Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, विजेतालाई ११११११ नगद

सोमबार, २२ असोज २०७५

काठमाडौं - आगामी महिना धनगढीमा विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । काीत्तक २७ गतेदेखि मंसीर ४ गतेसम्म हुने उक्त लिगकम नकआउट टी–२० विद्यालय स्तरीय प्रतियोगितामा देशभरका १२ वटा विद्यालयको सहभागिता रहने छ । यो प्रतियोगिताको तेश्रो संस्करण हो । 

खेलका माध्यमबाट विद्यार्थीको प्रतिभालाई उजागर गर्ने उद्धेश्य राखेर शुरु यो प्रतियोगिता तेश्रो संस्करण हो । देशकै प्रतिष्ठित र अक्सनमा आधारित नेपालकै पहिलो धनगढी प्रिमियर लिग वर्षेनी हुँदै आएको अवस्थामा विद्यार्थी प्रति बढेको क्रिकेटको मोहलाई ध्यानमा राखेर प्रतियोगिता आयोजना गरिएको आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए । 

लिटल फ्लावर वोर्डिङ हाईस्कुल धनगढीको सहयोग तथा निष्ट कलेज लैनचोर काठमाडौको मुख्य प्रायोजनमा हुने तय भएको प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शाहीले बताए । 
विगत दुई संस्करणमा पाएको सकारात्मक प्रतिकृयाले आफूहरुलाई उर्जा मिलेको बताउँदै शाहीले यस पटक पुरस्कार राशी दोब्बर बढाएको पनि बताए । 

यस पटक विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ पाउने छन् । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट व्याट्सम्यानले ५ हजार, उत्कृष्ट वलरले ५ हजार, उदयमान खेलाडीका लागि ५ हजार, म्यान अफ द म्याचलाई १ हजार (लिग चरणमा), म्यान अफ द म्याचलाई १ हजार ५ सय –नक आउट चरणमा) र म्यान अफ द म्याचले २ हजार (फाईनलमा) पाउने छन् । साथमा ट्रफी, मेडल र प्रमाणपत्र पनि हुने शाहीले बताए  । गत बर्ष भएको दोस्रो संस्करणको विजेतालाई नगद ५० हजार उपविजेतालाई २५ हजार नगद सहित ट्रफी प्रदान गरिएको थियो । पहिलो संस्करणमा विजेतालाई नगद ३० हजार र उपविजेतालाई १५ हजार दिईएको थियो ।

यस पटक प्रत्येक सहभागी टीममा सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी वाहेक पाँच जना बाहिरबाट १९ बर्ष मुनिका नेपाली खेलाडीहरु पनि राख्न पाईनेछ । कम उमेरका विद्यार्थी खेलाडीहरुलाई १९ वर्ष मुनिका खेलाडीसँग खेलाउँदा यसवाट जुनियर खेलाडीले क्रिकेटसँग सम्वन्धित धेरै कुराहरु सिक्ने अवसर पाउने अपेक्षा गरेको शाहीले बताए । 

प्रतियोगिताको पहिलो चरण स्थानीय श्रोतबाटै जुटाए पनि दोश्रो चरणबाट निष्ट कलेज लैनचोरले प्रायोजन गर्दै आएको छ । कक्षा कोठाको सिकाइमात्रै नभई  विद्यार्थीको अतिरिक्त कृयाकलापमा पनि विकास गर्न जरुरी ठानेर आफूहरु सहभागी भएको निष्ट कलेजका संस्थापक प्राचार्य डा. माधव बरालले बताए । 

'हामी पठन पाठन मात्रै भन्दा पनि विद्यार्थीको सर्वाङ्गिण विकास चाहन्छौं, यो प्रतियोगिता मार्फत् शिक्षा क्षेत्रमा त्यही शन्देश दिन खोजिएको हो' एडुखबरसँग कुरा गर्दै उनले भने । 

 

प्रतिक्रिया