Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

फेरि बदलियो शिक्षा मन्त्रालयको नाम, भागवण्डा मिलाउन मन्त्रालय थप

शुक्रबार, ०२ चैत्र २०७४

काठमाडौं - भागवण्डा मिलाउन यस अघि तय गरेको मन्त्रालयलाई फेरी फुटाएर संख्या बढाउन सत्तारुढ दलहरुले सहमती गरेका छन् । मधेसवादी दलहरुलाई समेत सरकारमा सहभागी गराउन यस अघि तय गरेको मन्त्रालयको संख्या  बढाउनु परेको एमालेका एक नेताले बताए ।

यसरी मन्त्रालय फुटाउँदा शिक्षाबाट युवा तथा खेलकुदलाई निकालिएको ती नेताले बताए ।  सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार गरी तीन मन्त्रालय थप गरिएको छ । यस अघि मन्त्रालयको संख्या ३० बाट घटाएर प्रधानमन्त्री कार्यालय सहित १८ मा झार्दा शिक्षा मन्त्रालयमा अन्य मन्त्रालय गाभिएर शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय भएको थियो । अहिले त्यही गाभिएको मध्ये युवा तथा खेलकुदलाई फुटाईएको हो ।

श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएको छ । अब श्रम तथा रोजगार र महिला तथा बालबालिका अलग अलग मन्त्रालय हुने दलहरु विच सहमती भएको छ ।

संघीय सरकारको मन्त्रीमण्डल बढीमा २५ सदस्यीय भन्दा ठूलो बनाउन नपाइने संवैधानिक ब्यवस्थाका कारण सरकारले दुई साता अघि मात्रै मन्त्रालयको संख्या घटाएको थियो । यही विचमा मधेसवादी दलहरुलाई समेत सरकारमा सामेल गराउने कसरत सफल भएपछि सत्तारुढ दलहरु मन्त्रालय फुटाउन सहमत भएका हुन् ।

'मधेसवादी दलहरुको सल्लाह अनुसार प्रधानमन्त्री र माओवादीका अध्यक्षले मन्त्रालयको संख्या बढाउने तय गर्नु भएको हो' ती नेताले भने, 'सरकार विस्तार हुनु अघि बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि सम्भवतः आजै मन्त्रीमण्डल विस्तार हुन्छ ।'

उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालय सहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाव दिए पनि सरकारले गठजोड मिलाउने नाममा मन्त्रालयको संख्या थप घट गरिरहेको छ ।

यो पनि पढ्नुहोस् : शिक्षा मन्त्रीमा पोखरेलको दोश्रो 'ईनिङ्', सर्वहारा जीवन ! 'वहाना'ले काम नचल्ने कार्यकाल

प्रतिक्रिया