Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

शिक्षाका कर्मचारी सरुवामा आस्था अनुसार विभेद गरेको आरोप

मंगलबार, ११ मंसिर २०७५

काठमाडौं - शिक्षा मन्त्रालयले हालै गरेको कर्मचारी सरुवामा आस्थाका आधारमा विभेद भएको आरोप सहित नेपाल निजामती कर्मचारी युनियनले शिक्षा सचिवसँग गुनासो गरेको छ । सत्ता धारी दल निकट  कर्मचारीलाई ध्यान दिएर आफूहरु माथि विभेद भएको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेस निकट युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल सहितको टोलीले शिक्षा सचिव खगराज बराललाई भेटेर उक्त गुनासो गरेको हो ।

भेटमा सचिव बरालले आफू सबै कर्मचारीको हितका लागि गम्भिर रहेको र गुनासो नआउने गरी न्यायोचित जिम्मेवारी दिने बताएका यूनियनको शिक्षा मन्त्रालय अन्र्तगत विभागीय कार्य समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

'स्थानीय तहका खटिएका उपसचिवहरुको सन्दर्भमा केही असन्तुष्टि आएको छ, जहाँ सिनियर जुनियरको कुरा छ त्यस्ता ठाउँका उपसचिवलाई मन्त्रालयमै हाजिरको ब्यवस्था मिलाईने छ' बरालको भनाई उदृत गर्दै भट्टले भने, 'अन्य कर्मचारीको सरुवा गर्दा कतै अन्याय परेको रहेछ भने एक दुई दिनमै सच्याईने छ ।'

सचिवको उक्त भनाईलाई आफूहरुले सकारात्मक रुपमा लिएको र केही दिन पर्खने योजनामा रहेको उनले बताए । कतिपय ठाउँमा दरबन्दी नै नभएका ठाउँमा आस्थाकै आधारमा कर्मचारीलाई फाजिलमा राखिएको, कतै काजमा खटाईएको र कतै दरबन्दी भन्दा धेरै खटाएर 'पेण्डुलम' बनाईएको भट्टले आरोप लगाए ।  यसले गर्दा शिक्षाको सेवा प्रवाहमै नकारात्मक प्रभाव पर्ने र जनमानसमा गुनासो बढ्ने भन्दै आफूहरुले सच्याउन आग्रह गरेको उनको तर्क छ ।

प्रतिक्रिया