Edukhabar
शनिबार, १५ बैशाख २०८१
विदेशमा शिक्षा अमेरिका

ट्रम्प नीतिले नेपाली विद्यार्थी अमेरिका प्रवेशमा असर नगर्ने

विहीबार, १८ माघ २०७४

काठमाडौं - राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेको नीतिले नेपाली विद्यार्थीको अमेरिका प्रवेशमा कुनै पनि असर नगर्ने नेपाल स्थित अमेरिकी दुतावासले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड आप्रवासीका सवालमा अनुदार मानिन्छन् । यस्तो अवस्थामा नेपाली विद्यार्थीका बारेमा के हुने हो भन्ने चासो ब्याप्त भईरहेका बेला अमेरिकी दूतावासले उक्त धाराणा सार्वजनिक गरेको हो । दूतावासकी प्रवक्ता एण्डी डि आरमेण्टले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासामा उक्त कुरा बताएकी हुन् ।

अमेरिका पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै दूतावासद्धारा आयोजना हुन लागेको शैक्षिक मेलाका बारेमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

शनिबार हुने उक्त शैक्षिक मेलामा अमेरिका स्थित विभिन्न ७८ वटा कलेज र विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने जानकारी दिईयो । विद्यार्थीले आफूले पढ्न चाहेको विषय, लाग्ने खर्च, पुरा गर्नु पर्ने प्रकृया लगायत अमेरिका जानु अघि गर्नु पर्ने तयारी र गएपछि ध्यान दिनु पर्ने बारेमा प्रत्यक्ष जानकारी दिने मेलाको अभिप्राय रहेको एण्डीले जानकारी दिईन् ।  मेला दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा हुने छ । जहाँ विद्यार्थी र अभिभावकलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।

अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा वृद्धि भएको छ । सन् २०१७ मा अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा २० प्रतिशतले वृद्धि भएको छ । सन् २०१७ मा नेपालबाट ११ हजार ६ सय ७ जना विद्यार्थी अमेरिका गएका छन् ।

पढ्नुहोस् : अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा वृद्धि, प्रमुख २५ मध्ये नेपाल १२ औं स्थानमा

प्रतिक्रिया