Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

गर्मी सँगै असारको पहिलो साता सबै विद्यालय बन्द

शनिबार, ३२ जेठ २०७६

वीरगञ्ज - गर्मी बढ्न थाले सँगै पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सबै विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाले शुक्रबार गरेको निर्णय महानगर भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई जानकारी गराईएको महानगरपालिकाले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

प्रधानाध्यापकहरुको छलफल तथा नगर शिक्षक महासंघ समेतको राय अनुसार प्रचण्ड गर्मीको प्रतिकुल मौसमलाई मध्यनजर गर्दै असार १ गते देखि ६ गते सम्म वर्षे विदाबाट कट्टा हुने गरी महानगरभित्रका सम्पूर्ण विद्यालयहरुको पठन पाठन बन्द रहने निर्णयमा उल्लेख छ ।

अत्यधिक गर्मी, कतिपय सामुदायिक विद्यालयमा पंखाको अभाव जस्ता कारण विशेष गरी स–साना बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने ठानेर उक्त निर्णय गरेको महानगर प्रमुख विजयकुमार सरावगीले बताए । मौसममा सुधार नआए एक साता थप्न सकिने उनले बताए ।

पछिल्ला केही दिन यता अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइमा समस्या भए पछि विद्यालय बन्द गर्नु परेको शिक्षा समन्वय इकाई प्रमुख अरविन्द लाल कर्णले बताए । महानगरपालिकाभित्र सामुदायिक तथा संस्थागत गरी दुई सय भन्दा बढी विद्यालय छन् ।

गत वर्ष पनि गर्मीकै कारण जेठ २९ गते देखि असार ३ गते सम्म महानगरपालिकाले विद्यालय बन्द गरेको थियो ।

प्रतिक्रिया