Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

इजोनमा फेरी अधिकारी

शुक्रबार, १२ असोज २०७५

काठमाडौं - शिक्षा विटमा कलम चलाईरहेका पत्रकारहरु आवद्ध शिक्षा पत्रकार सञ्जाल (इजोन) को अध्यक्षमा प्रकृति अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संस्थाको आठौं साधारण सभा तथा पाँचौ अधिवेशनले गोरखापत्रमा कार्यरत अधिकारीलाई दोश्रो पटक संस्थाको अध्यक्ष चयन गरेको हो । २०६५ सालमा गठन भएको संस्थाको तदर्थ समिति उनकै नेतृत्वमा थियो । संस्था दर्ता भए पछि अधिकारी नै संस्थापक अध्यक्ष भएका थिए । 

अधिकारीसंगै सञ्जालको एघार सदस्यीय कार्य समिति पनि निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा रुवि रौनियार (नागरिक दैनिक) र महासचिवमा अन्नपूर्ण पोष्टका सूर्यप्रसाद पाण्डे, सचिवका अभियान दैनिककी दुर्गा लामिछाने र  कोषाध्यक्षमा दी काठमाडौं पोष्टका विनोद घिमीरे निर्वाचित भएका छन् । 

कार्य समिति सदस्यहरुमा नारायण सुन्दर किलम्बु (कान्तिपुर टेलिभिजन), रविचन्द्र पराजुली (नेपाल टेलिभिजन), विष्णु नेपाल (राष्ट्रिय समाचार समिति), पार्वता चौधरी (कान्तिपुर एफएम), रुपेश आचार्य (घामछाँया) र शरद शर्मा (राष्ट्रिय समाचार समिति) निर्वाचित भएका छन् । नव निर्वाचित कार्य समितिलाई निवर्तमान अध्यक्ष भवानीश्वर गौतमले बधाई ज्ञापन गरेका थिए ।  

यस अघि अधिवेशनको उद्घाटन गर्दै शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि पोखरेलले शिक्षा क्षेत्रलाई सही दिशातर्फ डो¥याउन पत्रकारहरुको भूमिकाको ब्याख्या गरेका थिए । आफू पनि कुनै बेलामा पत्रकार भएको स्मरण गर्दै उनले  पत्रकारको भूमिका उल्लेख गरेका हुन् । 

यस अघिका सार्वजनिक अभिब्यक्तिमा जस्तै उनले आगामी बर्ष भित्र मुलुकको शिक्षा क्षेत्रमा देखिएको नीतिगत तथा व्यावहारिक अन्यौलता टुंगिने उल्लेख गरे । समय अनुसार शिक्षामा सुधारका लागि आवश्यक सुझाव दिन गठित उच्च स्तरिय राष्ट्रिय शिक्षा आयोगले काम गरिरहेको बताउँदै उनले उक्त आयोगको प्रतिवेदन आए पछि शिक्षामा देखिने गरि सुधार हुने दावि गरे । 

चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद अधिबेशनको अन्त्य भएपछि आलोचना भईरहेका बेला पोखरेलले आफ्नो बचाउ पनि गरे ।

चिकित्सा शिक्षाको वेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसीले शुक्रबारनै मन्त्री पोखरेल पदमा रहिरहनु अशोभनीय भन्दै विज्ञप्ति जारी गरेका छन् । 

पढ्नुहोस् उक्त खबर : शिक्षा मन्त्री अवरोधक, पदमा रहिरहनु 'अशोभनीय'

प्रतिक्रिया