Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

शैक्षिक परामर्शको नाममा 'म्यानपावर' को धन्दा

सोमबार, २१ फागुन २०७४

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिने नाउँमा खोलिएको कन्सल्टेन्सीमा म्यानपावरको धन्दा हुने गरेको फेला परेको छ ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलिले पुलतीसडकमा रहेको एक कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो ।  

पुतलीसडक स्थित क्याचि एजुकेशन एण्ड ट्रेनिङ् कन्सल्टेन्सीका सञ्चालक  पुरुषोत्तम खड्काले विद्यार्थीलाई परामर्श दिने आवरणमा म्यानपावर जस्तै काम गर्ने गरेको प्रहरीले फेला पारेको हो । विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी अवैध तरिकाले रु ७ लाख देखि १२ लाख सम्म लिई वैदेशिक रोजगारीमा को लागि पठाउँदै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेर खड्कालाई नियन्त्रणमा लिएको छ ।

खड्काले अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया, माल्टा लगायतका देशहरुमा पठाई अलपत्र समेत पार्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले गत शुक्रबार खड्कालाई पक्राउ गरेको जनाएको छ ।

'शैक्षिक परामर्शको लागि खोलिएको संस्थाबाट बिना इजाजत वैदैशिक रोजगार व्यवसाय संचालन गरी एजेन्टहरु मार्फत वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुलाई सम्पर्कमा ल्याई रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजातहरु समेत आफैं तयार पारी  पठाउने गरेको देखिएको' प्रहरीले जनाएको छ ।

खड्काको अफिसबाट २५ थान नेपाली राहदानी, नोटरी पब्लिक लगायत  विभिन्न सरकारी कार्यालयहरुको १८ थान छाप, कन्सल्टेन्सीका नाममा रहेका विभिन्न बैंकका भौचर, विभिन्न व्यक्तिहरुको नाममा रहेको राहदानी तथा भिषाको प्रतिलिपिहरु तथा विभिन्न बैकको चेक तथा भरपाईका विवरणहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

खड्कालाई थप अनुसन्धान एंव कारबाहीको लागि आईतबार वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको प्रहरीले जनाएको छ । खड्कालाई पैसा बुझाएर विदेश गएका नेपाली अलपत्र परेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया