Edukhabar
आइतबार, ०६ जेठ २०८१
विचार / विमर्श

'पिलेन' चलाउने प्रशासन र 'ट्याम्पो’ चलाउने शिक्षा !

बुधबार, १७ असोज २०७५

सामाजिक सञ्जालमा धेरै दिग्गज महानुभावहरु शिक्षा सेवाको मानमर्दनमा अनवरत खटिरहेको सन्दर्भमा नयाँ प्रसँग उत्पन्न भएको छ । शिक्षा सेवा त धुलोमा तीन पाङ्ग्रे 'ट्याम्पो’ चलाउने सेवा हो आकाशमा 'पिलेन’ उडाउने हैसियतको प्रशासन सेवासँग तुलना गर्न मिल्छ ?! प्रशासन सेवाका हस्तीहरुबाट यतिधेरै पुर्वाग्रही भावना प्रकट भए पछि शिक्षा सेवा तर्फबाट पनि क्रिया बराबर केही प्रतिक्रिया उत्पन्न भएको छ । 

'प्लेन’ चलाउने सेवाले अनवरत हाँकिरहेको देशै भरिका कार्यालयहरु, स्थानीय, प्रदेश र संघीय कार्यालयहरु, मन्त्रालयहरुको काम गराइको तौर तरिका, गतिशिलता र विद्वता दुनियाँलाई थाहा छ । नेपालको कर्मचारीतन्त्र प्रति दुरदराजका जनताको नकारात्मक भावना सृजना गर्नुमा 'पिलेन’ चलाउने 'पाइलट’, दुनियालाई घुमाउने हाकिम¸ दुनिया हकार्ने शासक र छिट्टै चुचुरोमा पुग्ने तपाईँहरुकै चरम महत्वाकांक्षाले काम गरेको छ ! हामी शिक्षा सेवाका त खटाएकै ठाउँमा बिहान साँझ नभनी सकेसम्म राम्रै उद्धेश्य राखेर अनवरत रुपमा दशकौँसम्म काम गरेकै त छौँ ! 

तपाइका होनहार हस्तीहरु¸ देश दुनिया, विश्व परिवेश बुझेका विद्वानहरु¸ देहात र गाउँसमाजलाई लात मारेर शहर छिरेका ’बाघ’हरु, चाकडीमा पोख्त चाटुकारहरु¸ हाकिम भन्दा तलको कुर्सीमा बस्नै नसक्नेहरु¸ आफू बाहेक अरु प्रमुख वा कार्यकारी भएको फुटेका आँखाले पनि देखी नसहने¸ अरुको हातमा तालाचावी पुग्ने छनक देख्ने वित्तिकै असिम औडाहाले भत्भती आत्मा पोल्नेहरु¸ आ.का. लेख्न र रातो सिग्नेचरका पारखीहरु मध्येका ’पिलेन’ चलाउने ’पाइलट’ १० जना र शिक्षा सेवाका ’ट्याम्पो’ चलाउने १० जना  ’ड्राइभर’ छानेर सेवा समूह नखुलाइकन जनताको दैलोमा सेवा प्रवाहको लागि १० दिनसम्म खटाउँ । कसको सेवा जनमुखी हुँदोरैछ¸ कसको सेवा शासकमुखी हुँदो रैछ तब परिक्षण होला ।

के हो क्षमता ? कर्मचारीको सेवा मापन के ले गर्ने ? सर्टिफिकेटले ? तालिमले ? महिना दिन बिराएर विदेश घुमाइले ? हाकिम रिझाउने¸ शक्ति प्रतिको असीमित भक्ति भाव¸ अनुष्ठान त्वमशरणमको निर्लिप्त कलाले ? वा सेवा ग्राहीको सन्तुष्टी र सेवा प्रवाहको गुणस्तरले ?! 

उक्त सेवाकै ’पाइलट’हरु बर्ष महिना दिन विराएर कमाउ अड्डामा बुरुक बुरुक हाम फाल्नुहुन्छ ! टाइसुट लगाएर देश विदेश घुम्नुहुन्छ ! ती देश विदेशका गगनचुम्वी महलमा बसेर मस्ती गर्नेहरुलाई गाउँ फर्क अभियान अन्तर्गत सबैभन्दा भताभुङ्ग भएको स्थानीय तहमा खटाएर वास्तविक क्षमताको परिक्षण किन गरिदैन ? बुँदा घोकेर 'पिलेन’ चलाउने 'पाइलट’ को लाइसेन्स प्राप्त गरेका दिग्गज उपसचिव र सहसचिवलाई सेवा प्रवेश वा बढुवा पत्र बुझेपछि देशको दुर्गम स्थानबाट सेवा प्रवाहको शुरुवात किन गरिदैन ? 'पाइलट’ सेवाका दशकौसम्म सिंहदरबार नछोडेका 'सिंह’ का बथानहरु नैतिकताको आधारमा म पनि एकपटक गाउँतिर ओर्लन्छु भन्दै स्थानीय तह तिर झर्न किन सक्दैनन् ?

नेपाली जनताको स्तरभन्दा सैयौँ गुणा माथिका देवात्माको रुपमा आफुलाई दर्ज गरेका¸ सामान्य सेवाग्राहीका हातले छुँदा पनि 'मयल’ लाग्ला जस्तो कपासको भुवाजस्ता मुलायम रुपरङ्ग भएका ’पाइलट’ सेवाका सेलिब्रेटी महानुभावहरु ! नेपाल सरकारको कुन मन्त्रालय छ 'पाइलट’ सेवाले अविच्छिन्न रुपमा नहाँकेको ? नेपालको कुन मन्त्रालय छ जसले नेपाल सरकारका नीति¸ योजना र कार्यक्रमलाई शत प्रतिशत सफलताको सिंढिमा उकालेको होस ?!

समयमै काम सम्पन्न गरेको ’पाइलट’ सेवाले हाँकेको कुन उदाहरणीय निकाय छ ? मोबाइलबाट राम्रोसंग फोटा खिच्न नसक्नेले त्यस्सै ’पिलिन’ चलाउने ध्वाँस ?! कहाँ छन् तपाइले चलाउने 'प्लेन’ ?! बिग्रेर जमिनमै ग्राउन्डेड छन् कि कतै बादल भन्दा माथि माथि सैलुङ्गेतिर कल्पनाको आकाशमा मनमनै उडिरहेका छन् !? 

शिक्षा मन्त्रालय पनि केही अपवाद बाहेक धेरैजसो ’पाइलट’ सेवाका सचिवले हाँकेर निकम्मा बनाएको मन्त्रालय हो । २४ घ बढुवालाई अरु सबै सेवामा व्यवस्थापन गरिने तर शिक्षा सेवालाई ०६४ सालदेखि २०७५ सालसम्म व्यवस्थापन नहुनुमा 'पाइलट’ सेवाकै अन्तरनिहित अवसर मुखी स्वार्थ नै प्रमुख तगारो होइन ?!

कर्मचारी समायोजन वा व्यवस्थापनको आधिकारिक मुख्य अड्डा सामान्य प्रशासन मन्त्रालय नै होइन जसले नेपालको संघीयतालाई शुरुदेखि बिटुलो बनाउ अनेकथरि प्रयत्न गरिरहेको !? आफु चुलो अगेनोमा बसेर डाडु पन्यु चलाउने अनि दोष अरुको थाप्लोमा ?! 

{ पुनश्च : यो प्रतिक्रिया ’आई एम द स्टेट’ को लुइकालीन फ्रान्सेली सम्राटको शैली अपनाउने महानुभावहरु प्रति मात्र लक्षित छ । उपरोक्त सेवाका अन्य इमान्दार¸ कर्तव्यनिष्ठ¸ आफ्नो जिम्मेवारीमा अनवरत खटिरहनुभएका महानुभावहरु प्रति लक्षित छैन । केही व्यक्तिको कारण सिङ्गो सेवाप्रति लाग्न गएको आक्षेप प्रति क्षमाप्रार्थी छु ।}

शिक्षा अधिकृत खड्का हाल मुसिकोट नगरपालिका रुकुम पश्चिममा कार्यरत छन् ।

प्रतिक्रिया