Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

एडुखबरका सम्पादकलाई 'जर्नो अवार्ड'

शनिबार, ११ जेठ २०७६

काठमाडौं - रोटरी ईण्टरनेशनलले हरेक वर्ष प्रदान गर्दै आएको शिक्षा तर्फको 'जर्नो अवार्ड' एडुखबरका सम्पादक श्रीधर पौडेललाई प्रदान गरिएको छ । पत्रकारितका माध्यमबाट आधारभूत शिक्षा र साक्षरताका विषयमा योगदान गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो । शुक्रबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र रोटरी ईण्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का गर्भनर चिन्तामणि भट्टराईले पौडेललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

शिक्षा सहित अन्य विभिन्न सात विधामा उक्त पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्यमा कान्तिपुरमा अतुल मिश्र, वातावरणमा कान्तिपुरकै भक्तपुर सम्वाददाता लिला श्रेष्ठ, आर्थिकमा क्यापिटल म्यागेजिनका लोकबहादुर चापागाईं, महिला र विकासमा नागरिककी पवित्रा सुनार, मेनस्ट्रिम मिडियामा रेडियो रसुवाकी अनुकुमारी आचार्य र यसैबर्ष देखि शुरु भएको सञ्चार गृह अन्र्तगतको विधामा गोरखापत्रको प्रकाशन द राईजिङ् नेपाललाई अवार्ड प्रदान गरिएको हो । सम्मानित हरेकलाई प्रशंसा पत्र सहित २५ हजार राशी प्रदान गरिएको छ ।

पुरस्कार छनौट समितिका संयोजक समेत रहेका महासंघका अध्यक्ष आचार्यले समाज सेवाका लागि समर्पित रोटरीले पत्रकारलाई सम्मान गर्नु महत्वपूर्ण भएको भन्दै आआफ्ना क्षेत्रमा अब्बल योगदान गरेका पत्रकारलाई सर्व सम्मत रुपमा छनौट गर्न पाउँदा खुसी लागेको बताए । रोटरीका महेश्वरभक्त श्रेष्ठले पत्रकारहरुका विषयगत संस्थाबाट प्राप्त तीन जनाको नाममा वरिष्ठता र कामको प्रभावका आधारमा अन्तिम नाम छनौट गरिएको बताए । उक्त प्रकृयामा महासंघ सहित शिक्षा पत्रकार समूह, नेपाल वातावरण पत्रकार समूह, स्वास्थ्य पत्रकार समूह, सञ्चारिका समूह, आर्थिक पत्रकार समूह र प्रेस काउन्सिलको सहभागिता रहेको उनले बताए ।

कार्यक्रममा गर्भनर भट्टराईले स्वच्छ समाज निर्माणका लागि पत्रकारिताको महत्वपूर्ण भूमिका हुने भएकोले संस्थाले पत्रकारलाई सम्मान गरेको बताउँदै सेवा, भातृत्व, विविधता, सदाचार र नेतृत्व विकासको मूल्य निर्माणमा सञ्चार क्षेत्रले पनि योगदान गर्ने अपेक्षा गरे । पूर्व गर्भनर तीर्थमान शाक्य र रत्नमान शाक्यले रोटरीले गरेको कार्यका बारेमा चर्चा गरेका थिए भने सुरेन्द्र गोविन्द जोशिले हरेक बर्ष एक जना पत्रकारलाई व्यक्तिगत पहलमा १० लाख रुपैंया राशीको गुड गभर्नेन्स अवार्ड प्रदान गर्ने घोषणा गरे ।

प्रतिक्रिया