Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

५ जिल्लाका विद्यालयलाई आर्थिक सहयोग

सोमबार, ११ चैत्र २०७५

काठमाडौं - अमेरिकामा बसोवास गर्दै आएका नेपालीहरुको संस्था ओरेगन नेपाली समाजले विभिन्न ५ जिल्लाका ७ विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । कैलाली, सल्यान, गोर्खा, काठमाडौं र मोरङ्का विद्यालयहरुलाई समाजले आर्थिक सहयोग गरेको हो । नेपालका विद्यालयहरुलाई सहयोग गर्न संस्थाले शुरु गरेको परियोजना अन्र्तगत यस बर्ष १० वटा विद्यालयले प्रस्ताव पेश गरेका थिए । उनीहरुको प्रस्तावका आधारमा संस्थाले छनौट गरेर अमेरिकी डलरमा सहयोग उपलब्ध गराएको छ । 

सहयोग प्राप्त गर्ने विद्यालय मध्ये कैलालीको धनगढी स्थित राष्ट्रिय जनता माध्यमिक विद्यालयलाई कम्प्युटर कक्षा निर्माणका लागि १ हजार ८ सय २० अमेरिकी डलर सहयोग गरिएको छ । यस्तै सल्यानको बाघचौर स्थित भूवनेश्वरी आधारभूत विद्यालयको बाल कक्षा सुधारका लागि पनि उत्ति नै रकम प्रदान गरिएको छ । यसैगरी गोर्खाको वारपाक स्थित शैलपुत्री माध्यमिक विद्यालयलाई नयाँ पुस्तकालय बनाउन १ हजार ७ सय ८० डलर, काठमाडौंको कागेश्वरी स्थित आनन्द भैरव माविलाई कक्षा कोठा सुधारका लागि २ हजार ७ सय ३० डलर, किर्तिपुरको विश्व राष्ट्रिय माविलाई नयाँ पुस्तकालय बनाउन १ हजार ९ सय र किर्तिपुर माविलाई प्रारम्भिक बाल कक्षा सुधारका लागि २ हजार ८ सय १५ डलर सहयोग गरिएको समाजले जनाएको छ । यस्तै मोरङ्को रानी स्थित बालमाविलाई विज्ञान प्रयोगशाला सुधारका लागि २ हजार ७ सय ८० डलर सहयोग गरेको संस्थाले जनाएको छ ।   

सहयोग अघि संस्थाले गत सेम्टेम्बर ३० भित्र प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । विद्यालयले आफ्नो आवश्यकता पहिचान गरि तयार पारेको सोही प्रस्तावमा आधारमा संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको हो । सटही दरमा हुने तल माथिका कारण नेपाली रुपैंयामा यकिन गर्न नसके पनि यस बर्ष झण्डै १७ लाख ५२ हजार रुपैंया विद्यालयहरुलाई प्रदान गरिएको छ । गतबर्ष संस्थाले आठ विद्यालयलाई झण्डै १२ लाख रुपैंया सहयोग गरेको थियो । विभिन्न कार्यक्रम गरी संकलन गरिएको रकमबाट बचाएर संस्थाले नेपालका विद्यालयलाई आर्थिक सहयोग  र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको संस्थाका अध्यक्ष भरत बाँस्कोटाले जनाएका छन् । 

 

प्रतिक्रिया