Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

हरित विद्यालय श्रोत पुस्तिका सार्वजनिक, गमलामा वृक्षारोपण !

मंगलबार, २१ जेठ २०७६

काठमाडौं - सरकारले लागू गरेको हरित विद्यालयको अवधारणा कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले एक गैह्र सरकारी संस्थाको आर्थिक सहयोगमा श्रोत पुस्तिका तयार गरेको छ । वन्यजन्तु संरक्षण नेपाल (डब्लुसीएन) नामक संस्थाले सञ्चालन गर्दै आएको 'अन्र्तकृयात्मक वातावरण शिक्षा परियोजना' अन्र्तगत उक्त पुस्तिका प्रकाशन गरिएको हो । मंगलबार आयोजित एक कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले श्रोत पुस्तिकाको विमोचन गरे । 

डेनमार्कको सहयोगमा सञ्चालित एक करोड रुपैँयाको उक्त परियोजना अन्र्तगत सो पुस्तिका शिक्षा मन्त्रालयका सचिव खगराज बराल, शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, मन्त्रालयका केही सहसचिवहरु र शिक्षा मन्त्रालय तथा उक्त संस्थाका कर्मचारी गरी १० व्यक्तिहरु मिलेर तयार पारेका हुन् । २०६९ सालबाट हरेक बर्ष विभिन्न परियोजना मार्फत् उक्त संस्थाले विद्यालयहरुमा कार्य गर्दै आएको संस्थाकी निर्देशक सञ्जीवनी श्रेष्ठले जानकारी दिईन् ।  

शैक्षिक संस्थाहरु र वरपरको क्षेत्रमा व्यापक हरियाली विकास मार्फत् पृथ्वीको वहन क्षमता अभिवृद्धि गर्ने अवधारणा अनुसार शिक्षा मन्त्रालयले हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ जारी गरेको छ । यस पटक सरकारले एक विद्यालय एक बगैंचा तथा वृहत हरित क्षेत्र निर्माणको कार्यक्रम पनि लागू गरेको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि गैह्र सरकारी संस्थाको आर्थिक सहयोगमा श्रोत पुस्तिका बनाईएको हो । 

पुस्तिका विमोचन पछि मन्त्री पोखरेल सहित शिक्षा सचिव बराल र केन्द्रका महानिर्देशक पौडेलले राष्ट्रिय सभागृहको मञ्चमा सजाईएको गमलामा वृक्षारोपण गरेका छन् । पोखरेलले जामुन, बरालले अम्बा र पौडेलले कपुरको विरुवा रोपेका छन् । 

यी तिन वटै ठूला रुख हुने बिरुवा हुन् । तर यसलाई सांकेतिक रुपमा बुझ्नु पर्ने आयोजक संस्थाकी निर्देशक श्रेष्ठको तर्क छ ।  

'हामीले हरेक बर्ष २ लाख रुख रोप्छौं, यस पटक काठमाडौंको टोखामा रहेको सपन तीर्थमा वृक्षारोपण गर्न लागिएको छ, मन्त्री ज्यूलाई त्यहाँ लैजान सम्भव नभए पछि हामीले सिम्बोलिक रुपमा गमलामै रोपेका हौं' उनले भनिन्, 'यसलाई भोली विश्व वातावरण दिवसका दिन त्यहीँ लगेर रोप्छौं ।'

बिरुवा रोपेपछि उनीहरु तीनै जनाले पानी समेत हालेका थिए ।  उक्त गमलालाई राम्रो देखाउन बाहिरबाट 'फ्रेम' हालिएको थियो । 

उक्त पुस्तिका विमोचनमा हरित विद्यालय नामक चलचित्र पनि देखाईएको थियो । चलचित्रमा शिक्षा सचिव बराललाई सचिवकै भूमिकामा चित्रण गरिएको छ । हरित विद्यालयको अवधारणा नबुझेका पात्रलाई कुरा बुझाउन सचिवको भूमिकालाई टेलिभिजनमा आएको उनको अन्र्तवार्ताको दृष्यबाट चलचित्रमा जोडिएको छ । चलचित्रमा शिक्षकका रुपमा अभिनय गरेका कलाकारहरु प्रियंका कार्की र गौरव पहाडीको भूमिकामा शिक्षकको पोशाक प्रयोग नगरिएको प्रति मन्त्री पोखरेलले समेत आलोचना गरे । त्यसो त चलचित्रमा छायाँकन गरिएको विद्यालय, कक्षा कोठा र अभिनय गरेका विद्यार्थी पनि सामुदायिक विद्यालयका थिएनन् । 

पुस्तिका विमोचन पछि मन्त्री पोखरेलले यो कार्य समग्र शिक्षा सुधारको एउटा अवयव भएको भन्दै मान्छे र प्रकृती विचको सम्बन्ध बलियो बनाउन विद्यालय तहबाटै यो अवधारणा शुरु गरेको बताए । उनले आफ्नो सम्बोधनका क्रममा शिक्षा बजेटको बचाउ, बन्दै गरेका नीति नियमको वर्तमान अवस्था लगायतका विषयमा लामो चर्चा गरेका थिए । 

कार्यक्रममा विभिन्न विद्यालयबाट कक्षा छुटाएर विद्यार्थीलाई सहभागी गराईएको  थियो । संस्थाको परियोजनामा आवद्ध भएका रसुवाका १५, चितवनका ३५ र काठमाडौंका ७ विद्यालयलाई मन्त्रीले प्रमाणपत्र प्रदान गरे । 

प्रतिक्रिया