Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

शिक्षा मन्त्रीले 'गो' भने पछि ‘नेपाली स्याट–१’ अन्तरिक्षको परिक्रमामा

सोमबार, ०२ असार २०७६

काठमाडौं - नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ ले सोमबार देखि अन्तरिक्षको परिक्रमा शुरु गरेको छ । गत बैशाख ५ गते राती देखि उक्त भू–उपग्रहलाई अन्तरिक्षमा छाड्नका लागि अमेरिकाको फ्लोरिडा स्थित अन्तराष्ट्रिय प्रक्षेपण केन्द्र (आईएसएस) मा तयारी अवस्थामा राखिएको थियो । उक्त भू–उपग्रहलाई सोमबार जापानको जाक्साबाट स्थानीय समय अनुसार ७ बजेर १५ मिनेटमा (नेपाली समय अनुसार ४ बजेर १९ मिनेटमा) अन्तरिक्ष परिक्रमामा छाडिएको हो ।

उक्त कार्यका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल सहितको टोली जापान पुगेको थियो । मन्त्री पोखरेलले ‘गो’ भने पछि अमेरिकी अन्तरिक्ष यात्री निति हिकको नेतृत्वमा रहेको ६ जना अन्तरिक्ष यात्रीको टोलीले ‘नेपाली स्याट १’ लाई अन्तरिक्षमा छाडेका पोखरेलका स्वकीय सचिव पुरन केसीले जापानबाट जानकारी दिए । उक्त कार्यसँगै नेपालको अन्तरिक्ष यात्रा शुरु भएको भन्दै मन्त्री पोखरेलले सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरेका केसीले बताए ।

'यो नेपालको अन्तरिक्ष यात्राका लागि निकै ठूलो उपलब्धि हो'  मन्त्रीको भनाई उदृत गर्दै केसीले भने, 'यो अभियानमा संलग्न भएर काम गर्ने आभास मास्के र हरिराम श्रेष्ठ सहित नाष्ट लगायत यो कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सँलग्न तथा सहयोग गर्ने व्यक्ति र संस्थालाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु ।'

एक किलो तीन सय ग्रामको उक्त भू–उपग्रहको लम्बाई, चौडाई र उचाई १० सेन्टिमिटरको छ । त्यसमा नेपालको झण्डा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को लोगो र विद्यार्थीको नाम पनि अँकित छ ।

उक्त कार्यक्रममा मन्त्री पोखरेल सहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, मन्त्रीका स्वकीय सचिव केसी, दूतावासका डीपीएम कृष्णचन्द्र अर्याल लगायतको सहभागिता थियो । भू–उपग्रह अन्तरिक्षमा पठाए पछि कार्यक्रमका सहभागीहरुले नयाँ युगमा प्रवेश गरेको भन्दै नेपाललाई बधाई दिएका केसीले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको छात्रवृत्तिमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) जापानमा भूउपग्रह प्रविधिमा विद्यावारिधि गर्दै गरेका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर गर्दै गरेका हरिराम श्रेष्ठले उक्त भूउपग्रह तयार गरेका हुन् । यसमा जापान सरकारको सहयोग र नाष्टले नेतृत्व गरेको थियो ।

उक्त भू उपग्रह नेपालमा दैनिक ४ पटक सम्म देखिने र नेपाली आकाशमा सरदर ४० मिनेट बिताउने जनाईएको छ । उक्त अवधिमा ग्राउण्ड स्टेसनबाट हरेक पटकको डाटा लिने र कमान्ड दिन सक्ने बताईएको छ । तर उक्त कार्यका लागि नेपालले अहिले सम्म ग्राउण्ड स्टेसन भने बनाएको छैन । नाष्टले ४ महिना अघि नै स्टेशन निर्माणको प्रकृया सार्वजनिक गरेको भए पनि काम शुरु भएको छैन ।

सोमबार नेपाल सहित श्रीलंकाको रावण–१, जापनको उगिसू र सिंगापुरको स्पुकी –१ भू–उपग्रह अन्तरक्षिमा सँगै छाडिएको छ । क्यूटेकले हालसम्म १८ वटा भू–उपग्रह अन्तरिक्षमा छाडिसकेको छ ।

फोटो : मन्त्रीको सचिवालय

प्रतिक्रिया