Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीमा पोखरेलको दोश्रो 'ईनिङ्', सर्वहारा जीवन ! 'वहाना'ले काम नचल्ने कार्यकाल

शुक्रबार, ०२ चैत्र २०७४

काठमाडौं - सत्तारुढ मुख्य दुई दल एमाले र माओवादी केन्द्रले आआफ्ना पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुङ्ग्याए संगै गिरिराजमणि पोेखरेल नयाँ शिक्षा मन्त्री बन्ने पक्का भएको छ । दोश्रो पटक शिक्षा मन्त्रीको कुर्चिमा बस्न आईपुगेका पोखरेल यस अघि केपी शर्मा ओलीको अघिल्लो मन्त्रीमण्डलमा पनि शिक्षा मन्त्री नै थिए ।

तुलनात्मक रुपमा राम्रो काम गरेका मन्त्रीका रुपमा छवि बनाएका पोखरेल,  दोश्रो पटक शिक्षा मन्त्रीको कुर्चिमा बस्दै गर्दा मन्त्रालयको नाम मात्रै फेरिएको छैन, गर्नु पर्ने कामको प्रकृती पनि बदलिएको छ । संघीयतासंगै सार्वजनिक शिक्षा प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने उनको मुख्य चुनौती हो ।

विद्यालय शिक्षा सम्मको अधिकार स्थानीय सरकार मातहत भएको अवस्था, संघीयतामा शिक्षाका कर्मचारी खटनपटनमा देखिएको अन्यौल, उनैले संशोधन गरेको शिक्षा ऐन अनुसार अस्थायी शिक्षक ब्यवस्थापनको अड्किएको काम उनका लागि थप चुनौती मात्रै हैन अवसर पनि बनेको छ ।

भुकम्पले भत्काएका विद्यालय भवनका कोठा बाहिर रहेका विद्यार्थी अझै सम्म कक्षा कोठमा छिर्न सकेका छैनन् । उच्च शिक्षामा गुणात्मक सुधारको खाँचो छ ।

संविधानले शिक्षालाई अधिकारका रुपमा ब्यवस्था गरेको सन्दर्भ र पार्टिको घोषणा पत्रमा उल्लेख भएको सार्वजनिक शिक्षा प्रणाली बलियो बनाउने तर्फ उनी केन्द्रित हुनु पर्ने छ । आफ्नो अघिल्लो कार्यकालमा गठन गर्न नसकेको उच्च स्तरीय शिक्षा आयोग यस अघिका मन्त्री गोपालमान श्रेष्ठले गठन त गरेका छन्, तर त्यसको साँङ्गोपाङ्गो लगाउने बेलामा पोखरेल मन्त्री बनेका छन् । आयोग मार्फत् तय गरिने नीति निर्माणले दिर्घककालिन असर पार्ने छ । तर, आयोगमा रहेका निजी विद्यालय सञ्चालकहरुको बलियो प्रभावका विचबाट शिक्षालाई ब्यापार भन्दा अधिकार केन्द्रित गर्न उनी कसरी सफल हुन्छन् त्यो भने उनका कामबाट पुष्टि हुँदै जाने छ ।

अस्थायी शिक्षकको व्यवस्थापन, नयाँ शिक्षक भर्नाका लागि शिक्षा आयोग मार्फत शिक्षक नियुक्तीको प्रक्रियाको थालनी जस्ता काम गर्न बाँकी नै भएको अवस्थामा अघिल्लो पटक उनी सरकारबाट बाहिरिएका थिए । छोटो अवधिमा उक्त काम गर्न नभ्याएको 'वहाना' यसपटक उनलाई मिल्ने छैन ।  किन भने प्रष्ट बहुमत सहितको सरकारमा उनी मन्त्री बनेका छन् ।

शिक्षामा गुणात्मक सुधारका लागि आवश्यक काम भन्दा बाहेक कुनै कुराको सहुलियत उनका अघिल्तिर हुने छैन ।

सर्वहारा जीवन !

अविवाहित पोखरेल सामुहिक आधारशिला परिवारमा बस्छन् । पहिला सिराहमा रहेको सामूहिक परिवार अहिले महोत्तरीको गौरीडाडाँमा बस्दै आएको छ । त्यही आधारशिला परिवारको काठमाडौं सिनामंगलमा बस्दै आएको एक समुहमा उनी बस्छन् ।

२०१५ सालमा खोटाङ्को खार्पामा जन्मेका पोखरेलको विद्यालय शिक्षा खोटाङ्मै पुरा भएको हो । कनककुमारी र चन्द्रमणिका साईलो छोरा पोखरेलका ७ दाजु भाई र २ दिदी बहीनी छन् । पोखरेल २०६४, २०७० र यस अघि सम्पन्न संघीय निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट प्रत्यक्षबाट विजयी भएका हुन् ।

उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ् क्याम्पसबाट भएको हो ।

बाणिज्य शास्त्रमा स्नातकोत्तर तथा कानूनमा स्नातक पोखरेललाई बैचारिक क्षमता भएका नेता मानिन्छ । तत्कालिन एकता केन्द्र मसालको विद्यार्थी संगठनमा २०४१ साल देखि ०४५ साल सम्म अध्यक्ष भएका पोखरेल पूर्व स्वास्थ्य मन्त्री समेत हुन् ।

मन्त्रीको नाम तय

माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टिबाट मन्त्री बन्ने पोखरेल सहित ५ जनाको नाम प्रधानमन्त्री केपी शर्मा ओलाीलाई बुझाएका छन् । जस अनुसार माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोत, शक्ति बस्नेत वन, चक्रपाणि खनाल कृषि तथा सहकारी र विना मगर खानेपानी मन्त्री बन्ने माओवादीले निर्णय गरेको छ ।

यस्तै एमालेले पनि आफ्ना तर्फबाट मन्त्री बन्ने ७ जनाको नाम तय गरेको छ । जस अनुसार प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटन, गोकर्ण विष्ट श्रम तथा रोजगार, रघुवीर महासेठ भौतिक पुर्वाधार, शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बन्ने एमालेले निर्णय गरेको छ । गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् । एमालेले यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी दिएका नेता लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्री बनाउने भएको छ ।

मन्त्रीहरुको सपथ दिउँसो  ५ बजेका लागि तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् : फेरि बदलियो शिक्षा मन्त्रालयको नाम, भागवण्डा मिलाउन मन्त्रालय थप

प्रतिक्रिया