Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

शैक्षिक मेलामा विद्यार्थी, अभिभावक मात्रै हैन नेता र शिक्षाविद्हरु पनि

शनिबार, १९ असार २०७२

काठमाडौं १९ असार / विदेश पढ्न जान चाहने विद्यार्थीलाई परामर्श र सहि जानकारी दिन आयोजित शैक्षिक मेलाको तेश्रो दिन मात्रै करीब ६० हजार जनाले अवलोकन गरेका छन् । बिहीबारदेखि शुरु मेलामा अहिले सम्म १ लाख २५ हजारभन्दा बढी विद्यार्थीहरुले अवलोकन गरेको आयोजक नेपाल शैक्षिक परामर्श संघ ईक्यानले जनाएको छ । 

मेलामा विद्यार्थी मात्र हैन सभासद्देखि विभिन्न राजनीतिक दलका नेता र शिक्षाविद्हरुसम्मको पनि सहभागिता देखिएको छ । उनीहरुले यस्ता मेलाले उच्च शिक्षा अध्ययनका सन्दर्भमा सही परामर्श दिएर विद्यार्थीलाई उचित गन्तब्य छनोटमा मद्धत पु¥याउने विश्वास ब्यक्त गरेका छन् । शनिबार भृकुटीमण्डप पुगेका काँग्रेस नेता एवं सभासद् रामहरी खतिवडाले शैक्षिक परामर्शको क्षेत्र फराकिलो पार्दै नेपालका उच्चस्तरीय विश्वविद्यालय र कलेजबारे जानकारी दिन आग्रह गरे । त्यस्तै उच्च माद्यमिक शिक्षा परिषद् काठमाडौं कार्यालयका प्रमुख जंगबहादुर अर्यालले यस्ता मेलाले विद्यार्थी अभिभावक सहित सबै सरोकारवालालाई नजानेका कुरा जानकारी दिएर फाइदा पु¥याउने विश्वास ब्यक्त गरे । 

विगतमा विदेशका कलेजहरुको मात्र स्टल रहने  गरेको ईक्यान शैक्षिक मेलामा यसपटक नेपालकै विभिन्न प्रतिष्ठित शिक्षण संस्थाहरुले समेत सहभागिता जनाएका छन् । नेपाललाई नै नयाँ शैक्षिक हबका रुपमा विकास गर्ने लक्ष्य अनुसार इक्यानले आगामी दिनमा स्वदेशी कलेजहरुलाई पनि उत्तिकै प्रोत्साहन गर्ने इक्यान अध्यक्ष राजेन्द्र बरालले बताए । 

आइतबारसम्म हुने मेलामा १ लाख ५० हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको छ । भृकुटीमण्डपमा जारी मेलाको पहिलो दिन २० हजार र दोस्रो दिन ४५ हजारले मेला अवलोकन गरेको आयोजक ईक्यानले जनाएको छ । मेलामा भर्खरै कक्षा १२ को परिक्षा सिध्याएर परिक्षाफल कुरीरहेका देखि स्नातकोत्तर तह र सोभन्दा माथिसम्म अध्ययन गरेकाहरु पनि विदेशी शिक्षाबारे जानकारी लिन आइरहेका छन् । विद्यार्थीको रोजाईमा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, क्यानडा, न्यूजिल्याण्डदेखि चीन भारत र बंगलादेशसम्म परेका छन् । 

खासगरी प्राविधिक र व्यवसायिक विषयहरुप्रति विद्यार्थीको आकर्षण देखिएको मेला आयोजक समितिका संयोजक एवं इक्यानका उपाध्यक्ष रामचन्द्र पौडेल बताउँछन् । 

प्रतिक्रिया