Edukhabar
बुधबार, २६ बैशाख २०८१
विदेशमा शिक्षा

विदेश पढ्न गएका युवालाई देश फर्काउने सरकारी योजना

शुक्रबार, १८ असार २०७२

काठमाडौं १८ असार / विदेशमा अध्ययन गर्न गएका युवालाई देश विकासका कामका लागि फर्काउन सरकारले योजना बनाएको छ । यस विषयमा युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गरिसकेको मन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिए । बिहीबारदेखि भृकुटिमण्डपमा शुरु भएको नवौं ईक्यान शैक्षिक मेलाको अवलोकन गर्न पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

गुणस्तरीय शिक्षाका लागि संसारको जुनसुकै कुनामा पुगे पनि अध्ययन पश्चात देश विकासमा फर्काउनु पर्ने उनले बताए ।  यसको सहजीकरणका लागि यस्ता शैक्षिक मेला महत्वपूर्ण हुने उनको धारणा छ । 

सही परामर्श दिएर विद्यार्थीलाई आफ्नो भविष्य निर्माणमा सहयोग गरेकामा उनले मेला आयोजकलाई धन्यवाद पनि दिए । उनलेले नेपालमा रहेका गुणस्तरीय शिक्षण संस्थाहरुमा पनि विद्यार्थीलाई आकर्षित गर्न सुझाव दिए । 

मेला अवलोकनका लागि पुगेका पूर्व मन्त्री एवं एमाले नेता राजेन्द्र पाण्डेले नेपालमा ब्यवहार उपयोगी र प्राविधिक शिक्षाको अभावमा विद्यार्थी बिदेशिने क्रम बढेको प्रति चिन्ता ब्यक्त गरे । नेपालमै गुणस्तरीय शिक्षा दिन सके आगामी दिनमा नेपाललाई नयाँ शैक्षिक हबका रुपमा विकास गर्न सकिने उनले बताए । 

मेलाको दोश्रो दिन झण्डै ४५ हजार विद्यार्थीले अवलोकन गरेको ईक्यानले जनाएको छ ।  

मेलाले आफूहरुलाई भविष्यमा कस्तो कलेज , कुन देश वा विषयमा अध्ययन गर्ने भन्ने निर्णय गर्न सहयोग पुगेको सहभागीले बताएका छन् । ईक्यान आबद्ध शैक्षिक परामर्शदाताका साथै विश्वका विभिन्न देशबाट आएका कलेजहरुका २ सय ५ वटा स्टलहरुबाट विद्यार्थीलाई भिषा प्रक्रिया, आवेदनको प्रकार छात्रबृत्ति एवं विभिन्न कोर्षहरुबारे परामर्श दिइएको छ । मेला अवलोकन गर्नेमध्ये अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, न्यूजिल्याण्ड, चीन भारत लगायतका देशहरु विद्यार्थीको रोजाइमा परेका छन् । मेला आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया