Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
सम्पादकीय

चुनौतिको बाटो

शुक्रबार, १६ फागुन २०७०

बेला उस्तै रहेन । समय, सन्दर्भ, परिस्थितिहरु फेरिए । सिकाइ फेरियो । सिक्ने शैली बदलियो । अग्रज पुस्ताले धूलोट, सिटोल, कालो पाटीमा हरिया पात पिधेर, अंगार घोटेर, खरी र दूधे खरीले लेख्यो । अहिलेको पुस्ता हत्केलामा प्रविधि बोकेर तिनै प्रविधिसित खेल्दै सिकिरहेको छ । त्यही भएर सन्देशको शैली पनि विस्तारै बदलिदैछ । एडुखबर डट कम सन्देश प्रवाहमा देखिएको बदलावसित सहकार्य गर्न सुरु भएको एउटा सानो प्रयास हो । यसले शिक्षाको खास विश्लेषण गर्नेछ । ९ महिनाको प्रयासमा बल्ल हामी पाठकमाझ आउन सकेका छौं । एडुखबरको स्वरुप र विषयवस्तु दुवैलाई हामी पाठकको रुची अनुसार परिस्कृत गर्दै लानेछौं ।

शिक्षा पढ्न र लेख्न जान्नुमात्रै होइन । यसको क्षेत्र अनन्त छ । शिक्षाले जीवन चिनाउछ । भविष्य देखाउछ । सही बाटो पहिल्याउन सिकाउछ । त्यो सीपको बाटो हो । आत्म विश्वासको बाटो हो र आत्म निर्भरताको बाटो हो । दुखका साथ भन्नु पर्छ हाम्रो शिक्षाले हामीलाई सहज रुपमा त्यो बाटो चिनाउन सकेको छैन । त्यसका लागि राज्यले गर्नु पर्ने काम धेरै छ ।

 बजेट छुट्याएर, भाषण गरेर र कार्यक्रम तथा नीति बनाएरमात्रै उसको जिम्मेवारी पूरा हुदैन । त्यसलाई आवश्यकता अनुसार कार्यान्वयन गरेर आम नागकिरको पहुचमा पुर्याउन सकिएन भने राज्य हुनु र नहुनुको कुनै अर्थ हुदैछ । नागरिकले कखरा चिन्नुमात्रै ठूलो उपलब्धि मान्न सकिदैन । सार्थक सिकाइका लागि प्रमुख भूमिका राज्यको छ तर राज्य एक्लोमात्रै पनि त्यसका लागि पर्याप्त छैन । आम नागरिकले आफ्नो तहबाट सक्ने प्रयास थालिएन भने समाजमा सिकाइको खास वातावरण निर्माण हुन सक्दैन । समाजमा भए गरेका यस्तै सिकाइ, सिकाइको पद्यती, परिणाम र हाम्रो आवश्यकतालाई ध्यानमा राखेर हामी समाचार अर्थात् सन्देश प्रवाह गर्ने प्रयासमा छौं । शिक्षाका समाचार र विचारमार्फत हामी आफैलाई, आम पाठकलाई र सरोकारवाला सबै निकायलाई झक्झक्याउने प्रयास गर्नेछौं । हामी हरेक विषयमा बहसको सुरुवात गर्ने छौं । र यसलाई हामीले कर्तव्य ठानेका छौं । औपचारिक अर्थात् विद्यालय विश्वविद्यालयको कक्षा कोठाको सिकाइ पक्के पनि हामी हाम्रो प्राथमिकता हुनेछ । तर त्यसबाहेकको सिकाइ र शिक्षाका विषय पनि प्रमुखताकासाथ समेटिने छ । तत्काललाई सीमित स्रोत साधनका कारण खुम्चिएर आफ्नो उद्देश्यमा पुग्ने पाइला चाल्नु पर्ने हाम्रो बाध्यता भने हाम्रा सामु चुनौति भएर खडा छ । यस्तै चुनौतिवीच पनि हामी विषयगत रुपमा शिक्षाको खास विश्लेषण गर्ने प्रयास गर्नेछौं । यो हाम्रा प्रतिवद्धता हो ।

शिक्षा राज्यको सबैभन्दा ठूलो सञ्जाल भएको निकाय हो । देशमा ४ हजार गाविस छन् । एउटा गाविसका वडैपिच्छे कम्तीमा एउटा स्कुल छ । त्यहा शिक्षक छन् । विद्यार्थी छन् । अभिभावक छन् । सम्मुनत राज्य निर्माणका लागि आवश्यक जनशक्ति हरेक विद्यलायमा तयार भइरहेका छन् । आम नागरिकलाई आत्म निर्भर र सीपयुक्त बनाउन देशमा झण्डै ३५ हजार विद्यालय छन् । आधारभूत तह –कक्षा १(८) मामात्रै करिब ६३ लाख ९९ हजार ८ सय ८५ र माध्यमिक तहमा (९–१०) मा ८ लाख ७८ हजार ४७ विद्यार्थी औपचारिक शिक्षा लिइरहेका छन् । ती विद्यार्थी पढाउन आधारभूत तह – कक्षा १–८) मा २ लाख २८ हजार ९ सय २३ जना र माध्यमिक तह –कक्षा ९–१०) मा ३७ हजार ४८ शिÔक कार्यरत छन् । राज्यले कूल गार्हस्थ उत्पादन (जीडीपी)को करिब ४ प्रतिशत अर्थात् कुल बजेटको १६ प्रतिशत रकम शिक्षामा खर्चेको छ । तर पनि हामी अपेक्षित खुसी छैनौं । किनभने हामीले सीपयुक्त जनशक्ति पाएका छैनौं । शिक्षाले लेख्न सिकाएको छ, सीप सिकाएको छैन । हिसाब गर्न अंक चिनाएको छ त्यसका लागि व्यवसायी बन्न चेत दिएको छैन । हामीलाई सीप र चेतना दुवै भएको आत्मविश्वासी र आत्मनिर्भर जनशक्ति चाहिएको छ । थाहा छ यो बाटो त्यति सजिलो छैन र हामीले सुरु गरेको अनलाइन पत्रकारिताको बाटो पनि त्यति सजिलो छैन । सदियौंदेखि राज्य अर्बौं लगानी गरेर शिक्षाको बाटो बनाउने प्रयासमा छ । हामीले आमसञ्चारको माध्यमबाट त्यसमा सघाउन खोजेकामात्रै हौंं ।

हरेक चुनौतिमा अवसर पनि छ । हामी चुनौतिवीच अवसर देखिरहेका छौं । हामीलाई असहज बाटोको यात्रा मन्जुर छ । किनभने यो हाम्रो सिकाइको सुरुवात हो । हन्डर र ठक्करहरुबाट हामी आत्मनिर्भर हुने शिक्षा लिनेछौं । यिनै हन्डरवीच हामी प्रविधिले समुन्नत हुदै गएका हाम्रा आम पाठकसित शिक्षाको खास समाचार, विचार र विश्लेषण लिएर तारन्तार जोडिने छौं ।

प्रतिक्रिया