Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गुरुबा / गुरुआमा

एमए पास गरेर कक्षा एक मा शिक्षक !

शुक्रबार, १९ बैशाख २०७१

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएकै दिन प्युठानका श्यामबहादुर बुढाले गोर्खा सैनिकमा नियुक्ति पाए । घटनाले संसार तरंगित थियो, उनी सैनिक पोशाकमा सपथ लिदै थिए । त्यो थियो ३१ अक्टुबर १९८४ को कुरा । त्यसको ३ वर्षमै जागिर नछाडेको भए अहिले अवकास प्राप्त गोर्खा सैनिक श्याम बुढा भएर हिंडिरहेका हुन्थे । कडा सैनिक अनुशासनको चौघेरा उनको स्वतन्त्र स्वभावले थेग्न सकेन । 'अनि मैले सैनिक जागिर छाडेँ', बाँकेका शिक्षकले विगत सम्झे, 'मनदेखिनै इच्छा नभएपछि त्यो जागिरमा बसेर मैले प्रगति गर्न सक्दिन भन्ने लाग्यो र छाडिदिएँ ।'

भएको एउटा जागिर छाडेपछि उनी फुर्सदमा थिए । सोच आउदँै थियो व्यापार गरौं कि अरु जागिर खोजौं वा भारतमै अरु मजदुरी गर्न छिरुँ ? संयोग त्यही बेला बाँकेका चिनारु आफन्त स्कुल खोल्ने तयारी गरिरहेका थिए । समस्या के थियो भने स्कुल त खोल्ने, अरु विषय पढाउने शिक्षक फेला पर्लान् तर अंग्रेजी पढाउने कसले ? विकल्पमा देखिए तिनै श्यामबहादुर बुढा । सिम्लामा मजदुरी गर्ने बुबाले ५ वर्षकै उमेरमा पढाउनकै लागि साथ लगेका थिए । सिम्लामै उनले विद्यालय र प्रमाणपत्र तह सके । उनको अंग्रेजी राम्रो थियो । त्यही भएर होला एक साँझ अगुवा मध्येका कसैले सोध्यो, जागिर खान्छौं ? अंग्रेजी पढाउनु पर्छ, केटाकेटी पढाउन सक्छौ ?

उनी गम खाए । जागिर थिएन, एक मनले लाग्यो, ह्या होस्है केटाकेटीसित झुत्ती खेल्ने जागिर के खानु ? अर्को मनले भन्यो अल्झिने मेलो त हुन्छ । किताबै पढाउने हो, पढाउन जानि हालिन्छ जागिर खाएर आखिर के बिग्रन्छ ? मन नलागे छाडिदिउँला । यस्तै दोधारवीच २०४५ सालको फागुनबाट अंग्रेजी पढाउन थाले ।

दोधारवीच सुरु गरेको त्यही मास्टरी पेशा अन्तत ः उनको स्थायी करिअर बन्यो । त्यसपछि गाउँको श्यामबहादुर बुढाबाट उनी एकाएक श्याम सरमा बदलिए । सबैको श्याम सर । श्यामसरलाई नमस्कार गर्न थाले । छोराछोरीको पढाइको चासो लिन थाले । केटाकेटीसित खेल्ने कर्म त्यसपछि सुरु भयो ।

'एक दिन केटाकेटी नदेख्दा न्यास्रो झै लाग्छ, घरमा छोरीहरु छन् र पनि सुनसानझँै लाग्छ', अढाइ दशक शिक्षणमा बिताएका उनले भने, 'केटाकेटीसित आकर्षणको शक्ति हुन्छ । ती रिसाए पनि फूलजस्ता हुन्छन् । ती हास्दा पनि फूलजस्ता हुन्छन् । सुन्दर । हेरिरहु लाग्ने ।'

युवा उमेर न हो, उनलाई पनि कतिपल्ट रिस उठ्यो । केटाकेटीलाई कहिल्यै देखाएनन् । कहिले काहिँ ठूलो स्वर गरेर हप्काए एक सिर्कनो लगाएनन् । अहिले उनलाई लाग्छ, मैले किन हप्काए हुला व्यर्थै । उनी आफूले भारतको केन्द्रिय विद्यालयको कडा अनुशासन पार गरेर आएका थिए । उनलाई लाग्थ्यो तर्साएर राखे केटाकेटी अनुशासनमा बस्छन् । 'होइन रहेछ', उनले भने, 'माया गरेर केटाकेटीलाई बसमा पर्न सकिने रहेछ । हामीले केटाकेटीलाई सिकाउनै जानेका रहेनछौं ।'

शिक्षकमाझ श्याम सरको सिकाउने शैली अलग छ । यसको उपकथा अर्कैछ । केही वर्षअघि विद्यालयमा बालमैत्री सिकाइको तालिमको अवसर आयो । कुनै शिक्षकले त्यसमा चासो लिएनन् । माध्यमिक तहका शिक्षकले तालिम लिएर प्राथमिक तहका केटाकेटी पढाउनुलाई सजायनै ठाने । शिक्षक कसैले नमानेपछि हेडसर श्याम सरमा ठोकिए । विदामा रहेका बेला हेड सरले भने, कोही जान मानेनन् । तपाई गैदिनु परयो ।

तालिमबाट फर्केपछि माध्यमिक तहमा अंग्रेजी पढाइरहेका श्याम सर एक्कासी कक्षा १ मा मात्रै पढाउँछु भन्न थाले । कसैको कर बलले होइन इच्छाले । 'जग बलियो नभए माथिल्लो तहमा उनीहरु कमजोर हुन्छन् भन्ने ज्ञान मैले त्यति बेला पाए', उनले भने, 'साना कक्षाका केटाकेटीलाई उपेक्षित गरेकोमा ग्लानीजस्तो भयो । विद्यार्थीको जग बलियो बनाउन तिर लाग्छु भन्ने अठोटले म माध्यमिक तह छाडेर कक्षा १ को शिक्षक भए ।' अहिले कक्षा १ को सबै विषय पढाउने हरेक दिनभरको जिम्मा ढुक्कै श्याम सरलाई ।

कक्षा छिरेपछि सबैले उनलाई नमस्कार गर्छन् । उनी केटाकेटीका गाला थपथपाउछन् र खाना खाए नखाएको सोध्छन् । विद्यार्थीको उत्तरले जनाउछ, केटोकेटीको अवस्था के छ ? विद्यार्थीलाई एकसरो हेरेपछि उनी विचार्छन आज केटोकेटीको मुड के छ ? र त्यही अनुसार उनी पाठ अनुसारको कृयाकलाप सुरु गर्छन् ।

त्यसका लागि कति शैक्षिक सामाग्री उनी घरबाट बनाएर ल्याउछन् । कति आफ्नै तलबबाट पनि किन्छन् । बाटो, जंगल र करेसाबारीबाट पनि उनी सामग्री ल्याउछन् र केटाकेटीलाई देखाउँछन् ।

कक्षा १ पढाउन थालेपछि उनी रातरातभर शैक्षिक सामग्री बनाउन थाले । कागज काट्ने, कागज रंग्याउने, लेख्ने, चित्र बनाउने सबै रातभर बसेर गर्न थाले । श्रीमती आत्तिन थालिन्, शिक्षक भएको श्रीमान् बौलायो ! माध्यमिक तहबाट कक्षा १ पढाउन थाल्यो र त्यही पीरले उन दिमागले काम गर्न छाड्यो ।

'मैले आफ्नो काम छाडिन,' उनी भन्छन्, 'शैक्षिक सामग्री नभए दिनभर के गरेर दिन बिताउनु ? केटाकेटीलाई के सिाउनु ? घरमा म बहुलाएको होइन पढाउनकै लागि शैक्षिक सामग्री बनाएको हु भन्ने बुझाउन निकै समय लाग्यो ।' यही कारण अरुको भन्दा उनको पढाउने शैली भिन्न छ ।

केटाकेटीलाई कक्षामै कजाएर राख्दैनन् । घुमाउन निकाल्छन् । खेलाउन निकाल्छन् । नाच गान र रमाइलो गरेर भुलाउँछन् । विद्यार्थीलाई कुनै पनि कुरा देखाउने, छुवाउने र अनुभव गराउने उनको सिद्धान्त छ । सोधेका बताइदिन्छन् । स्कुल जादै गर्दा विहान डोरयाउदै लैजान्छन् । फकिर्दा डोरयाउदै घर पुरयाउँछन् ।

कहिले काहिँ उनी विद्यालय नजादा विद्यार्थी सोध्छन् हाम्रा श्याम सर खोइ ? अरु शिक्षकलाई विद्यार्थी आफ्नो सर मान्दैनन् । उनीहरुको आफ्नो भनेको श्याम सर भएका छन् । उनलाई लाग्छ केटोकेटीको प्रीय हुन त्यति सजिलो छैन । त्यसका लागि छुट्टै कला चाहिन्छ । गला चाहिन्छ । ममता चाहिन्छ । प्रेम र स्नेह चाहिन्छ । प्रोत्साहन चाहिन्छ । स्वाबासी चाहिन्छ । 'केटाकेटीलाई ठूला ठूला चिज सिकाउनु पर्दैन साना तिना कुरामा तिनलाई खुसी राख्नु पर्छ', उनले भने ।

शैक्षिक जनशक्ति विकास केन्द्रको तथ्यांकले भन्छ, देशका कबिर ३४ हजार सामुदायिक विद्यालयमा पढाउने २ लाख भन्दा बढी शिक्षकले श्याम सरले जस्तो सिकाउने तालिम लिएका छन् । कक्षामा आफूले सिकेको ज्ञान प्रयोग गर्ने श्याम सरजस्ता शिक्षक कति होलान् ? कतिलाई अनुभव भएको होला, शिक्षक सिकाउने होइन सिक्ने व्यक्ति हो । केटाकेटी शिक्षकका पाठशाला हुन् । केटाकेटीको आधार शिक्षा दरिलो नबनाइ माथिको शिक्षा राम्रो हुदैन । यही नबुझेर त हो कक्षा १० को अन्तिम परीक्षामा सहभागी हुने ४ लाख मध्ये ६० प्रतिशत विद्यार्थी फेल हुने गरेका ।

हाम्रा धेरै शिक्षक ठान्छन् माथिल्लो कक्षा पढाउनेको मान सम्मान ठूलो हुन्छ । कक्षा १ पढाउँदा कमजोर र सानो भइन्छ । हेडमास्टरले पनि शिक्षक मध्येको कमजोर र कम योग्यता भएकोलाई कक्षा १ को शिक्षक बनाउछन् । 'कक्षा १ मा सिकाउन सजिलो छैन', उनले भने, 'कमजोर शिक्षकलाई प्राथमिक तह जिम्मा लाएर हामी आफैमाथि बेइमानी गरिहेका छौं ।'

प्रतिक्रिया