको नाममा दुई कोठे भवन निर्माणको लागि सात लाख ६० हजार रकम विनियोजन गरी काल्पनिक उपभोक्ता समिति गठन गरेको पाइएको छ । इञ्जिनियर पजियारको सिफारिसमा उपभोक्ता समितिको नाममा खाता खोली जस्ता छाना सहितको दुई कोठे भवन निर्माण गरेको भनी झुट्टा तथा नक्कली कागजात तयार गरेको पाइएको हो ।
आयोगले बिहीबार उनीहरु बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको छ । प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इञ्जिनियर पजियार, लेखापाल कुर्मि, नक्कली उपभोक्ता समिति अध्यक्ष बुढा र कोषाध्यक्ष संगिता बुढालाई जनही सात लाख ६० हजार रुपैंया बिगो र जरिवाना असुल उपर हुने गरी सजाय माग दाबी गरेर आयोगले मुद्धा दायर गरेको हो ।
प्रतिक्रिया